इजरायलमा फसेका विद्यार्थीहरूलाई स्वदेश ल्याउन नेपालबाट विमान जान लागेको खबरले दाङका निमबहादुर डाँगीलाई छोरा प्रविण पनि घर फर्कने आशा पलाएको थियो। तर बम आक्रमणमा पनि घाइते भई अस्पतालमा उपचाररत प्रविणले घर आउनका लागि फारम भर्न पाएनन्। ‘छोरा आउँछ कि भन्ने लागेको थियो,’ निमबहादुर भन्छन् ‘तर छोराले फारम नभरेको भन्ने थाहा पाएपछि आउँदैन भन्ने लाग्यो।’
अबको चरणमा छोरा कसो नआउला? निमबहादुर यसै सोचिरहेका थिए। तर अस्पतालका डाक्टरसँग बिहिबार बेलुका भएको भिडियो संवाद पछि निमबहादुरले कामना गरिरहेका छन् ‘अबको ६ महिना सम्म इजरायलमा केही नहोओस्।’ बिहिबार छोरा प्रविणलाई अस्पतालका डाक्टरले घरमा फोन गर्न भनेका रहेछन्। प्रविणको स्वास्थ्य अवस्था बारे उनको परिवारलाई जानकारी दिन खोजेका थिए। प्रविण, अस्पतालका डाक्टर र नेपालमा रहेका निमबहादुरका बिच बिहिबार त्रिपक्षीय भिडियो संवाद भयो।
डाक्टरले प्रविणको स्वास्थ्य अवस्थाका बारेमा निमबहादुरलाई जानकारी दिँदै भने ‘प्रविणको उपचार ६ महिनासम्म यहीँ राखेर गर्नुपर्छ, अहिले तत्काल घर आउने अवस्था छैन।’
डाक्टरको यो जानकारी पछि छोरालाई बढी नै चोट लागेको आशंका निमबहादुरलाई बढेको छ। ‘डाक्टर, म र बाबुले भिडियोमा कुरा कानी गर्यौँ, मैले नेपालीबाट कुरा गरेँ, छोराले उता अंग्रेजीबाट कुरा गर्यो, अनि डाक्टरले अंग्रेजीबाट गरेको कुरा मलाई नेपालीमा भनिदिएको थियो,’ निमबहादुर भन्छन्, ‘अहिले तत्कालै घर आउन सक्ने अवस्था छैन, अझै ५÷६ महिना उपचार गरेरै राख्नु पर्ने भएको रहेछ, घाइते भएको छोरालाई भेट्न ६ महिना कसरी कुरौँ?’
नत तत्काल छोरा घर फर्कने आस, नत छोरालाई भेट्न जानै सहज। निमबहादुरको परिवार थप चिन्तित बनेको छ। उता इजरायलमा जारी द्धन्दका कारण अस्पतालबाटै छोराको नराम्रो खबर सुन्नु पर्ने होकि भन्ने अर्को चिन्ता। ‘६ महिना सम्म छोरालाई देख्न नपाएरै कसरी बस्ने होला?’ निमबहादुर भन्छन् ‘न उ आउने न हामी यताबाट जान सक्ने, गोलाबारी भइरहेको छ भन्ने सुनिन्छ, अस्पतालमै केही हुने हो कि भन्ने चिन्ता उस्तै छ।’
त्यसोत, प्रविणले आफ्नो उपचार राम्रो सँग भइरहेकाले परिवारलाई केही चिन्ता नलिन सम्झाइरहेका छन्। तत्काल नेपाल फर्किहाले पनि आफ्नो उपचार कसरी गर्ने ? यो प्रश्न प्रविणले बेला बेला परिवारलाई सोधिरहन्छन्। ‘म यस्तो अवस्थामा अहिले आइहाले भने कसरी उपचार गर्न सकिएला?’ छोरा प्रविणको भनाई उद्धृत गर्दै बाबु निमबहादुरले भने, ‘न पैसा छ, न सम्पत्ति छ, त्यहाँ अहिले आएँ भने त झनै उपचार गर्न गाह्रो हुन्छ, जे हुन्छ यतै सहन्छु भनेर बाबुले भन्छ।’ निम्न आर्थिक स्तरका निमबहादुरले छोराको यो भनाइलाई मन नलागी नलागी समर्थन जनाउन करै लाग्छ।
छोरा तत्काल घर नफर्किए पनि उनलाई भेट्न आफू पुग्न पाए हुन्थ्यो भन्नेमा निमबहादुर भन्छन्। उनले शुक्रबार प्रविण अध्ययनरत सुदूर पश्चिमाञ्चल विश्व विद्यालयका प्रमुख सँग कुराकानी समेत गरेको बताए। इजरायल छोरालाई भेट्न जानका लागि व्यवस्थापन मिलाइदिन उनले आग्रह गरे। ‘म जान्छु भेट्न भनेको थिएँ,तर अंग्रेजी बोल्न जान्ने भए जाने व्यवस्था मिल्छ भन्नु भयो,’ निमबहादुर भन्छन् ‘तर मलाई त अंग्रेजी आउँदैन।’
इजरायलको अस्पतालमा एक्ला घाइते छोरा, न परिवारका कुनै सदस्य नत आफन्ती नै। निमबहादुरलाई तत्काल भेटेर सन्चो बिसन्चो सोध्ने ठुलो इच्छा छ। विश्वविद्यालयका प्रमुखले प्रविणलाई घाइतेहरू मध्य सबै भन्दा बढी चोट लागेको भनेर आफूलाई जानकारी दिएको निमबहादुरले बताए। ‘खुट्टाको हड्डी नै फोडेर गोली लागेको भन्ने थाहा पाएँ, तर छोराले यति धेरै चोट लागेको भनेर भन्दै भन्दैन, उसले परिवारले चिन्ता मान्छ भनेर हामीलाई ढाँट्छ,’ निमबहादुर भन्छन् ‘त्यहाँ घाइते भएका मध्य सबै भन्दा बढी चोट मेरो छोरालाई नै लागेको रहेछ, अरु त एक÷डेढ महिना सम्ममा आउने जस्तो छ रे, तर मेरो छोरा आउन ६ महिना लाग्छ रे।’
कैलाली स्थित सुदूरपश्चिम विश्वविद्यालयमा कृषि अध्ययनरत दाङ दंगिशरण गाउँपालिका वडा नम्बर ३ हेकुलीका प्रविण ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए। इजरायल पुगेको एक महिनामै गत शनिवार प्यालेष्टाईन विद्रोही समूह हमासले गरेको आक्रमणमा परि प्रविण घाइते भएका थिए।
प्रकाशित: २६ आश्विन २०८० ११:३४ शुक्रबार