दुई महिनाअघि जेल मुक्त भएका रमेश बाहुन भनिने सुजन पौडेलले आफ्नो नाम लिएर जो कोहीले गर्ने राम्रो नराम्रो कामको भागिदार उ आफै हुनुपर्ने बताएका छन्।
मंगलबार नागरिक दैनिकसँग कुराकानी गदै उनले जेलमुक्त भएपछि आफू समाजसेवामा लागेको र पहिला जेजस्तो अवस्था भए पनि अब चाहि पुराना कुराहरू बिर्सेर नयाँ जीवनमा फर्केकाले आफ्नो नाम जोडेर अरूले गर्ने कामको जिम्मेवार आफू नहुने बताएका हुन्।
केन्द्रीय कारागारभित्र आफ्नो सञ्जालमार्फत कैदी बन्दी सरुवा र चौकीदार नियुक्तिमा आफ्नो रुचि नभएको र सरुवा गर्ने काम जेल प्रशासनकै भएकाले आफ्नो कुनै सम्बन्ध नभएको दावी गरेका छन्।
‘१० वर्ष लामो सजाय भोगेर बाहिर आएको छु, म अब सार्वजनिक जीवन बिताउन चाहन्छु मलाई पुरानो कामतिर फर्केर हेर्नु छैन, अब सामाजिक काममा लाग्नुछ’, उनले भने। लामो समय कैद सजाय भुक्तान गरेर उनी वैशाख ८ गते केन्द्रीय कारागार सुन्धाराबाट मुक्त भएका थिए। उनी जेलमुक्त भए पनि जेलमा निकट भएर बसेका कैदीहरूलाई चौकीदार, नाइके, भाइ नाइके नियुक्ति गर्न कैदी बन्दी मार्फत नै दबाब दिएको समाचार प्रकाशित भएपछि आफूले त्यस्तो काम नगरेको र गर्न पनि नचाहेको तथा आफ्नो नाममा कसैले दुरुपयोग गरेको हुनसक्ने बताए। ‘कतै जेल प्रशासनका कर्मचारीहरूले मेरो नाम दुरुपयोग गरेका हुन कि ? उनीहरूलाई बाहिर विभिन्न आरोप लागेको छ भन्ने सुनियो, त्यस कारण उनीहरुले जेलको आन्तरिक प्रशासनसँग मलाई जोडेपछि पार पाइन्छ भनेर मलाई फोन गरेको कुरा जोडेका हुन कि भन्ने शंका छ’, उनले जेल प्रशासनतिर आशंका गरे।
पौडेलको नाम लिएर जेलमा रहेका नहकुल तामाङ, शेरबहादुर बस्नेत र विष्णु पाण्डेलाई चौकीदार, नाइके, भाइ नाइके बनाउनुपर्ने माग जेलभित्रबाट उठाउन थालिएपछि जेल प्रशासनले उनीहरूलाई भद्र बन्दी गृहमा सरुवा गरेको थियो । जेलबाट आफूलाई फोन आउने गरेको भने उनले स्वीकार गरेका छन्। ‘लामो समय जेल बसे त्यहाँ मेरा साथीहरू बने उनीहरुले कहिलेकाही फोन गर्नु स्वाभाविक हो’, पौडेलले भने।
पौडेलको नाम लिएर जेलमा रहेका तामाङ मानव बेचबिखन तथा ओसार पसारको मुद्धामा सजाय भोगिरहेका छन्। त्यस्तै बस्नेत लागूपदार्थ कारोबार र पाण्डे अपहरण तथा शरीर बन्धकको मुद्धामा सजाय काटिरहेका छन्। स्रोतका अनुसार उनीहरुले जेल भित्र रहेका कैदी बन्दीहरूको मुद्धा मिलाइदिने, रमेश बाहुन मार्फत विभिन्न नेताहरुलाई भनेर जेल सजाय कम गरिदिने, छुटाई दिने भन्दै पैसा उठाएको आरोपमा उनीहरूलाई जेल प्रशासनले काठमाडौबाहिर सरुवा गर्न खोजे पनि नसकेपछि भद्र बन्दी गृहमा सरुवा गरेको थियो। पौडेलले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै अबदेखि सामाजिक जीवन बाँच्न चाहेको बताएका छन्।
प्रकाशित: १२ असार २०८० १२:३२ मंगलबार