पुनर्वास (कञ्चनपुर)- ज्वरो आएका ७२ वर्षीय बुवा खिमलाल गौतमलाई उपचारका लागि आइबिआरडीको क्लिनिकमा लैजाने योजना थियो गोविन्द गौतमको। भारतीय पक्ष आएर कल्भर्ट भत्काउन लागेको सुन्नेबित्तिकै बिहीबार ९ बजेतिर उनी आफ्नो भूमिको रक्षाका लागि लड्नुपर्छ भन्दै दौडिए। 'मलाई औषधि गर्न लगिदे, त्यहाँ भिडभाडमा नजा भनेर भनेको हुँ', खिमलालले आँखा टलपल पार्दै भने, 'आफ्नो भूमि र सीमा बचाउन हामीले नलडे कसले लडिदिन्छ, लड्न जान्छु भन्दै खाना पनि नखाई भोकभोकै गएको हो।'
बाल्यकालदेखि नै गरिबीविरुद्ध संघर्ष गर्दै आएका गोविन्द गलत कार्यको निर्भीक प्रतिवाद गर्थे।
भारतीय पक्षको ज्यादतीविरुद्ध र आफ्नो भूमिको रक्षाका लागी गोविन्द अग्रपंक्तिमा पुगेर प्रतिकारमा उत्रे। गोविन्द गरिब सुकमवासी परिवारमा जन्मेका हुन्। दुर्गा निमाविमा उनले कक्षा ५ सम्म पढे। गरिबीका कारण अगाडि पढ्ने रहर पूरा हुन सकेन। पढाइ छाडेर १४–१५ वर्षकै उमेरमा उनले ज्याला मजदुरी सुरु गरे। 'खान पनि नपुग्ने हालत भएकाले गोविन्दलाई विद्यालयबाट छुटाएर मजदुरी गर्न लगाएको हुँ' खिमलालले भने।
बाल्यकालदेखि नै गोविन्द गलत कार्यविरुद्ध लड्ने साहसी स्वभावको भएको उसका सहपाठी सम्झन्छन। 'गोविन्द इमानदार र साहसी थियो', कक्षा ५ सम्म सँगै पढेका उनका बाल्यकालदेखिका साथी ३० वर्षीय मनोज सापकोटाले भने। गरिबीका कारण उनले बाल्यकालदेखि नै संघर्ष गर्नुपर्यो। 'पढ्नमा राम्रो भएर पनि गरिबीका कारण उसले पढ्न सकेन', सापकोटाले भने।
गोविन्द बाल्यकालदेखि नै मेहनती, मिलनसार, इमानदार, जुझारु र गलत कार्यविरुद्ध निर्भीक लड्ने स्वभावको रहेको सापकोटाले सम्भि्कए। 'गरिबीको पीडा भएर पनि गोविन्द स्वाभिमानी र साहसी थियो', उनले भने।
गोविन्दले पढाइ छाडेर अरूको खेतमा हलो जोत्ने, ढुंगा बोक्नेजस्ता काम गरेको सापकोटाले बताए। चार वर्ष गाउँमै मजदुरी गरेपछि १८ वर्ष उमेर भएपछि उनी मजदुरी गर्न भारततर्फ गए। उनले १० वर्ष भारतका विभिन्न सहरमा मजदुरी गरे। त्यसपछि दुई वर्ष साउदी अरबमा बसेर तीन महिनाअघि मात्र उनी घर फर्केका थिए। उनले ऐलानी जमिनमा घर बनाउन सुरु गरेका थिए। 'घर बनाउने सपना अधुरो नै रह्यो', उनकी पत्नी सुशीला गौतमले भनिन्।
गोविन्द स्पष्ट बोल्ने, मनमा छलकपट, पाप नभएका, कसैले झुटो बोलेको, गल्ती गरेको नसहने स्वभावको भएको स्थानीय बताउँछन्। 'छिमेकीलाई केही पर्दा ज्यान दिएर लाग्ने गर्थ्यो', उनका छिमेकी रवि थापाले भने, 'गलतका विरुद्ध ज्यान दिएर लड्ने बहादुर हो गोविन्द।'
गोविन्दका तीन छोरी १० वर्षकी आशिका, सात वर्षकी आकृता र दुई वर्षकी अशु गौतम छन्। ६४ वर्षीय आमा हरिदेवीसमेत सातजनाको परिवार उनीमै आश्रित छ। परिवारको नाममा एक टुक्रा पनि जमिन छैन।
देशको सीमा बचाउन लड्दा सहादत प्राप्त गरेको छोराको वीरताको सबैले सम्मान गर्दा अलि सान्त्वना मिले पनि परिवार कसरी पाल्ने भन्ने चिन्ता रहेको वृद्ध बुवा खिमलाल बताउँछन्। 'लालपुर्जा भएको एक टुक्रा जमिन पनि छैन, न कुनै आयस्रोत छ', उनले भने, 'मेरो प्राण हुन्जेल सबैलाई भोको पेटमा खाना त दिन सक्नुपर्यो।' सरकारबाट बिरामी पर्दा औषधिमूलो, पालनपोषण व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
बिहीबार दिउँसो १२ बजेतिर भारतीय पक्षको ज्यादतीका विरुद्ध प्रतिकार गर्दा गोविन्दलाई नेपाली भूमिमै भारतीय प्रहरीले गोली हाने। भारतीय प्रहरीका ठानेदारले पेस्तोलबाट हानेको गोली गोविन्दको कम्मरमा लाग्यो।
पुनर्वास नगरपालिका ८ आनन्दबजार नजिक सीमामा लामो समयदेखि विवाद छ। २०० नम्बर पिल्लर हराएकाले अहिले कल्भर्ट निर्माण भएको भन्दा ५ सय मिटर दक्षिणसम्म नेपालको भूमि रहेको कञ्चनपुर क्षेत्र नं. १ का सांसद देभानसिंह बिष्ट बताउँछन्। कल्भर्ट बनाएको नाला दसगजाभित्र पर्ने भारत पक्षको दाबी छ।
गोविन्दको शनिबार सेती अञ्चल अस्पतालमा पोस्टमार्टम भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन्।
आनन्दबजारमा निषेधाज्ञा
पुनर्वास–८ आनन्दबजारमा स्थानीय प्रशासनले शनिबार निषेधाज्ञा जारी गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले आनन्दबजारको चोकदेखि पूर्व, पश्चिम र उत्तरतर्फ ५ सय मिटर र दक्षिणतर्फ भारतीय सीमासम्म शनिबार बिहान १० देखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको बताए। दुई दिनसम्म तनावग्रस्त आनन्दबजारनजिकको नाका आइतबार सुनसान देखिन्थ्यो। एसएसबी र भारतीय प्रहरी पनि कल्भर्टभन्दा करिब ३ सय मिटर पर बसेका थिए। प्रहरीले निषेधाज्ञा जारी गरेको ठाउँमा घेरा हालेको थियो। स्थानीय आक्रोशित युवाले सुरक्षाकर्मीको घेरा तोडेर आनन्दबजारतर्फ अघि बढ्न प्रयास गरेका थिए।
प्रकाशित: २९ फाल्गुन २०७३ ०२:४० आइतबार