५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

फाइल तस्बिर

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ।कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आज सूचना जारी गरेर सडकमा ढुङ्गा, पहिरो खस्ने र नदी किनारमा धाँजा फाटेर जोखिम हुने भएकाले वर्षायामभर रातको समयमा गलेश्वर–दाना खण्डमा यातायात सञ्चालन नगर्न अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पहिरो र कटानका कारण दुर्घटनाको जोखिम देखिएकाले रातको समयमा यातायात बन्द गरिएको बताए। स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा १० वटा पहिरो छन्।

साउन २० गतेदेखि अवरुद्ध भएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा आज दिउँसोदेखि सिधा यातायात सञ्चालन हुन थालेको छ। रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा सडक माथिबाट पहिरो चलेपछि सिधा यातायात अवरुद्ध बनेको थियो। 

आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो र पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर बैसरी अधेरीखोलामा यातायात सञ्चालन गरिएको जानकारी दिए। सडकदेखि पाखो हुँदै करिब पाँच सय मिटर माथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको उनले बताए।

यसैगरी अन्नपूर्ण गाउँपालिका–३ खामभित्ता र तितर खण्डमा कालीगण्डकीले कटान गरेर धाँजा फाटेको ठाउँमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजनाले जनाएको छ। सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको थियो। 

प्रकाशित: ३१ श्रावण २०८० १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App