२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

चुरे राष्ट्रिय वनमै उत्खनन

जमदह (सिरहा)- संरक्षित चुरे क्षेत्रमा जारी दोहन स्थानीयले रोकेपछि माफियाले चुरे राष्ट्रिय वनमा पसेका छन्। उनीहरुले वन खोस्रने कार्य तीव्र पारेका छन्। जमदह–४ चोरपानेस्थित चुरे राष्ट्रिय वनबाट ढुंगा उत्खनन र निकासी भइरहे पनि वनकर्मी रमिते बनेका छन्।

माफियाले चुरे राष्ट्रिय वनको खोल्सीबाट ढुंगा उत्खनन गरी ट्र्याक्टर र टिपरमार्फत निकासी गरिरहेका छन्।

ढुंगा माफियाले चुरे राष्ट्रिय वनको खोल्सीबाट ढुंगा उत्खनन गरी ट्र्याक्टर र टिपरमार्फत निकासी गरिरहेका छन्। वनसम्म टिपर र ट्र्याक्टर लग्न जेसिबी प्रयोग गरी बाटोसमेत निर्माण गरिएको छ। वनकै ढुंगा र ग्राभेल उत्खनन गरी बाटो निर्माण गरिएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दैनिक करिब ५० ट्र्याक्टर ढुंगा यो वनबाट निकासी भइरहेको छ। दैनिक यहाँबाट १ सय ५० देखि दुई सय घनमिटर ढुंगा उत्खनन र निकासी भइरहेको स्थानीय बताउँछन्। करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको यो राष्ट्रिय वनबाट गैरकानुनी रुपमा ढुंगा उत्खनन र निकासी भइरहेको जिल्ला वन अधिकृत शिलानाथ झा बताउँछन्। तर, यो कार्य रोक्न वन कार्यालय उदासीन देखिएको छ। वनले प्रहरी प्रशासन र प्रहरी प्रशासनले वनलाई जिम्मेवारी पन्छाउँदै नियन्त्रणमा बेवास्ता गर्दा माफियाको रजाइँ भएको सामुदायिक वन उपभोक्ता महासंघ सिरहाका अध्यक्ष दिलिपकुमार लामाको गुनासो छ। राष्ट्रिय वनमा भइरहेको दोहन नियन्त्रण गर्नुको साटो वन कर्मचारीले सुरक्षा निकायलाई दोष पन्छाएर माफियालाई बल पुर्‍याइरहेको स्थानीयको गुनासो छ।

 यो क्षेत्रको वनपैदावार चोरी निकासी रोक्न इलाका वन कार्यालय जमदहमा सहायक वन अधिकृतको कमान्डमा पाँचजना वनपाले छन्। गोलबजार नगरपालिकाको पानीट्यांकीनजिक रहेको यो कार्यालयका सहायक वन अधिकृत सुरेश सिंहसमेत चुरेमा भइरहेको दोहनबारे जानकार छन्। गोलबजारदेखि चोरपानेसम्म बाटोको दुवैतर्फ चुरे खोस्रेर ल्याइएका ढुंगा भण्डारण गरिएको उनी आफैं बताउँछन्। उनी भन्छन्, ‘नियन्त्रण गर्न म जाने होइन, स्टाफ जान्छन्।’ उनले थपे, ‘गएको बेला फेला पर्दैन, उत्खनन गरेको बेला स्टाफ पठाउन सकिँदैन।’

चुरेबाट गैरकानुनी रुपमा उत्खनन गरिएको ढुंगा भण्डारण पनि संरक्षित चुरे क्षेत्रमै गरिएको छ। संरक्षित क्षेत्रमा भण्डारण गर्न ऐनले निषेध गरेको छ।

दैनिक ठूलो परिमाणमा गैरकानुनी रुपमा ढुंगा उत्खनन गरी इलाका वन कार्यालयअगाडिबाटै निकासी हुँदा समेत कारबाही गर्न नसक्नुले वन अधिकारीको ‘मिलेमतो’ रहेको स्थानीयको आशंका छ। चुरे जलाधार संरक्षण समितिका महासचिव देवकुमार मोक्त्कान भन्छन्, ‘दुनियाँले छर्लंग देख्ने गैरकानुनी उत्खनन र निकासी वन अधिकारीले नदेख्नुले मिलेमतो भएको प्रस्ट हुन्छ।’

गैरकानुनी उत्खनन रोक्न दुई साताअगाडि जिल्ला वन अधिकृत झालाई ज्ञापनपत्र बुझाएको मोक्तान बताउँछन्। 'मुखले भन्दा सुनुवाइ नभएपछि लिखित ज्ञापन नै बुझायौं', उनी गुनासो गर्छन्, ‘ज्ञापनमाथि पनि सुनुवाइ नभएपछि जनताले के बुझ्ने?'

