१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्षमा मुना

किरात राई विद्यार्थी संघको नवनिर्वाचित कार्यसमिति। तस्विरः महेश्वर

किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्षमा मुना राई चयन भएकी छिन्। शनिवार गाईघाटस्थित टाउन हलमा सम्पन्न आर्ठाैँ जिल्ला सम्मेलनले त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्ययनरत राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो। 

किरात राई यायोख्खाका केन्द्रीय सदस्य दिपक किरातीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष गंगा राईको विशेष आतिथ्यमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा बिकल राई, सचिव सञ्जोक राई, सहसचिव भावना राई र कोषाध्यक्ष अपेक्षा राईलाई चयन गरेको छ। त्यस्तै सदस्यमा ज्ञानदिल राई, समीक्षा राई, कल्याण राई, अवन राई, मिङमा राई, रीमा राई, सुजता राई र सलिना राई छानिएका छन्। त्रियुगा र बरुवा क्याम्पस तथा बिभिन्न विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा सम्पन्न समितिमा जिल्लाका सबै भूगोललाई समेट्ने उद्देश्यले ८ वटै स्थानीय तहबाट प्रतिनिधित्व गराउँदै समिति गठन गर्ने आयोजकले जनाएको छ। 

जस अनुसार हाल त्रियुगा र चौदण्डीगढी नगरपालिका तथा रौतामाई र लिमचुङबुङ गाउँपालिकाबाट मात्र प्रतिनिधित्व गराइएको छ भने आउँदो बैठकबाट कटारी र बेलका नगरपालिका तथा ताप्ली र उदयपुरगढी गाउँपालिकाबाट प्रतिनिधित्व गराउँदै २१ सदस्यीय समिति बनाइने केन्द्रीय सदस्य किरातीले बताए। विविध कारणले सम्मेलनमा सहभागी हुन नभ्याएका बाँकी भूगोललाई समेटेर समितिलाई पूर्णता दिइने र जिल्ला व्यापी संगठन बिस्तार गर्दै ८ वटै स्थानीयतहस्तरीय समिति गठन कार्य अघि बढाइने पनि उनले बताए। 

कार्यक्रममा केन्द्रीय सदस्य किराती र उदयपुर अध्यक्ष राईले किरात राई विद्यार्थी संघको जिम्मेवारी आगामी दिनमा थप बढ्दै गएको बताए। प्रदेश पुनःनामाकरणको आन्दोलन चर्कदै गएको र यसलाई तार्किक र पणिाममुखी बनाउनु पर्ने भएकाले युवा विद्यार्थीको भूमिका विशेष रहेको उनीहरुले बताए। विद्यार्थी संघलाई यायोख्खाले मुख्य भातृ संघठनको रुपमा लिएको भन्दै उनीहरुले विगतमा किरात राई विद्यार्थी संघको ऐतिहासिक र महत्त्वपूर्ण भूमिकालाई अहिले र भविष्यमा पनि उत्तिकै कायम राख्न नवनिर्वाचित समितिलाई आग्रह गरे। 

यायोख्खाका भातृ सङ्गठनहरूमा विद्यार्थी संघ, किरात राई पत्रकार संघ, किरात राई कलकार संघ, किरात राई लेखक संघ तथा किरात राई चलचित्रकर्मी संघ उदयपुरमा गठन भई क्रियाशील रहेका छन्। ती सबै भ्रातृ संस्थाहरूले किरात प्रदेश नामाकरणका लागि ऐतिहासिक योगदान गर्नुपर्ने दिन आएको भन्दै नेताहरूले पहिचानको आन्दोलनलाई सफल बनाएरै छाड्ने अभियानमा सरिक हुन निर्देशनात्मक आग्रह गरेका थिए। 

प्रकाशित: २४ वैशाख २०८० ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App