२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्वसाधारणको घरबाट एक महिनामै १ सय ५२ सर्पको उद्धार

धनगढीमा कोभ्रा, करेत लगायतका विषालु सर्पको त्रास

धनगढी उपमहानगरपालिका वडा नं ५ वस्ने मुकेश पन्तले सोमबार राती १२ बजे आफ्नो कोठामा सर्प देखे। सर्प कोठाभित्र पसेपछि समस्यामा परेका पन्तले धनगढी उपमहानगरपालिकाको नगर प्रहरीलाई फोन गरेर जानकारी गराए। करिव १५, २० मिनेटमा नगरप्रहरीको टोली उनको कोठामा पुग्यो। त्यतीवेला सम्म सर्प कोठाबाट वाथरुममा गैसकेको थियो। बाथरुममा रहेको सर्पलाई नगरप्रहरीले समातेर लगेर गयो।  

‘राती कोठामा बिषालु सर्प देखियो, सर्पलाई मार्नु वा भगाउनु पथ्र्यो’ पन्तले भने,‘फोन गरेको १५, २० मिनेटमा नगरप्रहरीको टोली पुगेर सर्पलाई समातेर लगेर गयो।’ उनको कोठाबाट नगरप्रहरीले उद्धार गरेको सर्प कमन करेत रहेको नगर प्रहरी कृष्ण प्रसाद भट्टले बताए। कमन करेत विषालु सर्प हो।

आइतबार बिहान धनगढी उपमहानगरपालिका वडा नं ६ अर्जुन सिंह महतको घरको भैसि गोठमा ब्ल्याक कोभ्रा सर्प पस्यो। भैसिलाई घाँस हाल्न जाँने क्रममा ब्ल्याक कोभ्रा सर्प देखेका थिए। नगरप्रहरीको टोली गएर व्ल्याक कोभ्रा सर्प उद्धार गरेर ल्याएर आयो।

‘भैसि गोठमा सर्प पसेपछि भैसिलाई डस्छ कि भनेर हामी डराएका थियौं’ उनले भने,‘नगर प्रहरीको टोली आएर उद्धार गरेर लग्यो।’ पछिल्ला दुई दिनमा घरभित्र र गोठमा बिषालु सर्प पसेका र नगर प्रहरीले उद्धार गरेको यी दुई उदाहरण मात्र हुन्। धनगढीमा अत्यन्त बिषालु कोभ्रा, करेत लगायतका बिषालु सर्पहरु सर्वसधारणको घर, गोठभित्र पस्ने गरेका छन्। सर्वसधारणको घर भित्र सर्प पस्दा सर्वसधारणलाई ठूलो आपत पर्ने गरेको थियो। घर भित्र, आगन, गोठमा देखिने सर्पलाई स्थानीयले मार्ने गर्थे। कतिपय घाइते अवस्थामा सर्प भाग्ने गर्थे। पछिल्लो एक महिना यता धनगढी उपमहानगरपालिकाले २५ जना नगरप्रहरीलाई सर्पको उद्धार गर्ने तालिम प्रदान गरेर सर्पको उद्धार गर्न शुरु गरेको छ। नगरप्रहरीले सर्प उद्धार गर्न शुरु गरेपछि घर गोठ भित्र सर्प प्रवेश गर्दा सर्वसधारणलाई विगतको जस्तो समस्या हुने गरेको छैन। सर्प देख्ने बित्तिकै मार्ने क्रम रोकिएको छ भने सर्पको सकुशल उद्धार हुने गरेको छ। प्राकृतिक सन्तुलनमा सर्पले महत्वपुर्ण भुमिका खेल्ने गरेको छ।

नगरप्रहरीले सर्प समात्ने लठ्ठीले समातेर कालो थैलीमा हालेर ल्याउने गरेको नगर प्रहरी भट्टले बताए। सर्पलाई ढाडमा समात्दा चोट नलाग्ने उनले बताए। समातेको सर्पलाई बन विभागको रोहवरमा जंगलमा लगेर छोडिने गरेको उनले बताए।

धनगढी उपमहानगरपालिकाका २५ जना नगरप्रहरीले सर्पको उद्धार सम्बन्धी तालिम लिएर गत असार ३१ गतेबाट उद्धार गर्न शुरु गरेको थियो। अहिले सम्म नगरप्रहरीले १ सय ५२ सर्पको सर्वसधारणको घर, अगान र गोठबाट उद्धार गरिसकेको छ। सर्वसधारणको घर, गोठ र आगनबाट उद्धार गरिएका मध्य अधिकांश सर्प विषालु भएको पाइएको छ। किङ कोभ्रा ७, कमन कोभ्रा २९, ब्ल्याक कोभ्रा २६ , व्याण्डेट करेत १४, कमन करेत ७, करेत ७, भाईपर ४ वटा गरि ९४ विषालु सर्प समातेको नगर प्रहरी भट्टले बताए। समातिएको मध्य धामन सर्प ४३,  १५ वटा पानी सर्प रहेका छन। यी सर्प विषालु होइनन्।

धनगढी उपमहानगरपालिकामा २५ जना नगरप्रहरी २४ औ घण्टा सर्प लगायतका सर्वसधारणलाई पर्ने विपद्मा उद्धार गर्नका लागी तयारी अवस्थामा रहने गरेको नगर प्रहरीका प्रहरी नायव निरिक्षक कृष्ण बहादुर मल्लले बताए।

विषालु सर्पले टोकेर कैलाली कंचनपुरमा कयौले अकालमै ज्यान गुमाउने गरेका छन। सेती प्रादेशिक अस्पतालमा मात्रै गत आर्थिक वर्षमा ६३ विषालु सर्पले टोकेका व्यक्ती उपचार गर्न आएका थिए। ती मध्ये ७ जनाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका किशोर श्रेष्ठले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत मनोज ऐरले सुदूरपश्चिममा १८ प्रजातीका विषालु सर्प रहेको बताए।

प्रकाशित: ५ भाद्र २०८० १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App