नारीहरूको तीज पर्वमा आएको आधुनिकतासँगै मौलिकता ओझेल पर्दै गएको छ। तीज आउनुअगावै सहरमा दैनिकजसो आयोजना गरिने तीज मिलन कार्यक्रम औपचारिकतामा सीमित हुने गरेका छन्।
पछिल्ला वर्षमा तीज पर्वमा भित्रिएको आधुनिकता र खर्चिलो प्रवृत्तिले यसको धार्मिक मूल्य, मान्यता र सांस्कृतिक परम्परा ओझेलमा परेको नेपालगञ्ज उपमहानगरपालिका २० मनिकापुरस्थित सिर्जनशील आमा समूहकी अध्यक्ष उषा थापा बताउँछिन्। ‘सहर बजारमा हुने तीज प्रतियोगितामा पनि कुनै मौलिकता छैन, डेक बजाएर नाचगान हुन्छ’, उनी भन्छिन्, ‘आधुनिकतासँगै तीज पर्वको परम्परागत मौलिकता हराउँदै गएको छ।’
पछिल्ला वर्ष बजारमा दर्जनौं संख्यामा एल्बम सार्वजनिक भए पनि तीजको मर्म बोकेका भाका पाउन भने मुस्किल छ। तीजको मौलिकता झल्किने संस्कृति हराएकोमा उनी चिन्तित छिन्।
बाँकेमा अहिले दिनहुँजसो तीज पर्वका अवसरमा औपचारिक कार्यक्रम र प्रतियोगिता भइरहेका छन्। यस्ता प्रतियोगितामा आधुनिकताको प्रयोगले मौलिक र परम्परा ओझेलमा पर्दै गएको लोकगायक कमल बिके निर्मोहीले बताए।
अहिले विभिन्न संघसंस्था र दिदीबहिनीले होटल-होटलमा आयोजना गर्ने दर खाने कार्यक्रमले तीज पर्व आधुनिक तथा औपचारिकतामा सीमित हुन पुगेको उनको भनाइ छ। ‘पर्वलाई संरक्षण गर्नु र पुस्तौंसम्म जोगाइराख्नु हाम्रो कर्तव्य हो। पर्वको अस्तित्व नै समाप्त हुने शैली अवलम्बन गर्दा भविष्यमा तीजको धार्मिक र सांस्कृतिक मान्यतामा कस्तो प्रभाव पर्ला सोच्ने बेला आएको छ’, उनले भनिन्, ‘नेपाली हिन्दु महिलाले मनाउने पवित्र चाडमा यसरी नै विकृति बढ्ने हो भने भावी पुस्ताले तीज कसरी मनाउला?’
नेत्री शान्ति ढकाल अहिलेका तीज गीत सामाजिक मर्यादा र अनुशासनको सीमा नाघेर रचिएको आरोप लगाउँछन्। ‘पहिला तीजको दर एक दिन मात्र खाने चलन थियो, अहिले महिना दिनदेखि होटलमा दर खान भ्याइनभ्याइ छ’, ढकालले भने, ‘तीजको संस्कृतिसँगै मादल हरायो, मादल बज्दैन। डेक लगाएर नाच्ने चलन बढ्यो।’
आधुनिकताका नाममा महँगा होटलमा दर खाएर, डेकको तालमा नाचेर तीजको संस्कृति नजोगिने उनी बताउँछन्। महिलालाई हक, अधिकारसँगै कर्तव्य र समाजप्रतिको उत्तरदायित्व पनि सिकाउन जरुरी रहेको ढकालको भनाइ छ।
नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी संयोजक महिला विकास अधिकृत शोभा शाहले तीज पर्वमा आधुनिकतासँगै परिवर्तन आएको बताउँछिन्। ‘तीजले दिदीबहिनीलाई भेटघाट गर्ने अवसर दिन्छ, परापूर्वकालदेखि यो पर्वलाई महिलाले दुःख बिसाउने पर्वका रूपमा माइत जाने र मीठो खाने चलन हो’, उनले भनिन्, ‘अहिले परिवेश फेरिएको छ, माइतीले मात्रै दर खुवाउनु पर्दैन, महिला सक्षम र स्वतन्त्र पनि भएका छन्।’
उनी स्वतन्त्रताको उपयोगका नाममा नाच्ने र दर खाने मात्रै नभएर तीज पर्वलाई एउटा सन्दर्भ मात्र बनाई महिला सचेतनाको वकालत पनि गर्न सके राम्रो हुने बताउँछिन्।
त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका उपप्राध्यापक राजकुमार सुवेदी तीजमा विकृति भित्रिएको बताउँछन्। ‘हरितालिका तीजमा विवाहित महिलाले पतिको दीर्घायु र अविवाहितले राम्रो पति पाइयोस् भनेर व्रत बस्ने हो। व्रतका लागि तीजको अघिल्लो दिन शुद्ध खानुपर्ने हुन्छ, त्यो मात्रै दर हो, अशुद्ध खाना दर होइन’, उनी भन्छन्, ‘तीजका नाममा महिनाभरि अशुद्ध खाना खानु दर होइन, यो राम्रो होइन सुधार्न जरुरी छ।’
