२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

परम्परागत ‘काफिला’ निस्कियो

वीरगंज – नयाँ र पुराना पुस्ताका सहभागीसहित हिन्दु शिवभक्त तीर्थालुको परम्परागत ‘काफिला’ निस्केको छ । भारतीय उपमहाद्वीपमा करिब ३ हजार वर्षदेखि चलिआएको काफिला प्रत्येक वर्ष जाडोयाममा निस्किने गर्छ । जीवनकै सर्वाधिक पवित्र धार्मिक कर्म मानिने यो एकमहिने तीर्थाटनको महत्व अहिले पनि घटेको छैन ।

स्थानीय लोकबोलीमा ‘काफिला’ भनिने यो तीर्थयात्रामा सहभागी हुने तीर्थालुलाई काँवरिया वा बाबा भनिन्छ । यसमा सामेल हरेक सदस्यलाई यात्रा अवधिभर सन्तको दर्जा प्राप्त हुनेगर्छ । मानिसले सन्त दर्जाकै कारण तीर्थयात्रुलाई ढोग्ने गर्छन् । यात्राका सहभागीले एकअर्कालाई  ‘बम’ ससम्बोधन गर्दछन्  । हिन्दु समाजमा शिवका गणलाई बम भनेर सम्बोधन गर्ने चलन छ ।

काफिलामा जमदार (प्रमुख), डिट्ठा (महामन्त्री), सिपाही र चौकीदार हुन्छन् । उनीहरूले आचरण पालना भए या नभएको निक्र्योल गर्ने, दण्डित गर्ने, शुद्धि गराउने र निर्णय गर्ने तथा कार्यान्वयन गराउने गर्दछन् । आस्था र भाकलका कारण श्रद्धालुभक्तजनहरू पूर्ण ब्रह्मचर्यसहित यो कठिन एकमहिने यात्रामा निस्किने गरेका छन् । काफिलाका तीर्थालुले आफ्नो बन्दोबस्तीका समान काँवरसहित कडा अनुशासनका साथ नांगो खुट्टाले हिँड्छन् । यात्रा गर्नेहरू प्रयागराज (इलाहाबाद) वा त्रिवेणी (भैसालोटन) मा कपाल खौराई नदीबाट जल लिएर  इच्छाएका शिवालयमा पुगेर अर्पण गर्ने गरेका छन् ।

सोमबार निस्केका तीर्थयात्रुहरू भारतको ‘प्रयागराज’ मा रहेको पवित्र मानिने गंगा तथा जमुना नदीको संगमबाट जल लिई फर्केर शिवभक्तहरूको वसन्त पञ्चमीका दिन भारतस्थित विहारको अरेराजस्थित सोमेश्वरनाथ महादेवलाई अपर्ण गर्नेछन् । ‘काफिलाको पहिलो विश्राम आज नगवामा छ, त्यसपछि भोलि भारत पस्छौं,’ काफिलामा सहभागी नगिनाप्रसादले भने, ‘प्रयागराजमा जल भर्छौं, अरेराजमा चढाउँछौं ।’ ४० गाउँका ४ सय तीर्थालु सम्मिलित मुड्ली काफिला २८ दिनको यात्रा गर्नेछ । यो यात्रा सोमबार निस्केको हो । काफिलाका जमदार (प्रमुख) लिपनीका आसमन राउत हुन् ।
श्रद्धा अटुट, शैली फेरिँदै

गंगाबाट जल भरेपछि बाटोमा कुनै एक ठाउँमा गंगापूजा आवश्यक हुन्छ । यो दिनमात्र यात्रुले प्रसादबापत गुलियो खान पाउँछन् । यात्राभरि मांसाहार, लसुनप्याज, र मादक पदार्थसँगै गुलियो पनि वर्जित हुन्छ । ‘मेरो यो सातौंपटक हो, बाबाको प्रेरणाले जबसम्म सक्छु, त्यतिञ्जेल यात्रा गरिरहन्छु,’ लिपनीका तीर्थालु ४५ वर्षे अमिका पटेलले भने, ‘बारा र पर्सामा धेरैवटा काफिला छन्, ४० गाउँको यो काफिलामा एक हजारभन्दा बढी बाबाहरू हरेक वर्ष सहभागी हुने गरेका छन् ।’

काफिला अगाडि बढ्दै जान्छ भक्तहरू थपिँदै जान्छन् । बारा र पर्सा गरी दुई जिल्लामा करिब २ दर्जन काफिला रहेको बताइन्छ ।

यो काफिला परम्परा पुस्तान्तरण हँुदैछ । पाकासँगै नयाँ पुस्ताकाहरू पनि काफिलमा सामेल हुने गरेका छन् । ‘बाबाले मलाई सफल बनाउनुहुनेछ,’ पहिलोपटक काफिलमा सामेल चैनपुरका २८ वर्षे विनय पटेलले भने ।


 

प्रकाशित: २५ पुस २०७४ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App