२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

नमुना जिल्ला बनाउने आश्वासन बाँड्दै उम्मेदवार

गुलरिया (बर्दिया)- बर्दियामा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमसहित बहालवाला तीन मन्त्री चुनावी मैदानमा छन् । वाम गठबन्धन र कांग्रेसका यी ‘हेभीवेट’ उम्मेदवार चुनाव जितेर पटकपटक मन्त्री बनिसकेका छन् ।

जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं. १ मा एमाले उपाध्यक्ष वामदेव गौतम र सिँचाइमन्त्री सञ्जय गौतम चुनावी मैदानमा छन् भने क्षेत्र नं. २ मा भूमिसुधारमन्त्री गोपाल दहित र बिनाविभागीय मन्त्री सन्तकुमार थारुबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।  

तराईको जिल्ला भए पनि सडक सञ्जाल नहुनु, तीन वर्ष बित्दा समेत बाढीपीडित खुला आकाशमुनि बस्न बाध्य हुनु, तटबन्ध निर्माण नभएकै कारण बर्सेनि बाढीको पीडा खेप्नपर्नु, पुल अभावजस्ता समस्याबीच ठूला नेताबीच हुने प्रतिस्पर्धाले सबैको ध्यान तानेको छ । कांग्रेस र वाम गठबन्धनका उम्मेदवार नमुना जिल्ला बनाउन सडक निर्माण गर्ने, बाढी नियन्त्रण गर्ने, कृषिलाई व्यावसायिक र वैज्ञानिकीकरण गरी समृद्ध जिल्ला बनाउने नारा दिइरहेका छन् ।
सडक जिल्लाको विकराल समस्या हो । सडक कच्ची भएकाले ग्रामीण क्षेत्रबाट सदरमुकाम गुलरिया पुग्न धौधौ छ । बर्खामा साना गाडी सडकमा तैरिन्छन्, ठूला गाडी चल्न  गाह्रो छ । सदरमुकाम जोड्ने अधिकांश सडकको अवस्था जीर्ण छ । सदरमुकाम गुलरिया जोड्ने सडक सबै ग्राभेल छ । स्थानीय तहमा सडक सञ्जाल पुगेको छैन ।
सडक यातायात नभएकै कारण समयमै सुत्केरी गराउन जिल्ला अस्पतालसम्म पु¥याउन समस्या छ । जिल्लामा रहेको बर्दिया जिल्ला अस्पताल विशेषज्ञ डाक्टर विहीन छ । ११औं तहको दरबन्दी भए पनि वर्षौंदेखि नवौं तहका मेडिकल अधिकृतको भरमा जिल्ला अस्पताल चलिरहेको छ । अस्पतालमा आएका अधिकांश बिरामी अन्यत्र रेफर गरिन्छन् । जिल्ला अस्पतालमा पुग्ने बिरामीले गुणस्तरीय उपचार पाउन सक्दैनन् । कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले दुवै दलले जिल्लाभर यातायात पु¥याउन खुलिसकेका ट्रयाकको स्तरोन्नति गर्ने र सदरमुकामबाट सबै स्थानीय तहसम्म लिंकरोड बनाउने अजेन्डा अघि सारेका छन् ।
शैक्षिक स्तर खस्किएको छ । गुलरियामा रहेको एकमात्र बबई बहुमुखी क्याम्पसलाई आंगिक बनाउने स्थानीय पहल अझै सफल हुन सकेको छैन । शैक्षिक स्तर खस्किएकै कारण निजी क्षेत्रमा समेत जिल्लाका कमैले मात्र रोजगारी पाउने गरेका छन् ।
प्रदेश ५ को प्रमुख पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज, प्रसिद्ध धार्मिक स्थल (ठाकुरबाबा, गणेशमन्दिर र बगलामुखी मन्दिर) र सीमसार क्षेत्र (बढैया ताल र ताराताल) यही जिल्लामा पर्छन् । तर, प्रचारप्रसार अभावले यी धार्मिक तथा पर्यटकीय स्थलको लाभ जिल्ला र मुलुकले लिन सकिरहेको छैन ।
जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं. १ मा एमाले उपाध्यक्ष वामदेव गौतम र सिँचाइमन्त्री सञ्जय गौतम चुनावी मैदानमा छन् भने क्षेत्र नं. २ मा भूमिसुधारमन्त्री गोपाल दहित र बिनाविभागीय मन्त्री सन्तकुमार थारुबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।  कांग्रेसले प्रदेशसभाको १ (क) मा मंगल थारु, १ (ख) मा सोदे बिष्ट, २ (क) मा रामचन्द्र थापा र २ (ख) मा नाचुराम थारुलाई उम्मेदवार बनाएको छ । वाम गठबन्धनबाट १ (क) मा तिलक शर्मा, १ (ख) मा कविराम थारु, २ (क) मा दिपेश थारु र २ (ख) मा कुलप्रसाद पोख्रेललाई उम्मेदवार छन् ।
