२ असार २०८१ आइतबार
image/svg+xml
समाज

सीमा स्तम्भका पनि दिन आए...

जोर अङ्कका भारतले र बिजोर अङ्कका स्तम्भ नेपालले मर्मत गर्ने सहमति

झन्डै आधा दशकपछि  नेपाल–भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत सुरु भएको छ।

अहिले ३५ वटा सीमा स्तम्भ (पिलर) को मर्मतको काम भइरहेको छ। कपिलवस्तुदेखि बाँके जिल्लाको सीमासम्म पर्ने करिब ८३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र छुटाउने ७७ वटा सीमा स्तम्भमध्ये ३५ वटा सीमा स्तम्भको मर्मत तथा रंगरोगनको काम सुरु भइरहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल श्रेष्ठले नागरिकन्यूजलाई जानकारी दिएका छन्।

श्रेष्ठका अनुसार यसअघि २०७४/०७५ मा नापी विभागकै टोलीले जिल्लामा सीमा स्तम्भहरूको मर्मत गरेको थियो। ‘७७ वटा सीमा स्तम्भमध्ये ३५ वटा सीमा स्तम्भको मर्मत तथा रंगरोगनको काम सुरु भएको छ,’ सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भने ‘२०७४/०७५ पछि अहिले मर्मतको काम थालिएका हो।’ मङ्गलवार देखि सशस्त्र प्रहरीले सीमा स्तम्भ मर्मतको काम थालिएको हो। 

श्रेष्ठले भने, ‘दाङमा मङ्गलवार देखी सीमा स्तम्भको मर्मतको काम सुरु भएको छ। जसअन्तर्गत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका तर्फबाट सिमास्तरको सरसफाइ, रंगरोगन र मर्मतको काम भइरहेको छ।’ मर्मत टोलीमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल सहभागी छन्।

सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार जिल्लामा ३७ वटा मुख्य र ४० वटा सहायक सीमा स्तम्भहरू छन्। जसमध्ये १४ वटा मुख्य र २१ वटा सहायक सीमा स्तम्भहरूको अहिले नेपालले मर्मत गर्न थालेको छ। 

उनका अनुसार नेपाल र भारतका बिचमा भएको सहमतिका आधारमा सीमा स्तम्भ मर्मतको काम विभाजन गरेर मर्मत थालिएको छ। यो सहमतिमा जोर अङ्कका सीमा स्तम्भहरू भारतले मर्मत गर्ने उल्लेख थियो भने बिजोर अङ्कका सीमा स्तम्भहरू नेपालले मर्मत गर्ने भन्ने थियो।  

दुई देशीय सम्झौता अनुसार बिजोर अङ्कका सीमा स्तम्भहरूको मर्मत तथा रंगरोगनको काम नेपालका तर्फबाट भइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।  

‘जोर अङ्कका रहेका सीमा स्तम्भहरू भारत र बिजोर अङ्कमा रहेका सीमा स्तम्भहरू नेपालले मर्मत तथा रंगरोगन गर्ने सहमति हो,’ उनले भने ‘सोही सहमति अनुसार अहिले नेपालतर्फका सीमा स्तम्भहरू मर्मत सुरु गरिएको हो ।’  

दुई देशीय सम्झौता अनुसार जोर अङ्कका सीमा स्तम्भहरू मर्मतको जिम्मा पाएको भारतले भने यसअघि नै मर्मत गरिसकेको छ। ‘जोर अङ्कका सिमास्तम्भहरु भारतीय पक्षबाट भइसकेको छ,नेपालका तर्फबाट मर्मत हुन सकेको थिएन,’ उनले भने।  

जसअन्तर्गत अहिले ३१ वटा सीमा स्तम्भको सरसफाइ र रंगरोगन मात्रै गर्नुपर्ने छ भने बाँकी चार वटा सीमा स्तम्भहरूको सामान्य मर्मत गर्नुपर्ने भएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

प्रकाशित: २१ मंसिर २०८० ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App