जिल्ला वन अधिकृत झाले राष्ट्रिय वनमा भइरहेको दोहन तत्काल रोक्नुपर्नेमा सम्बन्धित इलाका वनलाई दोहनका कारण भएको क्षति मूल्यांकन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए। झाले नागरिकसँग भने, ‘इलाका वन कार्यालय जमदहलाई उक्त वनमा दोहनका कारण भएको क्षतिको प्रतिवेदन बुझाउन भनेको छु।’

 यता, जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाका अनुसार जिल्ला वन कार्यालयललाई चाहिएका बेला प्रहरी सहयोग उपलब्ध गराउन तयार रहेको बताए। प्रक्रिया पुर्‍याएर प्रहरीको सहयोग मागे जति बेला पनि उपलब्ध गराउन तयार रहेको कोइरालाको भनाइ छ।

जिल्ला समन्वय समितिका संयोजक सुरेश राउतले खोलानदी ठेक्का सम्झौतामा चुरे क्षेत्रमा प्रवेश नगर्ने प्रस्ट उल्लेख गरेको बताए।

संरक्षित चुरे क्षेत्रको चन्द्रोदयपुर र मुक्सार क्षेत्रमा ढुंगा उत्खनन र निकासी रोक्न स्थानीय बासिन्दा प्रतिकारमा उत्रेपछि माफिया राष्ट्रिय वन क्षेत्रमा पसेको मुक्सारका भेषबहादुर ठकुरी बताउँछन्। वन, प्रशासन र प्रहरीको असहयोग हुँदा पनि स्थानीय संरक्षित क्षेत्रको दोहन रोक्न सफल भए', उनी भन्छन्, ‘अहिले राष्ट्रिय वनमै उत्खनन हुँदा पनि वन र प्रशासनले रोक्न नसक्नु विडम्बना हो।’

चुरे विनाशको बितन्डा

एकताका पोखरी थियो हरकट्टी–१ स्थित बन्जर चौर। यही पोखरीको डिलमा निर्माण गरिएको थियो शिव मन्दिर। करिब एक बिघा क्षेत्रफलमा फैलिएको उत्क पोखरीको अस्तित्व मेटिइसकेको छ। छ त केवल एउटा फराकिलो मरुभूमि।

२०६० सालमा गाउँलाई उत्तरतिरबाट गागन नदीले बढारिदिएपछि पोखरीमात्र नभई धेरै थोक मेटिए। पोखरीको डिलमा रहेको मन्दिर भने बच्यो। स्थानीय रामदेव साहले विगत सम्झँदै भने, ‘त्यो बाढीले गाउँको २ सय ८३ बिघा खेत मरुभूमिकरण गरिदियो। ममात्र होइन, गाउँभरिका धेरै मानिस एकसाथ बर्बाद भयौं।' उनले थपे, '२०६० अगाडिसम्म सोझो बग्ने नदी हेर्दाहेर्दै नागबेली परेर बग्न थाल्यो। दैवको प्रकोप भनेर चित बुझायौं। तर पछि बुझ्दै जाँदा त्यो त मानवीय बदमासीको परिमाण पो रहेछ।'

 उत्तरमा रहेको चुरे मूलको गागन खोला अचानक बौलाएर विपत् आएको उनले बताए। 'चुरेमा भएको अनियन्त्रित उत्खनन दक्षिणका हाम्रो बर्बादीको कारण बन्यो', उनले भने। उनका अनुसार चुरेमा बढ्दो विनाशलीलाका कारण भावर क्षेत्रको जमिनले पानी सोस्न छाडेको छ। यस्तो अवस्थामा वर्षामा बढ्ने भेलले बालुवा बोक्दै तल मधेसका खेतमा थुपार्ने क्रम बढ्दै गएको उनले जानकारी दिए। माथि चुरे पूर्ण रूपमा संरक्षित नभएसम्म तल (दक्षिण) यो समस्या रहिरहने उनी सुनाउँछन्।

प्रकाशित: १२ चैत्र २०७३ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App