४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

किसानका दुःख- मकैबालीमा दिनभरी बाँदर, रातभरी बँदेल

अहिले गाउँघरका खेतबारी मकैले ढपक्क ढाकेको छ। धान चमार फुल्ने र घोंगा हाल्ने बेलामा बँदेल र बाँदर बालीमा पसेर नोक्सानी गर्न थालेपछी किसानहरु निरास् छन्।  

किसानहरुको खेतबारीमै बास छ। अन्नबाली जोगाउन अनेक उपाय अपनाएपनि जनावरले छक्याएर अन्नबालीमा क्षती पुर्याईरहेका छन्। पालैपालो बारीमा बस्दा समेत बाँदरबाट मकै जोगाउन नसकेपछि किसान हैरान भएका छन्।  

‘दिनभरी बाँदर लखेट्छौं, रातभरी बँदेल धपाउँछौं, भुमिकास्थान–९ का ईन्दु पोख्रेल भन्छिन्,‘चौबिसै घन्टा पहरेदारी गर्दापनि कता बाट आउँछ अनि सोत्तर बनाएर जान्छ थाहा नै हुन्न।’ मकै जोगाउन बिहानै झिसमिसेबाट खेतबारीमा पुग्ने किसान बेलुका नहुञ्जेलसम्म बाली कुरेर बस्ने गर्छन्। अन्नपात लगाउन र हुर्काउन जस्तै बाँदर र बँदेलबाट जोगाउन सास्ती भएको किसान बताउँछन्।

जिल्लाको भुमिकास्थान नगरपालिकाको ढिकुरा, धनचौर, नुवाकोट सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाँडा, वाङला, डिभर्ना, खाँचीकोट शीतगङ्गा नगरपालिकाका सबै गाउँ, पाणिनि गाउँपालिकाको धातिबाङ, अड्गुरी, पाली, मालारानी गाँउपालिका र छत्रदेव गाउँपालिकाका प्रायजसो गाउँहरुमा जनावरले किसानका अन्नबालीमा क्षती पुर्याएको छ।

‘बाँदरको हुल बारीमा पस्यो भने छिनभरमा मकै सखाप पार्छ,‘दिनभरी जोगायो रातभर बँदेलको डर छ। यो ठुलो समस्या देखिएको छ  मानिसको नियन्त्रण भन्दा बाहिर जान थालेको छ। अन्नबाली संगै मानिसमाथी नै आक्रमणको सम्भावना छ। स्थानिय सरकारले छिटै उपायहरु खोज्नुपर्छ।’ सन्धिखर्क–२ का शालिक पोख्रेलले भने।  

हुलका हुल आउने बाँदरको बथानले मानिस र कुकुरलाई समेत टेर्न छोडेका छन्। एक्लोदुक्लो मान्छे देख्दा फरक नपर्ने बाँदरले खेतबारीमा फल्दै गरेका बाली मात्र नभएर मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गरिदिने, भाँडाकुँडा लिएर हिंड्ने गरेको छ। बाँदर दिँउसोमा आउने भएकाले गाउँका सबै मिलेर लखेटेपनि रातीमा आउने बँदेल नियन्त्रण गर्न सकस छ। बत्ती बालेर, साउन्ड सिस्टम बजाएर छोड्दा पनि अहिले बँदेल डराउँदैन । शितगंगा र भुमिकास्थानका अन्नबालीमा बढी बँदेलले क्षती पुर्याएको छ।  

स्थानिय सरकारले सुरुसुरुमा जनावरबाट अन्नबाली जोगाउन हेरालुको व्यवस्था सम्म गरे। सुरुमा केही प्रभावकारी देखिएपनि पछी त्यसको औचित्य समाप्त हुँदै गयो। अहिले जिल्लाका स्थानिय तहहरु, जिल्ला समन्वय समिति, कृषी ज्ञान केन्द्र, जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवाला निकाय मकैबाली जोगाउने उपाय खोजिरहेका छन्। विभिन्न प्रयासहरु विफल भएपछी नयाँ उपायहरुको खोजीमा जुटेका छन्।  

समयमा नियन्त्रणका उपायहरु नखोजिंदा तथा स्थानिय सरकारले बेलैमा ध्यान नपुर्याउँदा किसानको मेहनत खेर जाने अवस्थामा छ। बाँदर र बँदेलकै समस्याका कारण कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन्।

प्रकाशित: १३ श्रावण २०८० ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App