१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

चुनावी झ्याली पिट्दै लेप्चा युवा

इलामको सूर्योदय नगरपालिकास्थित मलिम गाउँका लेप्चा समुदाय।

इलाम- सूर्योदय नगरपालिका–८, रम्फोक गाउँका लोपोन्मुख समुदायका युवक मानवीर लेप्चा आउँदो चुनावमा भोट हाल्न पाउने खबरले हर्षित छन्। ‘स्थानीय जनप्रतिनिधि चुन्ने अवसर पहिलोपटक पाउँदा कुन युवक खुसी नहोला र!' मानवीरले सुनाए, ‘म मात्र होइन, हाम्रो समुदायका सबैलाई स्थानीय तहको चुनाव चाडझैं लाग्दै छ।'

लेप्चा समुदायका अगुवा आउँदो चुनावका लागि आफ्नो समुदायलाई सचेत गराउन गाउँ–गाउँमा झ्याली पिट्ने तयारीमा छन्।

‘हामीले यसअघिका चुनावमा पनि भोट हाल्नुपर्छ भनेर आफ्नो समुदायका सबैलाई सिकाएका थियौं', लेप्चा युवा मञ्च नेपालका अध्यक्षसमेत रहेका मानवीरले थपे, ‘आउँदो चुनावका लागि पनि घर–घरै पुगेर भोट हाल्न उत्साहित गर्छाैं।'

लेप्चा समुदायका नागरिक पनि अन्य समुदायजस्तै विभिन्न दलमा आबद्ध छन्। तर, स्थानीय तहको चुनावमा सहभागी भएर आफूले रोजेका प्रतिनिधिलाई भोट हाल्न सबैलाई जागरुक गर्ने तयारीमा रहेको उनले सुनाए। ‘हाम्रो समुदायका सबै नागरिकलाई आफूले रोजेको उम्मेदवारलाई भोट हाल्न पाउने स्वतन्त्रता छ', उनले भने, ‘तर, भोटमा सहभागी हुनु पनि आफ्नो र देशका लागि महŒवपूर्ण काम भएकाले सबैलाई भोटमा सहभागी हुन आग्रह गर्छाैं।'

उनले लेप्चा समुदायका लागि चुनावी अभियान नै सञ्चालन गरेर मतदानमा सघाउने बताए। ‘म आफू ३० वर्षको भएँ, अहिलेसम्म स्थानीय जनप्रतिनिधि चुन्न पाइएको छैन', उनले सुनाए, ‘मजस्ता धेरै युवा स्थानीय तहको चुनावमा सहभागी हुन पाउनु खुसीसँगै राम्रो अवसर पनि हो।'

पञ्चकन्याका मंगलसिंह लेप्चा, फिक्कलकी संगीता लेप्चा र सूर्याेदय नगरपालिका–६ का रोशन लेप्चा पनि पहिलोपटक स्थानीय तहको चुनावमा सहभागी हुँदैछन्।

 सरकारले आउँदो वैशाख ३१ का लागि स्थानीय तहको चुनाव तय गरेपछि लोपोन्मुख लेप्चा समुदायका नागरिक ज्यादै उत्साही छन्। तीन दशकभन्दा बढी समयदेखि लेप्चा समुदायको उत्थानमा आवाज उठाउने अगुवा हुन् या नयाँ पिँढीका युवक–युवती, सबैको आवाज छ– स्थानीय तहको चुनाव अपरिहार्य छ अहिले।

सूर्याेदय नगरपालिकास्थित फिक्कलका ७३ वर्षे प्रेम लेप्चा लामो समयदेखि हुन नसकेको स्थानीय तहको चुनाव हुने सुनेर खुसी छन्। ‘स्थानीय निर्वाचन नभएको २० वर्षको अवधिमा सबैजसो क्षेत्र लथालिंग भइसकेको छ। अहिले नै चुनाव नभए अझ बिग्रिएर जान्छ', उनले भने, ‘वैशाखको चुनाव जसरी पनि गर्नुपर्छ र नागरिकको सेवा–सुविधा सहज बनाउनुपर्छ।' उनले चुनावलाई लक्षित गरेर लेप्चा समुदायले गाउँ–गाउँमा विभिन्न कार्यक्रम आयोजना गर्ने पनि बताए।

