२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सरकारी आग्रह लत्याउँदै ओपिडी सेवा ठप्प

काठमाडौं- नेपाल चिकित्सक संघले सरकारी आग्रह बेवास्ता गर्दै विगत चार दिनदेखि स्वास्थ्य संस्थामा जारी राखेको हडतालका कार्यक्रमलाई मंगलबार पनि निरन्तरता दिने भएको छ । ओपिडी सेवा ठप्प पारिँदा गत शुक्रबारदेखि लाखौं बिरामी स्वास्थ्य सेवाबाट वञ्चित छन् । बिरामीको स्वास्थ्यमाथि संवेदनशील नभई संघले स्वास्थ्य संस्थामा हडताल जारी राखेको हो ।
कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाबाट फर्किनासाथ चिकित्सक र स्वास्थ्यकर्मीका माग पूरा गर्ने भन्दै हडताल फिर्ता लिन आग्रह गरेको थियो ।
अपराह्न बसेको संघको आकस्मिक बैठकले सरकारबाट कुनै ठोस प्रतिबद्धताबिना आन्दोलन फिर्ता गराउने मात्रै लक्ष्य राखिएको भन्दै आपत्ति जनाएको छ । बैठकले देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिकलगायतका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय यथावत् राख्ने निर्णय गरेको संघका महासचिव डा.लोचन कार्कीले बताए ।

संघको निर्णय आउनुअघि मन्त्रिपरिषद् बैठकले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न संघलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले संघले आन्दोलनको प्रमुख बहाना बनाएको असोज २ को मन्त्रिपरिषद्को निर्णय सम्बन्धनमा समेत स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को गत मंगलबारको बैठकले चिकित्सकको चरम लापरबाहीका कारणले बिरामीको अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान गरी पेसागत वा व्यावसायिक बिमा क्षतिपूर्तिलगायत आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिने निर्णय भएको स्पष्ट पारेको छ ।

महासचिव डा.कार्कीले भने आग्रहले मात्रै आन्दोलन नरोकिने बताए । उनले प्रधानमन्त्री नआइकनै माग पूरा नहुने हो भने हडताल जारी राख्न तयार भएको बताए । ‘बर्दीमा भएको पुलिसलाई हात हाले कानुन लाग्ने, अदालतमा अधिवक्ताले स्वतन्त्र रूपमा पक्षविपक्षमा बहस गर्दा सुरक्षाको प्रत्याभूति हुने तर सेतो कोट लगाउने स्वास्थ्यकर्मीले ढुक्क भएर सेवा दिन किन नसक्ने ?’ उनले भने । डा. कार्कीले चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामाथि आक्रमण गर्ने जोकोहीलाई तत्काल गिरफ्तार गरेर जेल चलान गर्ने कानुन (जेल विद आउट बेल) को व्यवस्था हुने ग्यारेन्टी नहुँदासम्म हडताल नरोकिने बताए ।

लाखौं बिरामीमाथि खेलबाड

चार दिनदेखि चिकित्सक काम छाडेर आन्दोलनमा उत्रिएपछि उपचारको पर्खाईमा रहेका र अस्पताल पुगेका लाखौं बिरामी सेवाबाट वञ्चित भएका छन् ।
वीर अस्पतालमा पुरानो शल्यक्रियाको फलोअपका लागि आएका गोरखाका केशर भट्टलाई हडतालबारे थाहै थिएन । उनी शुक्रबार अस्पताल आइपुगेका थिए ।  अस्पतालका कर्मचारीले आइतबार आउनुस् भनेपछि उनी आइतबार आएका थिए । ‘हिजो पनि भएन, आज बल्ल डाक्टरको आन्दोलन छ, दसैंपछि आउनुस् भने,’ उनले भने, ‘कतिपटक धाउनु ?’

वीर, त्रिवि शिक्षण अस्पताल, प्रसूति गृह र कान्ति अस्पताललगायतका ओपिडीमा हजारौं बिरामी हडताल अन्त्य हुने आसमा थिए । ‘वार्ता भइरहेको छ, खुल्न सक्छ भनेकोले बसिरहेको छु’, अपराह्न वीरमै भेटिएका अर्का एक बिरामीले भने । नाम चलेका केही चिकित्सकले अस्पतालमा बिरामी नहरे पनि दसंैका बेला बिरामीलाई मर्का परेको भन्दै क्लिनिकबाट सेवा दिएका थिए । अधिकांश चिकित्सकले संघले कारबाही गर्ने भन्दै अस्पतालमा सेवा भने रोकेका छन् ।
उनीहरुले सेवा रोकेर बिहानैदेखि मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । कालोपट्टीसहित धर्नामा उत्रिएका चिकित्सकले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन गरी जेल विद आउट बेल (धरौटीबिना जेल) को प्रावधान राख्नुपर्ने गाग गरेका थिए ।

प्रकाशित: १० आश्विन २०७४ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App