४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

धार्मिक सहिष्णुता बिगार्ने तत्व असफल

असोज ११ गते मुस्लिम समुदायको मोहम्मद डेमा एकजना युवकले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोडेर सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरे।

 उनी सामान्य व्यक्ति थिए। ती सामान्य व्यक्तिले गरेको टिप्पणीका आधारमा मुस्लिम समुदायले असोज १४ गते नेपालगन्जमा र्‍याली मात्र निकालेन, टायर बालेर विरोधसमेत गर्‍यो।

सो समुदायले जिल्ला प्रशासन कार्यालय पुगेर झण्डासमेत गाड्यो। जसले नेपालगन्जको अवस्था खल्बलिने संकेत गर्‍यो। सो आवेशलाई मत्थर पार्न मंगलबार हिन्दु र मुस्लिम समुदायका धर्म गुरुसहित सामाजिक तथा धार्मिक सद्भावका लागि बृहत् सद्भाव र्‍याली निकालियो। र्‍यालीमा अपेक्षाकृत उपस्थिति हुन सकेन।

उक्त उपस्थितिले स्थिति सामान्य भइ नसकेको र स्थिति थप तनावग्रस्त हुन सक्ने संकेत गरेको थियो। सामाजिक तथा धार्मिक दंगा फैलिनसक्ने जोखिम बढ्दा पनि प्रहरी प्रशासनले सामान्य रूपमा लियो र अवस्था तनावग्रस्त बन्यो।

सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्‍यालीका कारण उत्पन्न परिस्थिति र सद्भाव र्‍यालीपछि ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीको क्रममा विवाद उत्पन्न हुँदा मंगलबार नेपालगन्ज दिनभरि अशान्त बन्यो।

सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि भए। झडपका क्रममा डेढ दर्जन बढी घाइते भएका थिए। सामाजिक तथा धार्मिक सद्भाव खल्बलिन थालेपछि प्रशासनले कर्फ्यूसमेत जारी गरेको थियो।

मंगलबार दिउसो १ बजेदेखि लागेको कफ्र्यु बिहीबार बिहान ८ बजेदेखि हटेको छ। निधेषाज्ञा भने अझै कायम छ। कफ्र्यु हटेपछि बिहीबारदेखि जनजीवन सामान्य अवस्थामा फर्किंदै गएको छ।

उक्त स्थितिलाई नियन्त्रणमा लिन यहाँका धर्मगुरुहरू र नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। सुरुमा सामान्य रूपमा लिएको प्रहरी प्रशासनले विवाद चर्किंदै जाँदा अहिले सिर्जित अवस्थालाई शान्त पार्न भने सक्रिय बनेको छ।

यति मात्र होइन, नेपालगन्जको सामाजिक तथा धार्मिक सद्भावलाई बिथोल्न बेलाबेला प्रयास भएका छन्। यसपालि पनि धार्मिक द्वन्द्व फैलाएर स्वार्थ पूरा गर्ने समूहको योजनालाई यहाँका धर्मगुरु र नागरिक समाजले निस्तेज पारिदिए। बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले नेपालगन्जको सामाजिक तथा धार्मिक सहिष्णुता कसैले खल्बलाउन नसक्ने दाबी गरे।

‘हामी एक अर्काको धर्मलाई सम्मान गर्दै मिलेर बसेका छौं,’ उनले भने, ‘समाजमा कुतत्व पनि छन्। उनीहरूले हामीलाई लडाउन खोज्दैमा हाम्रो सद्भाव खल्बलिँदैन।’

मुस्लिम धर्मका मौलाना अब्दुल जब्बार मञ्जुरीले यहाँको सामाजिक र धार्मिक सद्भावलाई अझ बलियो बनाएर लिनुपर्ने बताए। उनले यहाँको सद्भावलाई गुलाबको फूलसँग दाँजेका छन्।

खल्बलिन थालेको सामाजिक तथा धार्मिक सद्भाव फेरि गाँठो परेको यहाँका नागरिक समाजका अगुवाले जनाएका छन्।

अवस्था सहज हुँदै गए पनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जाने स्थितिलाई ध्यानमा राखी उच्च सुरक्षा सतर्कता अपनाउन प्रहरी प्रशासनसँग नागरिक समाजले माग गरेको छ।

सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता खल्बलिन नदिन कानुनविपरीत कार्य गर्ने जो कोहीलाई कानुनी कठघरामा ल्याउन र नागरिकको जिउधनको सुरक्षा गर्न प्रहरी प्रशासनसँग माग गरिएको नागरिक समाजका अगुवा कृष्ण श्रेष्ठले जनाए।

विभिन्न ठाउँमा भएको झडपका क्रममा भएको सम्पत्ति तोडफोडको मूल्यांकन गरी तत्काल क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने र झडपका क्रममा घाइते भएका व्यक्तिको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने नागरिक समाजको बैठकले अपिल गरेको छ।

‘थप जोखिम हुन नदिन संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा पार्नुपर्छ,’ नागरिक समाजले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘साइबर अपराध सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका साथै सामाजिक सञ्जालका माध्यमबाट भइरहेको अराजकतालाई नियन्त्रण तथा नियमन गर्नुपर्छ।’

प्रकाशित: १९ आश्विन २०८० ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App