३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

मदन भण्डारी लोकमार्गमा ‘टाईमकार्ड’

पूर्व–पश्चिम महेन्द्र लोकमार्गको बिकल्पको रुपमा निर्माणाधीन मदन भण्डारी लोकमार्गमा टाईमकार्ड सुरु भएको छ। बढ्दो दुर्घटना न्यूनिकरण गर्न तथा नजिकिदै गरेको चाड पर्वका बेला सवारी चाप सहज बनाउन जिल्ला ट्राफिक प्रहरी उदयपुरले टाईम कार्ड लागू गरेको हो।

पछिल्लो समय अत्याधिक दुर्घटना हुन थालेकाले न्यूनिकरण गर्दै नजिकिएको दसै, तिहार र छठको समयमा अत्याधिक गाडीको चाप सहज बनाउन सवारी आवगमनको समय तालिका सार्वजनिक गर्दै टाईम कार्ड लागू गरेको ट्राफिकले जनाएको छ। केही समययता दैनिकजसो दुर्घटना हुँदा जनधनको क्षति हुने गरेको र दुर्घटनाको मुख्य कारण तिव्र गति र चालकको लापरवाही देखिएकाले न्यूनिकरण गर्न लोकमार्गको उदयपुर खण्डमा मंगलबारदेखि टाईम कार्ड लागू गरिएको ट्राफिक उदयपुरका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वसई) लोकबहादुर दियालीले बताए।

उनका अनुसार पूर्वमा जिल्लाको वेलका नगरपालिका ८ चतारा कोठुदेखि पश्चिममा कटारी नगरपालिका ४ कटारी बजारसम्म १ सय ६ किलोमिटर सडक खण्डमा टाइम कार्ड लागू गरिएको हो। २ घण्टा १५ मिनेट समय लाग्ने सो दूरी पार गर्न अब ट्राफिकले ३ घण्टा १५ मिनेट समय दिएको छ। मंगलबार आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतम, जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापा, यातायात व्यवस्था कार्यालय गाईघाटका प्रमुख श्याम लिम्बुसहित यातायात व्यवसायी र सरोकारवालाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमस गर्दै टाइम कार्ड लागू गरेको जानकारी ट्राफिकले दिएको छ।

सिडिओ गौतमले धेरै जनधनको क्षति गरिरहेको दुर्घटना कम गर्न जरिवाना काटेर मात्र नहुने देखिएकाले गति सीमित गर्नु नै प्रमुख उपाय ठानेर यो नियम लागू गर्न खोजेको बताए। उदयपुरको सडकमा यस्तो व्यवस्था पहिलो पटक लागू गरिएको बताउँदै उनले ट्राफिक प्रहरी र सवारी चालकबाट मात्रै दुर्घटना न्यूनिकरण संभव नहुनले हुँदा सडक प्रयोगकर्ता पनि जिम्मेवार हुनुपर्ने बताए। चालकलाई स्वतन्त्र छोड्ने हो भने दुर्घटनाका घटना अझ बढ्ने भएकाले यातायात व्यवसायी र यात्रुहरु पनि सचेत हुनुपर्नेमा उनको जोड थियो।

एसपी थापाले लामो दुरीमा सञ्चालन हुने सवारी साधन तिव्र गति र चालकको लापर्वाहीका साथै सवारी साधनको आवश्यक मर्मतसम्म्भार नहुँदा दुर्घटना हुने गरेको अनुभव सुनाए।  

प्रकाशित: १७ आश्विन २०८० १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App