२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चक्रपथको कलङ्की–बसुन्धारा विस्तारमा चिनियाँ पक्ष तयारः स्थलगत अध्ययनपछि विभागसँग छलफल

निर्माण स्थल खाली गराउन नसक्दा बसुन्धारासम्म मात्र विस्तार, ठाउँ–ठाउँमा ‘अण्डरपास’

फाइल तस्वीर

चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ। सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ। 

चक्रपथको सो खण्ड विस्तारका लागि सडक विभागले केही वर्ष पहिलेदेखि निर्माण स्थल खाली गराउन लागे पनि कोभिड सङ्क्रमणका कारण चिनियाँ पक्ष आएको थिएन। अहिले अवस्था सामान्य हुँदै जाँदा काम अघि बढाउन चाहेको विभागले जनाएको छ। 

उनीहरू आएर काम गर्न खोजेको र दुई पटक स्थलगत भ्रमण पनि गरेको विभागका विकास सहायता समन्वय महाशाखा प्रमुख डा. विजय जैसीले बताए। पहिले पूर्व सम्भाव्यता अध्ययन गरेर काम कसरी गर्ने भनी छलफल गरिरहेको उनले जानकारी दिए। 

चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरिएको थियो। उक्त सडकमा निर्माण स्थल खाली नगर्दै काम सुरु गरिएकाले विस्तारका क्रममा धेरै समस्या आएको थियो। त्यही अनुभवका आधारमा चिनियाँ पक्षले पहिले निर्माण स्थल खाली भएपछि मात्रै निर्माण सुरु गर्न सरकालाई भनेको थियो। 

निर्माण स्थल खाली गराउँदा धेरै समस्या व्यहोर्नुपरेको विभागले जनाएको छ। अहिले निर्माण स्थल खाली गर्ने क्रममा आएका धेरै समस्या समाधान भइसकेको छ। अहिलेसम्म चिनियाँ पक्षले निर्माण गर्ने लेनमा झन्डै ८० प्रतिशत जग्गा खाली गरिएको छ। गोङ्गबु चोक नजिकैको मन्दिर भत्काइएको, स्वयम्भू नजिकै बाँकी रहेका दुई–तीनवटा विद्युतको पोल सारिएको र बसुन्धाराको बिसौनी नजिकै पनि निर्माण स्थल खाली भइरहेको बताइएको छ। 

सरकारले दोस्रो चरणमा चिनियाँ पक्षलाई कलङ्कीबाट चाबहिलको धोबी खोलासम्म विस्तारका लागि भनेको थियो। सोही आधारमा निर्माण स्थल खाली गराउन सुरु भए पनि महाराजगञ्ज चोक नजिकैका घरहरू हटाइएको छैन। 

निर्माण स्थल खाली गराउन नसकिएकाले अहिले दोस्रो चरणमा महाराजगञ्जसम्म नगरेर कलङ्कीबाट बसुन्धारासम्म मात्रै गर्ने गरी छलफल भइरहेको छ। उनले भने, ‘महाराजगञ्जमा मुख्य लेनमा पर्ने धेरै घर भत्काउनुपर्ने र जग्गाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले त्यहाँसम्म गर्न सकिने छैन।’ तयारीका सबै काम सकाएर निर्माणमा जान अब एक वर्ष लाग्ने विभागले जनाएको छ। 

पहिलेको डिजाइनभन्दा केही संशोधन गर्नुपर्ने भएकाले गर्न लागिएको प्रमुख जैसीले बताए। विभागले विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्नाका साथै एउटा खाका बनाएर चिनियाँ पक्षलाई दिएको उनले जानकारी दिए। उनीहरू अहिले त्यसमा अध्ययन गरिरहेका छन्। 

विभागले पहिलो खण्डमा भन्दा केही थप संरचना राख्न पनि चिनियाँ पक्षलाई भनिरहेको छ। भविष्यका लागि एक–दुई ठाउँमा ‘युटिलिटी डट’ राख्न भनिएको छ। सडकमुनि रहने यस्तो डटमा खानेपानी, विद्युत्, टेलिकम, ढललगायत संरचना राख्न सकिनेछ। प्रमुख जैसीले भने, ‘उनीहरूले त्यसका लागि पैसा नभएकाले नेपालको तर्फबाट गर्न भनेका छन्।’

सडकका ठाउँ–ठाउँमा ‘अण्डरपास’ का लागि कुरा राखिएको छ। अहिले नै ‘अण्डरपास’ नबनाए पछि सडक फुटाएर बनाउन गाह्रो हुने भएकाले सो कुरा राखिएको र औपचारिक कुराकानीबाट निष्कर्षमा पुग्न छलफल भइरहेको उनको भनाइ थियो। चक्रपथको पहिलो खण्डको ठाउँ–ठाउँमा पानी डुब्ने समस्या आएकाले त्यो आउन नदिने गरी निर्माण गर्न पनि छलफल भइरहेको छ। 

पहिलो खण्डमा नाली नभएकाले सडकमा ठाउँ–ठाउँमा पानी जम्मा हुने समस्या आएको थियो। दोस्रो खण्डमा सबैतिर र ठुलो आकारको नाली राख्न भनिएको र त्यसमा चिनियाँ पक्ष पनि सकारात्मक रहेको प्रमुख जैसीले बताए। अरू कुरामा सहमति भइरहँदा ‘युटिलिटी डट’ र ‘अण्डरपास’ बनाउने कुरामा भने सहमति हुन बाँकी छ। उनले भने, ‘उहाँहरूको पहिलेअनुसारै बनाउने मान्यता भन्ने हो। नयाँँ कुराका लागि माथिसम्म पुर्‍याउनुपर्ने हुन्छ।’ 

विकासमा सहयोग गर्ने राष्ट्रसँग दीर्घकालीन योजना हुने र पाँच–सात वर्ष लगाएर योजना बनाइ पैसा दिने गरिएको प्रमुख जैसीले बताए। ती राष्ट्रको योजना कार्यान्वयन हुँदासम्म यहाँको आवश्यकता परिवर्तन भइसक्ने गरेको छ। दश वर्ष पहिले पनि विभागले ग्वार्काेमा फ्लाइओभर बनाउन भने पनि त्यतिबेला पैसा नपुगेर बनाउन सकिएको थिएन। अहिले सरकारले आफ्नै लगानीमा ‘फ्लाइओभर’ निर्माण अघि बढाइरहेको छ। 

चिनियाँ पक्षले दोस्रो खण्डमा ‘फ्लाइओभर’ बनाउन रकम नभएको भनिरहेको उल्लेख गर्दै उनले भने, ‘विदेशीको पनि सीमितता हुन्छ। अहिले हामीलाई ग्वार्काेमा जस्तै धेरै ठाउँमा फ्लाइओभर बनाउनुपर्ने छ।” डिजाइन फाइनल हुन छ–सात महिना लाग्ने र त्यसपछि मात्रै ठेक्का प्रक्रियामा जान सकिने प्रमुख जैसीले बताए। निर्माणको काम काम नै सुरु गर्न अब एक वर्ष लाग्न सक्ने देखिएको छ।

प्रकाशित: २४ चैत्र २०७९ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App