२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोको उच्च जोखिममा रहेका गाउँमा १५ वटा अस्थायी घर बने

पहिरोको उच्च जोखिममा रहेका परिवारलाई अस्थायी एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने अभियानमा जुटेको मैवाखोला गाउँपालिकाले अभियानको तेस्रो दिन सम्म १५ वटा घर बनाई सकेको जनाएको छ । 

गाउँपालिकाले पहिरो प्रभावित मैवाखोला गाउँपालिका वडा नं ४ ओदक क्षेत्रका ६१ र अन्य क्षेत्रका ३ गरी ६४ घर परिवारलाई अस्थायी एकिकृत बस्तीमा स्थानान्तरण गर्ने योजना बनाएको छ । सोही अनुसार मैवाखोला गाउँपालिका वडा नं ३ स्थित अधुरो रहेको मदन भण्डारी रंगशालामा अस्थायी एकिकृत बस्तीका लागि अस्थायी घरहरू निर्माण भइरहेका छन् । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले अस्थायी एकिकृत बस्ती निर्माणको काम तीव्र गतिमा भइरहेको भन्दै पालिका भित्र गठित सबै टोल विकास संस्थामा आवद्ध सदस्यहरूलाई श्रम शिविरमा सहभागी हुन आवह्वान गरेका छन् । 

उनले टोल विकास संस्थामा आवद्ध सदस्यहरूले जनश्रमदानमा सहभागी हुँदाका बखत सम्बन्धित वडाका वडाध्यक्षस‌ग समन्वय गर्न आग्रह समेत गरेका छन् । मनसुन समय कायम रहेको र ओदक क्षेत्रका घरहरू पहिरोका कारण उच्च जोखिममा रहेकोले तत्कालका लागि एकिकृत बस्ती बनाई सुरक्षित स्थानान्तरण गर्नुपर्ने सर्वपक्षीय निष्कर्षका आधारमा पालिकाले एकिकृत बस्ती बनाउने कार्य सुरु गरेको हो । पालिका अध्यक्ष वनेमले अस्थायी एकिकृत बस्तीलाई दीर्घकालीन रुपमा स्थानान्तरण गरी जोखिम प्रभावित घरपरिवारलाई थप स्थानान्तरण गरिने जानकारी दिए । 

गत असार २ गते राति आएको पहिरोका कारण ओदक क्षेत्रका घर तथा बस्तीहरू उच्च जोखिममा छन् । गाउँपालिकाले अस्थायी एकिकृत बस्तीका निर्माणमा स्थानीय कच्चा पदार्थको प्रयोग गरिरहेको छ । पालिका अध्यक्ष वनेमका अनुसार एउटा घर बनाउन कम्तीमा १ लाख ५० हजार रुपैयाँ खर्च हुने लागत अनुमान गरिएको छ । सोही अनुसार ६४ वटा अस्थायी घर बनाउन झन्डै १ करोड रुपैयाँ हाराहारी खर्च हुने छ। 

प्रकाशित: १४ श्रावण २०८० ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App