१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

‘न बाँच्न दिन्छन्, न त मर्न’

न्यायको माग राख्दै माइतीघर मण्डलाको मूल सडकमा अनशनरत बिनु यादव। वैशाख २७ गतेबाट अनशनमा बसेकी उनले न्याय नपाएसम्म यही बस्ने बताएकी छिन् । तस्बिर: उपेन्द्र-नागरिक

न्यायको माग राख्दै माइतीघर मण्डलाको मूल सडकमा उनी अनशन बसेको १३ दिन बितिसक्यो। लामो समयदेखि भोकै बसेका कारण गलेको उनको शरीरमा स्लाइन पानी चढाइएको छ। लमतन्न सुतेकी उनका वरपर केही साथी छन्। प्रेमी र काका ससुराबाट बलात्कार भएको भन्दै आन्दोलित बिनु यादवले आधा घन्टाको पर्खाइपछि बल्ल आँखा खोलिन्।  

‘हेर्नुस् न न मर्न दिन्छन्, न त इज्जतका साथ बाँच्नै पाइयो,’स्लाइन चढाएको हात अलि वर सार्दै उनले भनिन्, ‘न्यायको साथ जिउने रहर कहिले पूरा हुने होला ?’

२०७९ वैशाखमा जिल्ला न्यायाधीशको इजलासले सम्बन्ध विच्छेदको मुद्दा फैसला गरेलगत्तै न्यायधिशकैसामु विष पिएकी उनले न्याय नपाए भोकै मर्ने चेतावनी दिइन्। विगतमा आफ्नै प्रेमी प्रदीप कठायतबाट बलात्कृत भएको बताउने बिनुले बलात्कारबाट जोगिन मात्र उनले विवाहको नाटक गरेको सुनाइन्। आफूलाई धोका दिएको भन्दै बिनु यादवले आफ्ना ‘पूर्वपति’प्रदीप कठायतलाई बलात्कारकै कसुरमा पुनः अनुसन्धान र कारबाही गर्न माग गरेकी छन्।

‘त्यति बेला ज्यान मार्ने धम्की आउँदा पनि मैले सम्बन्ध विच्छेदको लागी मानेकी थिइन्,’एक वर्ष अगाडिको घटना सम्झँदै उनले भनिन्, ‘आफ्नो एक मात्र आशा रहेको अदालतका न्यायाधीशले सम्बन्ध विच्छेदका पक्षमा फैसला सुनाएलगत्तै किन बाँच्ने भनेर न्यायाधीशकैसामु विष पिएको हुँ।’  

इजलासमै विष पिएपछि उनलाई अस्पतालमा लगेर बान्ता गराउनुको साथै तिन साताभन्दा बढी आइसीइयुमा राखेर बचाइएको थियो। ‘बाँच्नु मात्र जीवन होइन रहेछ,’उनले भनिन्, ‘त्यसैले म न्यायसहितको जीवन जिउन चाहन्छु।’  

न्यायपूर्ण जीवनको लागि वैशाख २७ गतेदेखि उनले सर्वोच्च अदालतअगाडि बसेर अनशन सुरु गरेको उनले सुनाइन्। तर त्यस दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि उनले वसन्तपुरमा पुगेर निरन्तरता दिइन्। त्यहाँबाट उनी अहिले माइतीघर मण्डलाम आइपुगेकी सुनाइन्।  

‘यहाँबाट पनि हटाउने प्रयास हुँदैछ,’उनले भनिन्, ‘म न्याय नपाउन्जेल कतै जाने छैन।’गृह मन्त्रालयबाट अनशनको छैटांै दिन र १२आंै दिन गरेर दुईपटक सहसचिव जितेन्द्र बस्नेतलगायतको टोली आएर वार्ता गरे पनि आफू विश्वस्त हुन नसकेको उनले बताइन्।  

‘उहाँहरूलाई मेरो मागको भन्दा पनि अनशन कसरी तोडाउने भन्ने चिन्ता बढिरहेको पाए,’उनले भनिन्, ‘मेरो मागको सम्बोधन नभएसम्म म अनशन तोड्ने पक्षमा छैन।’ डर, घम्की र तनावसहितको सकशपूर्ण जीवन जिउनु निकै कठिन रहेको उनले बताइन्।  