शुद्ध शाकाहारी खानालाई मात्रै तीजको दर भनिने भए पनि अहिले दरलाई अशुद्ध खानासँग जोडेर विकृति आएको सुवेदीको भनाइ छ।
तीजमा निरहार बसिएको व्रत साँझपख आरतीको समयमा पूजा गरेर मात्रै समापन गर्नुपर्नेमा हिजोआज मध्याह्न १२ बजे नै सक्ने परम्परा पनि गलत भएको उनी बताउँछन्।
‘तीजको विधिवत पूजा हुनै छाड्यो, औपचारिकता मात्रै गर्ने गरगहना देखाउन तडकभडकले तीजको महत्व पनि घटको छ’, उनी भन्छन्। सुवेदीले तीजमा खाइने दर, लगाइने वस्त्र, गरगहना, तीज गीतको हिन्दु नारीका जीवनमा विशेष महत्व रहेको बताउँछन्।
‘सहर बजारमा हिजोआज महिना दिनदेखि नै विभिन्न कार्यक्रममा भड्किला गीतसहितका दर खाने कार्यक्रम आयोजना भइरहेका छन्’, उपप्राध्यापक सुवेदीले भने, ‘टोल र छिमेकका दिदीबहिनी जम्मा भई नाचगान गर्नु खानपिन गर्नु, एकअर्काका भावना आदानप्रदान गर्नु नकारात्मक होइन, तर संस्कृतिलाई नै विकृत पार्ने गतिविधिलाई प्रोत्साहन गर्नु गलत हो।’
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागकी उपप्राध्यापक सावित्री बस्नेतले तीजमा आएको आधुनिकता र देखासिकीले तीज पर्व दसैं-तिहारभन्दा पनि महँगो हुन पुगेको बताउँछन्। ‘समयअनुरूप कतिपय कुरालाई परिमार्जित गर्दै लैजानुपर्छ। तीजमा गाइने गीत र दर खाने चलनमा आएको परिवर्तन तर संस्कृतिलाई अपव्याख्या गर्ने गरी भड्किला गतिविधिलाई परिवर्तनको नाम दिन मिल्दैन’, उनले भने, ‘आधुनिकताका नाममा हाम्रो मौलिक पर्व तीजलाई भड्किलो बनाउने गरिएको छ।’
तीजमा देखिएका विकृति निरुत्साहित गर्दै धर्म, संस्कृतिको मौलिकता कायम राख्दै मनाउन आवश्यक भएको उनको भनाइ छ। ‘तीजका नकारात्मक पक्ष मात्र केलाउनभन्दा सकारात्मक पक्षका बारेमा नजानेकालाई बुझाउन आवश्यक देखिन्छ’, उनले भने, ‘तीजलाई आआफ्नो क्षमताअनुसार मनाऔं।’
बाइस वर्षदेखि तीज महोत्सव
बाँकेको खजुरामा तीजको मौलिकता बचाउन १८ वर्षदेखि नियमित रूपमा तीज महोत्सव हुँदै आएको छ। खजुरा क्षेत्र संरक्षण समितिको आयोजनामा खजुरामा यस वर्ष अठारौं शृंखलाको तयारी गरिएको छ। २२ वर्षपहिले खजुरा क्षेत्र संरक्षण समितिले थालेको तीज महोत्सवको निरन्तरताका रूपमा यस वर्ष पनि महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए।
‘तीज महोत्सव खजुराको एउटा गहना बनिसकेको छ’, उनले भने, ‘बाँके र बर्दियाका अवलोकनकर्ता तथा व्रतालु दिदीबहिनीको खजुरामा पूजा गर्न आउने र तीज गीतमा रमाउने परम्पराजस्तै बनेको छ।’
मौलिक शैलीमा आफैं मादल बजाएर तीजको भाकामा गीत गाउने र नाच्ने महोत्सवमा व्यवस्था मिलाइएको उनले जानकारी दिए। समूहगत र एकल तीज र नृत्यको प्रतियोगिता रहेको महोत्सवमा ५० हजार बढी दर्शक र व्रतालुको भेला हुने उनको दाबी छ।
खजुरा क्षेत्र संरक्षण समितिका पूर्वअध्यक्ष शिवराज श्रेष्ठले पाँच दशकदेखि खजुरको लक्ष्मीनारायण मन्दिरपरिसरमा स्वतः भेला हुने र तीजको रमझम गर्ने परम्परालाई खजुरा क्षेत्र संरक्षण समितिले व्यवस्थापन मात्र गरेको बताउँछन्। तीजको दिन स्वतः खजुरामा हजारौंको संख्यामा दिदीबहिनीको जमघट हुने गरेको बताउँदै उनले यस वर्ष खजुराको वारिपारि दुवै स्थानमा महोत्सव राखिएकाे बताए।
प्रकाशित: २ आश्विन २०८० ०३:२९ मंगलबार