५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

धामीझाँक्री खोज्दै जापानी कमेडियन

जम्काभेट

मर्निङ वाक गर्न स्वयम्भू जाने क्रममा आइतबार पनि पुगें। स्वयम्भूमा पुगेर राधा ढुंगानाले बेच्ने गरेको घिउकुमारीको जुस खाएँ। राधा ढुंगाना लामो समयदेखि स्वयम्भू क्षेत्रमा घिउकुमारी र जमराको जुस बेच्दै आएकी छिन्।

सधैंझैं हामी मर्निङ वाकका पवन पोदार, महावीर गुर्जर, राजु सारडा, नकुल भण्डारी लगायतका साथीहरू आआफ्ना रुचीअनुसार कोही घिउकुमारी त कोही जमराको जुस पिएर केहीबेर शारीरीक व्यायाम गर्न व्यस्त भयौं।

त्यही समयमा जापानीजस्तै देखिने केही व्यक्तिहरूको समूह क्यामेरासहित आइपुगे। ती समूहबाट पहेंलो सुटबुटमा सजिएका एक व्यक्ति भने जुस बनाउनमा व्यस्त राधा ढुंगानाको नजिक आएर क्यामेरा तेर्साएर कमेडी गर्ने शैलीमा हाउभावसहित प्रस्तुत हुन थाले। अचानक विदेशीलाई देख्दा त्यहाँ उपस्थित सबैमा उत्सुकता पनि बढेको थियो।

ती व्यक्ति कहिले राधासँग घिउकुमारी र जमाराको जुस पिउँदाको फाइदाबारे जान्न जापानीमै मजाकियाँ हिसाबले सोधिहाल्थे भने कहिले त्यहाँ उपस्थित शारीरिक व्यायाम गर्नेहरूसँग नेपाली जीवनशैलीका बारेमा कुराकानी गर्थे। तर उनको बोल्ने र हाउभाउ भने पूरै कमेडी शैलीमा थियो। उनको यो सबै गतिविधिलाई उनको क्यामेरा म्यानले क्यामेरामा कैद गरिरहेका थिए।

ती व्यक्ति कहिले राधासँग घिउकुमारी र जमाराको जुस पिउँदाको फाइदाबारे जान्न जापानीमै मजाकियाँ हिसाबले सोधिहाल्थे भने कहिले त्यहाँ उपस्थित शारीरिक व्यायाम गर्नेहरूसँग नेपाली जीवनशैलीका बारेमा कुराकानी गर्थे।

त्यस समूहमा पहेलो कोट र पाइन्टमा सजिएका जापानीजस्तै देखिने व्यक्ति मुख्य देखिन्थे। उनी आफ्नो अनुहार विभिन्न थरीथरीका बनाएर अभिनय गर्दै जमरा र घिउकुमारीको जुस पिइरहेको व्यक्तिहरूको समेत भिडियो खिच्न थाले। केही बेरमा त्यहाँ भिड नै जम्मा भयो। उनको हसाउने शैलीको अभिनय हेरेर उपस्थित सबै रमाइलो मानिरहेका थिए।

म परें पत्रकार। त्यस व्यक्तिबारे जान्ने उत्सुकता जाग्यो। त्यस दिन अर्थात् वैशाख ३१ गते आइतबार मे १४ तारेखको दिन मैले आफ्नो शारीरिक व्यायामलाई छोट्याए। उनी नजिकै गएर उनीबारे जान्न खोजें। उनीसँगको कुराकानीमा खुल्यो कि उनी त जापानको टिभी कार्यक्रम चलाउने एक प्रसिद्ध कमेडियन तथा युटुबर रहेछन्। जापानी कमेडियन मानासारी टाकानो उनको नाम रहेछ। ३२ वर्षीय टाकानो मिजासिलो स्वभावका भएकै कारण उनी केही बेरमै त्यहाँ उपस्थितसँग घुलमिल भए।

त्यहाँ उभिएर घिउकुमारीको जुस पिइरहेका महावीर गुर्जरले कमेडियन टाकानोको शिरमा कपाल कम रहेको देखाउँदै भने, ‘तपाई घिउकुमारीलाई टाउकोमा दल्नू, तपाईंको कपाल पलाउँछ।’ कमेडियनले आँखा ठुला बनाएर अभिनय गर्दै भने-‘हो र!’ त्यसपछि उनकै आग्रहमा महावीरले टाकानोको शिरमा घिउकुमारी मज्जाले दलिदिए। यस समयमा केडियन टाकानोले बडो सुन्दर तरिकाले आँखा झिझिम पारे, नाम खुम्च्याए, हात पाउ यताउता फालेर थरीथरी आवाज निकालेर निकै रमाइलो गरे। यी सबै दृश्य भने छायाङ्कन भइरहेका थिए।

म परें पत्रकार। त्यस व्यक्तिबारे जान्ने उत्सुकता जाग्यो। त्यस दिन अर्थात् वैशाख ३१ गते आइतबार मे १४ तारेखको दिन मैले आफ्नो शारीरिक व्यायामलाई छोट्याए। उनी नजिकै गएर उनीबारे जान्न खोजें।

उनी राधा ढुंगानासँग घिउकुमारीको जुस बनाउन लगाएर उनले त्यस जुसलाई पिए। सँगै आएका साथीलाई पनि पिलाए। त्यसपछि उनी कमेडी गर्दै मुख बिगारेर भने, ‘ओहो! नेपालीहरू आफ्नो स्वास्थ्यप्रति कति सचेत रहेछन् है। यति तितो घिउकुमारीको जुस पिउन पनि तयार छन्।’

