१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

मेलम्ची सञ्चालन भए पनि उपत्यकामा खानेपानी समस्या

फाइल तस्बिर

मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा वितरण थालेपछि काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति फालाफाल हुने अनुमान थियो। तर मेलम्ची खानेपानी वितरण भइसक्दा पनि काठमाडौंमा खानेपानी मागको आधाआधी मात्रै आपूर्ति हुन सकेको छ।  

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले राखेको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा अहिले दैनिक खानेपानीको माग ४७ करोड लिटर छ। तर केयुकेएलले मागको आधाआधी मात्रै अर्थात् २३ करोड लिटर मात्रै वितरण गर्न सकेको तथ्यांक छ। सुक्खायाममा परम्परागत स्रोतको १० करोड र मेलम्चीको १३ करोड गरी कुल दैनिक २३ करोड लिटर मात्रै पानी वितरण गर्न सकेको हो। जब कि माग भने दोब्वरभन्दा बढी अर्थात् ४७ करोड लिटर दैनिक रहेको छ। मेलम्चीबाट कुल १७ करोड लिटर दैनिक आउने क्षमता छ। तर अहिले १३ करोड लिटर मात्रै पानी वितरण भइरहेको छ। दैनिक चार करोड लिटर परीक्षण वितरण रहेकाले खेर जाने गरेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता एवं प्रबन्धक प्रकाशकुमार राईले मेलम्चीको पानी पूर्ण रूपमा वितरण हुँदा पनि दैनिक २७ करोड लिटर पानी वितरण हुनेछ। परम्परागत स्रोतबाट १० र मेलम्चीबाट १७ करोड गरी कुल २७ करोड लिटर पानी वितरणको क्षमता हुनेछ। जब कि त्यो समयसम्म यसको दोब्बर खानेपानी माग पुग्नेछ। हरेक वर्ष उपत्यकामा खानेपानीको माग करिब १० प्रतिशतका दरले बढ्छ।  

खानेपानीको अभाव रहेपछि केयुकेएलले निरन्तर ट्यांकरबाट पनि पानी वितरण गरिरहेको प्रवक्ता राई सुनाउँछन्। केयुकेएलका अनुसार ट्यांकरबाट पनि वर्षमा २१ हजार ३ सय ट्रिप पानी आपूर्ति हुन्छ। दैनिक औसत ५८ ट्रिप ट्यांकरको पानी काठमाडौंमा माग हुने गरेको केयुकेएलको तथ्यांक छ। तर तथ्यांक राख्ने व्यवस्थित प्रणाली नभएकाले योभन्दा दोब्बरसम्म ट्यांकरको पानी खपत भइरहेको हुनसक्ने केयुकेएलका अधिकारी बताउँछन्। काठमाडौंमा ५ हजारदेखि १० हजार लिटरसम्मका ट्यांकरले प्रतिट्यांकर २ हजारदेखि ३५ सयसम्म शुल्क लिन्छन्। यसले उपभोक्तालाई चर्को मूल्य तिरेर पानी किन्नुपर्ने बाध्यतामा पारेको छ। जार र बोतलबाट हुने पानी आपूर्तिको पनि यकिन विवरण पाइँदैन। १ फागुन २०६४ मा उपत्यका खानेपानी विकास बोर्डले केयुकेएललाई ३० वर्षका लागि काठमाडौंमा खानेपानी वितरणको जिम्मा दिएको थियो। खानेपानी संस्थानबाट अलग बनाएर कम्पनीमार्फत खानेपानी वितरण गर्दा प्रभावकारी हुने अपेक्षा गरिए पनि अवस्था झन् खराब बन्दै गएको छ। मेलम्चीको पानी आएपछि अवस्था सुध्रने अपेक्षा गरिए पनि अब त्यसमा धेरै भर पर्न नहुने अवस्था देखिएको केयुकेएलकै अधिकारी बताउँछन्।

प्रकाशित: १० चैत्र २०७९ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App