गृह मन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेतले आफूहरू अनशनरत पक्षसँग नियमित सम्पर्कमा रहेको बताउँदै माग सम्बोधन गर्ने प्रयासमा रहेको बताउँछन्। ‘उहाँको टिमसँग मन्त्रालयमा र उहाँसँग अनशनस्थलमै गएर पनि कुराकानी भएको छ,’उनले भने, ‘केही कुरामा उहाँले आफ्नो अडान नछाडेकाले समस्या समाधानमा सहजता हुन सकेको छैन।’आफूहरू निरन्तर संवादमा रहेर समस्या समाधानको पक्षमा रहेको उनले सुनाए।  

बिनुका प्रमुख माग  

न्यायको लागि आन्दोलित बिनु यादवले जसमा प्रमूखउनले तत्कालीन डिएसपी सुरज कार्कीलगायतलाई कारबाहीसहितको ६ बुँदे माग राखेकी छन्। २०७५ सालमा आफूले कालिमाटी प्रहरीमा दिएको जबरजस्ती करणीको उजुरी जबरजस्ती फिर्ता गर्न लगाएको भन्दै डिएसपी कार्की लगायतमाथि अनुसन्धान तथा कारबाही गर्न उनको प्रमुख माग छ।  

अहिले वार्ताका लागि गृह मन्त्रालयबाट पहल भइरहेको भएपनि आफूले न्याय पाउने कुरामा विश्वास नभएको यादव बताउछिन्। ‘सबैभन्दा पहिलो मेरो प्रमुख मागको सम्बोधन हुनुपर्यो,’उनले भनिन्, ‘त्यसपछि मात्र वार्ताका कुरा अगाडि बढ्छ।’  

अहिले अनशनमा बसिरहेकी बिनुले यसअघि पनि न्यायको लागि निकै संघर्ष गरेकी थिइन्। केही समयअगाडि सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनी पक्राउ परेकी थिइन्।

त्यस्तै गत फागुनमा बिनु यादव संघीय संसद् भवनअगाडि पक्राउ परिन्। निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको थियो। ‘मेरो पीडाप्रति ध्यानकर्षण गराउँन मैले जे सके त्यहि गरे,’उनले भनिन्, ‘अहिले राजधानीको सडकमा ‘बाच्नको लागि’भोकै छु।’

घटना विवरण  

सोलुखुम्बुकी बिनु यादवको २०७४ सालतिर काठमाडौं बस्नेक्रममा रामेछापका प्रदीप कठायतसँग भेट भयो। सामान्य चिनजानपछि प्रेम सम्बन्धमा गासिएका उनीहरूको विवाह गर्ने सहमतिमा यौन सम्बन्धसमेत भयो।  

आफू गर्भवती बनेपछि प्रदीपले धम्की दिदै विवाह गर्न इन्कार गरेको बिनुले सुनाइन्। त्यसपछि बिनु २०७५ साल वैशाख महिनामा प्रहरी वृत्त कालीमाटीमा पुगेर प्रेमी प्रदीप कठायतविरुद्ध जबरजस्ती करणीको जाहेरी दिइन्।

प्रहरीमा जबरजस्ती करणीको जाहेरीपछि भने प्रदीपले बिनुलाई श्रीमतीका रूपमा स्वीकार गर्ने र घरमा लगेर राख्ने बचन दिए। उनको विश्वाशमा आफूले पनि मिलापत्र गरी श्रीमान्–श्रीमती नै भएर बस्ने भन्दै जबरजस्ती करणीको जाहेरी फिर्ता लिएको उनले बताइन्।  

२०७६ सालको मंसिरमा मन्दिरमा उनीहरूको औपचारिक विवाहसमेत भयो। तर त्यसपछि आफुमाथि हिंसा हुन थालेको उनले बताइन्। ‘त्यो विवाह त बलात्कारविरुद्ध बाट बच्नको लागि गरिएको नाटकीय विवाह रहेछ,’ उनले भनिन्, ‘त्यही अन्यायको विरुद्धमा मेरो लडाइँ सुरु भएको हो।’ रामेछापमै रहेको समयमा जबरजस्ती गर्भपतन गराउन हातखुट्टा समातेर गर्भपतनको औषधि खुवाइएको उनले सुनाइन्।  

यसक्रममा परिवारका अन्य सदस्यबाट जबरजस्ती करणीको प्रयास समेत भएको उनको आरोप छ। बलात्कार मुद्दाको हदम्याद सकिएपछि प्रदीप कठायतले २०७७ साल असोजमा रामेछाप जिल्ला अदालतमा सम्बन्धबिच्छेको मुद्दा दर्ता गराएको उनले बताइन्।

प्रकाशित: ९ जेष्ठ २०८० ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App