कमेडियन टाकानोसँग थप कुराकानी गर्दै जाँदा रहस्य खुल्यो कि उनी एक कमेडी सोकै लागि छायाङ्कन गर्न नेपाल आएका रहेछन्। उनको सोको कथा अनुसार उनका गुरु हात खुटा नचल्ने बिमारी रहेछन्। उनको कथाका एक पात्रले उनका गुरुलाई धामीकहाँ लानुपर्ने र जडीबुटी तथा योगाभ्यास गराउनुपर्ने सुझाएछन्।

कथाका ती पात्रको सुझावअनुसार यस्तो योगाभ्यास, जडीबुटी र धामीझाँक्री पाउने देश नेपाल रहेछ। उनले दिएको सल्लाहअनुसार कथाको छायाङ्कन पूरा गर्न आफू कथाकै पात्र खोज्न नेपाल आएको कमेडियन टाकानोले खुलाए। उनले छायाङ्कनकै दौरान राधा ढुंगानासँग घिउकुमारी र जमरा पनि किने। उनलाई जसरी पनि आफ्नो गुरुको हातखुटा नचल्ने बिमारीलाई निको पार्नु छ।

यही छायाङ्कनकै सन्दर्भमा कमेडियन टाकानो लमजुङ पुगेर माहुरी पालन र मह सिकारको दृश्य पनि खिचे। एक बोतल मह पनि गुरुको उपचारका लागि किने।

कमेडियन टाकानोसँग थप कुराकानी गर्दै जाँदा रहस्य खुल्यो कि उनी एक कमेडी सोकै लागि छायाङ्कन गर्न नेपाल आएका रहेछन्।

त्यसपछि उनी आफ्ना गुरुको उपचारका लागि झाँक्रीकहाँ गए। झाँक्रीले भाले काट्नुपर्छ भनेपछि उनले भाले किनेर काट्न लगाए। भालेको कलेजोमा हेरेर झाँक्रीले उनको गुरु पानीमा चिप्लेर लडेर चोट लागेको भनिदिए।

हुन पनि उनका गुरु केही वर्षअघि नदीमा नुहाँउदा लडेका थिए। त्यही चोट बल्झेर हातखुटा नचल्ने भएको सत्य रहेछ भन्ने कथामा छ। उनी त त्यही कथाका पात्र पो। कथाअनुसार उनलाई ती नेपाली झाँक्रीमाथि निकै विश्वास लाग्यो। उनले ती झाँक्रीले दिएको औषधी पनि साथमा बोकेर जापानमा पुगी गुरुलाई खुवाउनुपर्ने कथाको माग हो।

स्वयम्भूमा वाकिङ गर्न आउनेहरूको मुख्य उद्देश्य जमरा र घिउकुमारीको जुस पिउनु पनि हो। मिराका अनुसार घिउकुमारी र जमराको जुसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ। त्यही भएर पनि धेरै मान्छेको रोजाइमा स्वयम्भू पर्ने गरेको उनले ती कमेडियनलाई सुनाइन्। त्यसपछि कमेडियनसँगै म पनि स्वयम्भूको ठाडो भर्‍याङ चढेरै माथि मन्दिर परिसरमा पुगें। त्यहाँ उनी दिव्य रस बेच्ने एक दिदीको घरमा पनि पुगियो।

हामीसँगै बसेर दिव्य रस पनि पियौं। मे १४ तारिक अर्थात् वैशाख ३१ गते स्व्यम्भूको छायाङ्कनपछि उनी सोही दिन जापान फर्कने कार्यक्रम थियो। केही बेरको भेटमा उनले नेपालबाट धेरै सकारात्मक विचार संकलन गरेर जापान फर्कन लागेको बताए।

‘हेर्नुस् मलाई नेपाल प्राकृतिक स्रोत र साधनको धनी देश लाग्यो। यहाँका जनताले आफैंले खेतबारीमा उमारेका चिजबिज खाँदा रहेछन्। स्वास्थ्यबारे पनि निकै सचेत रहेकाले उनीहरू योगाभ्यासदेखि प्रकृतिमै पाइने घिउकुमारी, जमराजस्ता आयुर्वेदिक औषधी सेवन गर्नु मलाई धेरै मन पर्‍यो। हिमाल र पहाडले भरिपूर्ण नेपालको वातावरण निकै रमणीय छ,’ कमेडियन टाकानोले नेपालबारे आफूले महसुस गरेको सुन्दर अनुभव नागरिकसँग सुनाए, ‘जडीबुटीको धनी देश नेपाल पर्यटकीय हिसाबले निकै अग्रस्थानमा छ। यसलाई प्रचारप्रसार गर्नुपर्छ।’ उनले आफ्नो योजना सुनाए। ‘नेपाल र जापानबीचको दौत्य सम्बन्ध निकै पुरानो हो।

यस हिसाबले पनि मैले आफ्नो कमेडी सोका लागि छायाङ्कन गरेका यी सबै विषयवस्तु कथामा प्रस्तुत गर्ने छु।’ जापानमा आधुनिक औषधी सेवनले मानव जीवन स्तरीय बनेको बताउँदै उनले नेपाल प्राकृतिक सम्पदा तथा जडीबुटीले भरिपूर्ण भएकाले आयुर्वेदको हब नै बन्न सक्ने उनको धारणा छ। कमेडी कथामार्फत पनि नेपालको पर्यटनबारे प्रचार गर्न सकिने उनको विश्वास छ।

प्रकाशित: ६ जेष्ठ २०८० ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App