तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ। यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन्। तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन्।
झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका हुन्।
१० वर्षदेखि तिहार नजिकिएसँगै झिनियाँ, चिनि, फिनी, भेलीलगायत रोटीका परिकार बनाउन व्यस्त भएको बागलुङ नगरपालिका–१ रामरेखाका शर्मिला श्रेष्ठले बताइन्। ‘तिहार नजिकिंदै आएसँगै झिनियाँको कारोबार उच्च छ। अहिले म जस्ता दर्जनौं महिला झिनियाँसहितका रोटीका परिकार बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छौं”, उनले भनिन्, “तिहारमा मात्रै चार/पाँच लाख रुपैयाँको झिनियाँ सहित अन्य तयारी रोटीको कारोवार हुन्छ।”
यस्तै १२ वर्षदेखि बागलुङ नगरपालिका–१ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका रोटीका परिकार बनाउँदै आएकी मिरा श्रेष्ठले रोटीका परिकारको बिक्री भइरहेको बताइन्। उनले यसपटक सेतो झिनियाँको उत्पादन बढाइएको बताइन्।
हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारका अवसरमा प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ। सिजनको व्यापारमा कमाएको रकमले वर्षभरि घरखर्च पुग्ने उद्यमीहरूको भनाइ छ।
मिराले १२ वर्षदेखि झिनियाँ, चिनी, फिनी, सेल र भेली रोटी तथा खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल भएकी छन्।
“तिहारमा झिनियाँको व्यापार बढी हुन्छ। तिहार नआउँदै बाटर झिनियाँ बनाउँदै सुकाउन निकै व्यस्त भइन्छ। पहिला जस्तो नाफा त छैन, चामालको मूल्य बढेपछि नाफा थोरै भएको हो”, मिराले भनिन्, “पछिल्लो समय झिनियाँसँगै चिनी तथा फिनी र तयारी सेल रोटीको माग उच्च छ। यसपटक पानी नपरेकाले झिनियाँ सुकाउन समस्या भएन। झिनियाँको माग अनुसार निर्माण गर्न समस्या छ।”
मिरासँगै उनका श्रीमान् र छोराले दसैंअघिदेखि रातदिन नभनेर विभिन्न रोटीका तयारी परिकारहरू बनाइराखेका छन्। तिहारका समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई भ्याइनभ्याइ छ। बजारका अधिकांश तयारी रोटीको माग महिला उद्यमीहरूले धान्दै आएका छन्।
मिराले तिहारको सिजनमा झिनियाँसहित अन्य तयारी परिकार बिक्रीबाट सात लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको बताइन्।
नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमासमेत तयारी रोटीको माग रहेको उनको भनाइ थियो।
रङ्ग मिसाइएको झिनियाँ रोटी उत्पादन नगर्न जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेपछि यसपटक धेरै महिला उद्यमीले सेतो झिनियाँ उत्पादन बढाएका छन्।
रङ्ग मिसाइएको परिकारका कारण घातक रोग लाग्न सक्ने भन्दै सप्तरङ्गी झिनियाँ उत्पादन नगर्न बागलुङ नगरपालिकालेसमेत अनुरोध गरेको छ। उपभोक्ताले भने रङ्ग मिसिएकै झिनियाँ बढी माग गर्ने उद्यमीको भनाइ छ। उद्यमीले खाद्य रङ्ग मिसाए पनि तेलमा तार्दा रङले स्वास्थ्यमा असर गर्ने भन्दै सादा झिनियाँ उत्पादन गर्न आग्रह गरिएको छ।
बागलुङमा थोक मूल्यमा झिनियाँ प्रति दर्जन ठूलोमा दुई सय ५० र सानोमा एक सय ४० रुपैयाँमा बिक्री हुँदै आएको छ। खुद्रा र होलसेल गरी दुई थरी मूल्य कायम गरेर बिक्री भइरहेको छ।
यस्तै चिनी रोटी ८०, फिनी ७०, भेली ५० र नमकिन ५० रुपैयाँमा बिक्री भइरहेको छ।
प्रकाशित: २५ कार्तिक २०८० ०६:३८ शनिबार