२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ज्येष्ठ नागरिक अनुभव र ज्ञानको खानी हुन्

ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पोखरामा मनाईएको छ। ज्येष्ठ नागरिकहरु अनुभव र ज्ञानको खानी भएको वक्ताहरुले बताए। गण्डकी प्रदेश ज्येष्ठ नागरिक संघको आयोजना तथा पोखरा वृद्धाश्रमको सह–आयोजनामा विहीबार ‘सचेतना कार्यक्रम’ गरेर ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईएको हो।

कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले ज्येष्ठ नागरिकलाई सम्मान र मायाको खाँचो रहेको बताईन्। विदेशमा भन्दा नेपालमा ज्येष्ठ नागरिकलाई सम्मान र माया दिइने गरेको बताउँदै उनले भनिन्, ‘विदेशमा ज्येष्ठ नागरिकले नाती नातिना हेर्दैनन्। अनि नाती नातिनाले पनि हजुर बा, हजुर आमालाई वास्ता गर्दैनन् तर नेपालमा हजुर बा, हजुर आमाले बच्चा स्याहार्छन । अनि बच्चाले पनि हजुर बा, हजुर आमालाई आदर र सम्मान गर्छन्।’  

विदेशको प्रभाव नेपाली समाजमा देखिदा ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने क्रम बढेको उनको भनाई छ। उनले संयुक्त परिवार सबै हिसाबले राम्रो भएको बताईन्। संयुक्त परिवारमा एकले अर्कोलाई सघाउनुपर्ने दायित्व हुने बताउँदै उनले भनिन्, ‘अहिलेका छोराबुहारी व्यस्त हुन्छन् त्यसैले ज्येष्ठ नागरिकले पनि उनीहरुको व्यस्तता बुझिदिनुपर्छ, अनि छोरा बुहारीले पनि ज्येष्ठ नागरिकलाई आदर, सम्मान र माया दिनुपर्छ।’

नेपाल मानव अधिकार आयोग प्रदेश कार्यालय पोखराका अधिकृत टंक खनालले ज्येष्ठ नागरिकहरुमाथि हुने दुव्र्यवहार र हिंसा हटाउन सचेतना आवश्यक रहेको बताए। ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुव्र्यवहार सहन पनि नहुने र टुलुटुलु हेरेर पनि बस्न नमिल्ने भन्दै उनले भने, ‘उमेरले बुढ्यौली लागेपनि ज्येष्ठ नागरिकहरु अनुभव र ज्ञानको खानी हुन्। उनीहरुलाई सम्मान र माया दिएर त्यो अनुभव र ज्ञानको सदूपयोग परिवार, समाज र राष्ट्रले गर्नुपर्छ। तर उहाँहरु बिरुद्ध हुने दुव्र्यवहार र हिंसा सह्य हुँदैन।’

गण्डकी प्रदेश ज्येष्ठ नागरिक संघका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकप्रति दुव्र्यवहार र हिंसा बढ्दो क्रममा रहेको बताए। त्यसको रोकथामका लागि ऐन, कानून र नियमावली बनेपनि कार्यान्वयन चित्तबुझ्दो नभएको उनको गुनासो छ।

गण्डकी प्रदेश ज्येष्ठ नागरिक संघका उपाध्यक्ष अमर शर्मा उपाध्यायले ज्येष्ठ नागरिकप्रति हुने हेपाईं र हिंसा निरुत्साहित गर्नुपर्ने बताए। ‘ज्येष्ठ नागरिकलाई किन र कसरी सम्मान गर्ने? यो कुरा सिकाउन जरुरी छ । यसबारे विद्यालय स्तरदेखि कलेजसम्मै कोर्ष राखेर सिकाउनुपर्ने आवश्यकता छ,’ उनले भने।

सामाजिक अभियन्ता विकल तुलाचनले सचेत व्यक्तिले मात्र दयाभाव राख्ने भएकाले ज्येष्ठ नागरिकप्रति गर्ने व्यवहारबारे सर्वसाधारणलाई सचेत बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: ३२ जेष्ठ २०८० १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App