३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

राष्ट्रिय धान दिवसमा रोपाइँ महोत्सव

कपिलवस्तुको मायादेवी गाउँपालिका–१ सेम्रौटीमा मेसिनद्वारा धान रोपिँदै ।तस्बिरः किरणमान-नागरिक

२०औं राष्ट्रिय धान दिवसका अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा रोपाइँ महोत्सव गरिएको छ। कृषि ज्ञान केन्द्र, धान सुपर जोन कपिलवस्तु, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले दिवसका अवसरमा रोपाइँ महोत्सव गरेका हुन्। सो अवसरमा खेतमा धान रोपाइँपछि दहीचिउरा खुवाएर खाजा खुवाइएको थियो।  

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’भन्ने नाराका साथ धान दिवस मनाइएको थियो। मायादेवी गाउँपालिका र लिडो संस्थाको संयुक्त आयोजनामा वडा नम्बर १ सेम्रौटीमा जिल्ला समन्वय प्रमुख बाबुराम आचार्य, प्रजिअ शंकरहरि आचार्य, गाउँपालिका प्रमुख वलीउद्दीन मुसलमान, कृषि ज्ञान केन्द्रका प्रमुख रवीन्द्र चौबे, प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादव, जिल्ला सुरक्षा प्रमुखहरूको सहभागितामा रोपाइँ महोत्सव गरिएको थियो। धान रोपेर कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुार्यले खाद्यान्नमा परनिर्भरता बढदै गएको प्रति चिन्ता व्यक्त गरे। देशको श्रमशक्ति बिदेसिएका र मल सिँचाइको असुविधाले धानलगायत अन्नबालीको उत्पादनमा ह्रास आउँदै गएकाले बेलैमा सचेत हुनुपर्ने उनले बताए। परम्परागत खेतीलाई त्यागेर आधुनिक तरिकाबाट खेती गरेर उत्पादन बढाउनु पर्ने बताए। निर्वाहमुखी र परम्परागत खेतीलाई विस्थापित गरी उपकरणहरूको प्रयोग बढाउन जरुरी रहेको भन्दै ज्ञान केन्द्रका प्रमुख रवीन्द्र चौबेले भने, ‘अपार अन्न भण्डारका रूपमा रहेका जिल्लाको प्रमुख बालीका रूपमा रहेको धान खेतीको स्तर अझ माथि उठाउनुपर्ने देखिन्छ। त्यसका लागि प्रविधिको प्रयोग बढाउँदै लागतमा कमी ल्याउनु पर्छ।’जमिनदारी प्रथाको अन्त्य गर्दै सोचमा समेत परिवर्तन हुनुपर्ने उनको भनाइ छ। उनले धान बाली कपिलवस्तुको प्रमुख बाली रहेको भन्दै जिल्लामा ७५ हजार मेट्रिक टन धान बचत हुने गरेको उनले बताए। कृषकहरूले सहभागी अतिथि सबैलाई दहीचिउरा खुवाएर स्वागत गरेका थिए।  

कार्यक्रमले कृषकहरूमा उत्साह थपे पनि सिँचाइ, उन्नबिउ, मललगातयको समस्याले आफूहरूलाई सधैं पिरोलिरहने कृषक राघवेन्द्र चौबेले गुनासो गरे, ‘मल सिँचाइको सुविधा नहुँदा सधैं आकाशको पानीको भर पर्दैै आएका छौं, खेतीमा आधुनिकीकरण भएको छैन। मलबिउको सधैं समस्या हुन्छ,’ उनले भने, ‘कृषि र कृषकको नारा घन्काइए पनि दिगो विकासका लागि भने कसैले चासो दिएका छैनन्। देशकै ६५ प्रतिशत परिवार कृषि पेसामा लागेको तथा कुल ग्रर्हस्थ्य उत्पादनको ३५ प्रतिशत हिस्सा रहेको कृषि क्षेत्र भने सधैं उपेक्षित रहेको कृषहरूको गुनासो छ। तराई जिल्लाको शान र अन्नबालीको २० प्रतिशत हिस्सा ओगटेको धान बालीका लागि स्थिति सुधार हुन नसक्दा क्रमशः उत्पादन घट्दै जाँदा १० वर्ष अघिसम्म निर्यात गरिने देशमा अहिले भने निर्यात बढदै गएको छ। सुक्खापन, लगानी अनुसारको मूल्य नपाएकाले क्रमशः धानको उत्पादनसमेत बढदै गएको छ। विभिन्न समस्याका कारण धान उत्पादनमा खासै वृद्धि हुन नसकेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविद् शिवपुजन गुप्ताले बताए। ‘आधुनिक प्रविधि, उन्नत बिउ, मल, सिँचाइ सुविधा नबढाईकन उत्पादन बढदैन,्’ उनले भने, ‘निर्वाहमुखी नभई व्यावासयिक खेती गर्न कृषकलाई प्रोत्साहित गर्नुपर्छ।’  

मल र सिँचाइ अभावबिच कपिलवस्तुमा १५ प्रतिशत रोपाइँ  

उता कृषकहरूले मलखादको अभावबिच रोपाइँ सुरु गरेका छन्। ज्ञान केन्द्रका अनुसार मध्य असारमा जिल्लामा १५ प्रतिकश बढी रोपाइँ भएको छ। यस वर्ष सिँचाइ अभाव र मलखादको चरम अभाव रहेको कृषकहरू बताउँछन्। स्थानीय कृषकले बिउ र मलको अभावबिच बल्लतल्ल रोपाइँ गरेको बताए। ‘मलखाद र उन्नत बिउ दिने सरकारको नारा अहिलेसम्म पूरा भएको छैन,’ उनले भने। सहुलियतको सरकारी मल त कृषि सहकारीको हातमा मात्र जाने गरेको उनले गुनासो गरे। जिल्लामा ७१ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ। जसबाट सवा २ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। जिल्लामा राधा चार, सावित्री, सावा, मन्सुली, काला नमकलगायत प्रजातिका धान लगाइन्छ।

प्रकाशित: १६ असार २०८० ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App