१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

यात्रु बोक्दै गाउँपालिकाको टिपर

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले सार्वजनिक यातायातका साधन चल्न छोडेपछि आफ्नै टिपरबाट नागरिकहरुलाई सेवा दिन थालेको छ। 

पश्चिम सुर्खेतका तीन वटा पालिका मध्ये चौकुने सबैभन्दा दुर्गम हो। चौकुने गाउँपालिकाको केन्द्र गुटुसम्म पनि ४२ दिनयता सार्वजनिक यातायातका साधन चलेका छैनन्।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–८ को बड्डीचौरदेखि चौकुने गाउँपालिका–४ बल्देसम्म तीन खण्डमा कालोपत्रेका लागि टेन्डर भएको छ। बड्डीचौरदेखि खम्बागाडेसम्मको साढे १६ किलोमिटर खण्ड कर्णाली प्रदेश सरकारले कालोपत्रेका लागि ठेक्का लगाइसकेको छ भने खम्बागाडेदेखि पञ्चपुरी–९ विद्यापुरसम्म र विद्यापुरदेखि चौकुने–४ बल्देसम्मका दुई खण्डमा मदन भण्डारी राजमार्गले काम गरिरहेको छ।

सडक निर्माणका क्रममा रहेकाले पानी पर्ने बित्तिकै पश्चिममा यातायातका साधन चलाउने हम्मे हुन्छ। सुर्खेतका यातायात व्यवसायीले पश्चिम सुर्खेतका नागरिकहरुलाई यातायातका साधन नचलाएर दुःख दिएको भन्दै गाउँपालिकाले आफूसँग भएका टिपरमार्फत यात्रुहरुलाई निःशुल्क बोक्न थालेको हो। 

गाउँपालिका अध्यक्ष खड्ग विकले सार्वजनिक सवारी नचल्दा नागरिकहरुले सास्ती भोग्न थालेपछि टिपरमार्फत सेवा दिन थालिएको बताए।

‘टिपरमार्फत लगामबाट प्रदेश राजधानी वीरेन्द्रनगर र त्यहाँबाट लगामसम्म सेवा दिन सुरु गरेका छौं,’ उनले भने, ‘यो फाइदा मात्रै खाने सार्वजनिक सेवाका यातायात संघ र व्यवसायीविरुद्धको आन्दोलन पनि हो।’

उनले निरन्तर पानी परेको बेलाबाहेक अरु बेला यात्रु बहाक र माल बहाक गाडी, ट्रक लगायतका साधनहरू पश्चिमको लगामसम्म निर्बाध चल्न सक्ने बताए। उनले सार्वजनिक यातायातका साधन नचलेपछि निजी बोलेरो गाडीहरुले महँगो भाडा लिएर मनोमानी गरिरहेकाले पनि टिपर चलाउनु परेको बताए। 

‘हामीसँग टिपर छन्, त्यहीँ भएर टिपरमै भएपनि जोखिमपूर्ण निःशुल्क यात्रा गराइरहेका छौं,’ उनले भने, ‘४२ दिनसम्म यातायातका साधन नचल्दा पश्चिमका जनताले कति सास्ती भोगे होलान्, आफै विचार गर्न सक्नुहुन्छ।’

उनले चौकेने गाउँपालिकासँग टिपर, एक्स्काभेटर लगायतका साधन रहेको बताए। ‘यदि कुनै कारणले बाटो बिग्रिएमा हामी निःशुल्क बनाउँछौं पनि भनेका छौं,’ उनले भने, ‘पटक–पटक यातायात व्यवसायी र तिनका संस्थाहरुसँग छलफल गर्दा पनि सार्वजनिक यातायातका साधन नलाउन आनाकानी गरेकाले बाध्य भएर टिपर चलाउने निर्णयमा पुगेका हौं ’

उनले यातायातका साधन नचल्दा बिरामी, गर्भवती र ज्येष्ठ नागरिकहरुलाई अझ धेरै सास्ती भएको बताए। पालिकाकै टिपर भएकाले तेल हालेर निःशुल्क सेवा दिइएको उनको भनाई छ।

चौकुनेबाट शनिबार बिहान यात्रु बोकेका दुई टिपर वीरेन्द्रनगरतर्फ आउँदैछ उक्त टिपरमा १२ दिनदेखि बिरामी रहेकी चौकुनेकी १०० वर्षीया बुद्धिसरा सलामी पनि यात्रा गरिरहेकी छन्।

‘गाडीको बाटो कुर्न लागेको १२ दिन भयो, गाडी आएन्,’ उनले भनिन्, ‘गाउँपालिकाको टिपर सुर्खेत (वीरेन्द्रनगर) जान लागेको थाहा पाएपछि यसैमा चढेकी हुँ।’ 

दुई वटा टिपरमा पालिका अध्यक्ष विक र तीन जना वडाध्यक्षसहित ६० जना यात्रु छन्। चौकुने गाउँपालिकाको केन्द्र गुटुदेखि वीरेन्द्रनगरसम्मको दूरी ५५ किलोमिटर हो। लगाम–बेतान पुग्न गुटुबाट थप त्यतिनै समय लाग्छ। चौकुने गाउँपालिकाले ‘संयुक्त यातायातको ज्यादतीविरुद्ध चौकुने गाउँपालिका’ लेखिएको ब्यानर टिपरमा टाँसेको छ।

आइतबार छलफल

पश्चिम सुर्खेतमा नियमित यातायातका साधन चलाउने विषयमा प्रमुख जिल्ला अधिकारीले आइतबार सरोकारवालालाई बोलाएका छन्। 

गाउँपालिकाले नै यात्रुहरुलाई टिपरमा राखेर सेवा दिन थालेपछि तथा लामो समयदेखि पश्चिम सुर्खेतमा यातायातका साधन नचलेपछि समन्वयमा लागि जिल्ला समन्वय समितिको पहलमा बैठक राखिएको हो। जिल्ला समन्वय अधिकारी मेघनाथ सापकोटाले सरोकारवालाहरुलाई आइतबार बैठकमा बोलाइएको बताए। 

‘पश्चिमका तीन वटै नगरपालिका र गाउँपालिकाका प्रमुखहरु, यातायात व्यवसायी, सरोकारवाला अन्य व्यक्तिहरुलाई हामीले निमन्त्रणा गरेका छौं,’ उनले भने, ‘उक्त छलफलबाट पश्चिममा देखिएको अहिलेको समस्याको समाधान निस्कने अपेक्षा गरिएको छ।’

प्रकाशित: २० श्रावण २०८० १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App