३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सूर्याेदयको विकासमा योगदान गर्ने व्यक्ति र संस्था पुरस्कृत

२०७९ सालको एसइई परीक्षामा नगरबाट सर्वोत्कृष्ट नतिजा ल्याउने पञ्चकन्या आवासीय विद्यालयकी छात्रा सम्पदा ढकाललाई पुरस्कृत गरिँदै। तस्बिर: भीम/नागरिक <br>

सूर्योदय नगरपालिकाले नगरमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने २८ व्यक्ति र संस्थालाई सम्मान तथा पुरस्कृत गरेको छ। नगरले १३औं नगर सभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिककरण समारोहमा उनीहरूलाई सम्मान र पुरस्कृत गरिएको हो। 

नगरले साहित्यकार, संगीतकार तथा गायक गणेश रसिक, संगीतकार–गायक कुबेर राई, फिक्कल नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगा महत, भवानी आधारभूत विद्यालयकी प्रअ रचना राई, रग्बी खेलाडी विशाखा राई, क्रियाशील ज्येष्ठ नागरिक ९४ वर्षे आरबी लिम्बू, उद्यमीद्वय रमिला राई र पूजा राई, सल्लेरी टोल विकास संस्था, करदाता रूपादेवी गुरुङ र संस्थागत विद्यालय नर्वदा कल्याण बोर्डिङलाई पुरस्कृत गरेको छ। 

यस्तै, पत्रकारिताको क्षेत्रमा योगदान गर्ने पत्रकार प्रेम अधिकारी, २०७९ सालको एसइई परीक्षामा नगरबाट सर्वोत्कृष्ट नतिजा ल्याउने पञ्चकन्या आवासीय विद्यालयका छात्राद्वय सम्पदा ढकाल र सामना गड्तौला, छात्रतर्फ उत्कृष्ट नतिजा ल्याउने कृष्णाश्रम माविका पवन श्रेष्ठ र उत्कृष्ट शिक्षक ज्ञानोदय माविका सुशील पौडेललगायत व्यक्ति र विभिन्न संघ–संस्थालाई पुरस्कृत गरिएको हो। फिक्कलमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पुरस्कृतलाई दोसल्ला र प्रशंसा पत्र प्रदान गरे। 

नगरले चालु आर्थिक वर्षका लागि १ अर्ब २६ करोड रुपैयाँको आय–व्यय सार्वजनिक गरेको छ। यो बजेट, नीति र कार्यक्रममा नगरले गाई–गोरुमा देखिएको लम्पी स्किन रोगले पशुधन क्षति भएका किसानलाई राहत र विशेष कार्यक्रम ल्याएको छ। मेयर रणबहादुर राईले लम्पी स्किन रोगले पशुधन नष्ट हुँदा किसानलाई ठूलो नोक्सान भएकाले राहत प्रदान गर्न लागिएको बताए। उनले नगरको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, खेलकुदलगायत क्षेत्रको विकास गरी नगरलाई समृद्धिपथमा अघि बढाउन प्रयास गरेको जानकारी दिए।

प्रकाशित: १५ श्रावण २०८० १५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App