कांग्रेसले  स्थानीय तह चुनावमा दुई नगरसहित राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा वडामा जित्नु नै आफ्ना उम्मेदवारको जितको आधार भएको दाबी गरेको छ । कांग्रेसको बलियो सांगठनिक आधार र स्थानीय तहमा पार्टीका पक्षमा आएको परिणामका कारण ६ वटै सिट जित्ने दाबी कांग्रेसको हो । गठबन्धन हुनु नै आफ्ना उम्मेदवारको जितको आधार भएको वाम गठबन्धनवालाको दाबी छ ।
बर्दियाको प्रतिनिधिसभा १ नम्बर क्षेत्रमा बढी चासो छ । यहाँ चारवटा चुनाव जितेका र दुईवटा चुनावमा पराजय भोगेका एमाले उपाध्यक्ष गौतम चुनावी दौडमा छन् । भड्किलो प्रचार, भावी प्रधानमन्त्री बन्ने उद्घोष र विकासे आश्वासनसाथ उनी मैदानमा छन् । मतदाताबीच अघिल्लो निर्वाचनमा प्युठान रोजेका गौतम भगुवा नेता भएको छाप परेको छ । बजार क्षेत्रमा गौतमको चर्चा छ तर भित्री गाउँतिर उनको नाम धेरै सुनिँदैन ।
गौतमसामु कांग्रेसका उम्मेदवार सिँचाइमन्त्री सञ्जय गौतम प्रतिस्पर्धी छन् । मन्त्री गौतम एकपटक चुनाव जितेका र एकपटक हारेका उम्मेदवार हुन । थारुसहित र मधेसी मतदाता  र असन्तुष्ट माओवादी केन्द्रका कार्यकर्ताको मत पाउन सके निर्वाचन कांग्रेसको पोल्टामा जाने विश्लेषण स्थानीय गर्छन् । मन्त्री गौतमले आफू विकासप्रेमी भएको मतदातालाई बुझाउन सके चुनाव जित्न सक्ने स्थानीयको विश्लेषण छ ।
क्षेत्र नं. १ मा सदरमुकाम गुलरिया नगरपालिका, बासगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका केही वडा पर्छन् । थारुबाहुल्य यस क्षेत्रमा मधेसी र पहाडी जातिको बसोबास छ । मधेसी मूलका मतदाता यस क्षेत्रका निर्णायक मानिन्छन् ।  यसअघिको निर्वाचनमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का उम्मेदवार रामकुमार थारूले करिब ७ हजार मत पाएका थिए । यति बेला लोकतान्त्रिक फोरम कांग्रेससँग एकीकृत भएको छ ।
निर्वाचनमा सांगठनिक हिसाबले वाम गठबन्धन बलियो भएपनि मन्त्री गौतम रैथाने भएकाले चुनावी दौडमा गौतमद्वयको टक्कर हुने आकलन छ ।
यस्तै क्षेत्र नं. २ मा राजमार्गसँग जोडिएको भुरिगाउँ, पर्यटकीय स्थल ठाकुरद्वारासहित राजापुर नगरपालिका र गेरुवा गाउँपालिका  पर्छन् । ७० प्रतिशत थारु, बाँकी पहाडी समुदाय र मधेसी बस्ती रहेको यस क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विनाविभागीय मन्त्री सन्तराम थारू तेस्रोपटक चुनाव लड्दैछन् । उनले दुईवटै संविधानसभा निर्वाचन जितेका थिए । यसपटक कांग्रेस उम्मेदवार भूमिसुधार मन्त्री गोपाल दहित उनका प्रतिस्पर्धी छन् ।  यसअघि चुनाव जिते पनि माओवादी केन्द्रमा टिकटका विषयमा मनमुटाव छ । यता  दहितलाई  राप्रपाकी  प्रतिभा राणाको साथ छ । यसअघिका निर्वाचनमा राणाले राम्रो मत ल्याएकी थिइन् ।
पहिलो संविधानसभा चुनावमा माओवादीका सन्तरामले करिब २३ हजार, कांग्रेसका पर्शुराम थारुले करिब ९ हजार र एमालेका लक्ष्मण ज्ञवालीले करिब ७ हजार मत पाएका थिए । राणााले ७ हजार ५ सय मत प्राप्त गरेकी थिइन् । दोस्रो संविधानसभा चुनावमा पनि थारुले कांग्रेसलाई १० हजार मतले पछि पारेका थिए ।
कर्णाली नदीले घेरिएको टापु राजापुर साबिकको ४ नम्बर क्षेत्र हो । माओवादी सशस्त्र युद्धका बेला आधार भूमिजस्तै ठानिने राजापुर क्षेत्रमा माओवादी विगतको भन्दा कमजोर भएको कांगे्रसका युवा नेता कमल रेग्मीले बताए । खैरी चन्दनपुरका माधव निगम वाम गठबन्धन र कांग्रेसका उम्मेदवारबीच टक्कर हुने बताउँछन् ।
यस क्षेत्रका उम्मेदवारले कर्णालीको बाढी नियन्त्रण, हात्ती, गैंडा आक्रमण नियन्त्रण, सडक र पुल निर्माणलाई साझा अजेन्डाका रुपमा अघि सारेका छन् ।

प्रकाशित: २४ कार्तिक २०७४ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App