लेप्चा समुदायले आउँदो चुनावमा वडा, गाउँ र नगरमा आफ्नो समुदायका नागरिकको प्रतिनिधित्व गराउन पनि माग गरेको छ। लेप्चा उत्थान मञ्चका पूर्वअध्यक्षसमेत रहेका प्रेमले भने, ‘अबको चुनावमा हाम्रो समुदायका मानिसले पनि कुनै न कुनै ठाउँको प्रतिनिधित्व गर्न पाऊन् भन्ने हाम्रो चाहना हो। आफ्नो समस्या र माग बुझ्न आफ्नै समुदायका प्रतिनिधिलाई सजिलो हुन्छ।'

 अहिले पनि सामाजिक सुरक्षा कार्यक्रम, वृद्धवृद्धा, बालबालिका, अपांगता भएका व्यक्तिलगायतले पाउने सेवा–सुविधा लिन समस्या भइरहेको र चुनाव भए यी समस्या समाधान हुने उनले आशा गरे। ‘२०४६ सालदेखि अहिलेसम्म आफ्नो समुदायको उत्थानका लागि पटक–पटक चेतनामूलक कार्यक्रम र आन्दोलन गरेर आइयो, समुदायको आर्थिक, राजनीतिक, सामाजिकलगायत अवस्था पनि पहिलाको तुलनामा निकै उठेको छ', उनले सुनाए, ‘यसलाई अझ विकास गर्न, स्थानीय र हाम्रो समुदायका नागरिकको नेतृत्व विकास गर्न पनि चुनाव अपरिहार्य छ।'

 २०६२/६३ को आन्दोलनपछि यो समुदायले राज्य पुनःसंरचना गर्दा कोसीपूर्वको भूभागलाई ‘रोङ (लेप्चा) राज्य' नामकरण गर्न माग गरेको थियो। यो मागमा लेप्चाहरूले निकै पटक आन्दोलन मात्र गरेनन्, ‘रोङ राज्यको विधान' नामक दस्तावेज नै सार्वजनिक गरेका थिए।

स्थानीय तहको पुनःसंरचना गर्दा भने जिल्लाको एउटा गाउँपालिकाको नाम ‘रोङ गाउँपालिका' प्रस्ताव गरिएको छ।  

२०४२ सालमा लेप्चा समुदायका १० जनाले मात्रै प्रवेशिका (एसएलसी) पास गरेको उनी सम्झन्छन्। अहिले यो समुदायबाट एसएलसी पास गर्नेको संख्या २ सय हाराहारी पुगेको छ। स्नातकोत्तर गर्नेहरू पनि ४–५ जना पुगिसकेको उनले सुनाए। लेप्चा समुदायको मुख्य बसोबास इलाम जिल्लाको माइखोलापूर्वका १५ गाविसमा छ।

पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय चाहिँ बसाइँ नै सरेर अन्य जिल्लासम्म पनि गइरहेका छन्। जनगणना–२०६८ को तथ्यांकअनुसार लेप्चाको कुल जनसंख्या ३ हजार ४ सय ४५ छ। उनीहरूमध्ये ३ हजार २ सय ६४ जना ग्रामीण अनि १ सय ८१ जना सहरी क्षेत्रमा बस्छन्। पूर्वाञ्चलमा सबैभन्दा धेरै ३ हजार २ सय ३६ जना, मध्यमाञ्चलमा १ सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिमाञ्चलमा ५ र सुदूरपश्चिमाञ्चलमा २ जनाको बसोबास छ। उनीहरू पहाडी क्षेत्रमा सबैभन्दा बढी (२ हजार ९ सय ९६) जना बसोबास गर्छन्। तराईमा ४ सय ३१ र हिमाली क्षेत्रमा १८ जनाको बसोबास रहेको जनगणना–२०६८ को तथ्यांकले देखाउँछ।

प्रकाशित: २१ फाल्गुन २०७३ ०३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App