२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिओपी/बेस कमान्डर ६/६ महिनामा फेरिने

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले बोर्डर आउट पोस्ट (बिओपी) र बेस कमान्डको नेतृत्व ६/६ महिनामा फेर्ने भएको छ। सशस्त्र प्रहरीमा रहेको सरुवाबढुवालाई न्यायोचित एवं पूर्वानुमानयोग्य बनाउन यस्तो व्यवस्था गरिएको हो। ‘सशस्त्र प्रहरी कर्मचारीहरूको पदस्थापन, सरुवा तथा काजसम्बन्धी कार्यविधि २०७९’ र ‘सुरक्षा बेस अदलीबदली निर्देशिका २०७९’ लागु गर्दै बिओपी र बेस कमान्डर एक ठाउँमा बस्ने अवधि ६ महिनामा झारिएको हो।

सीमा क्षेत्रमा बिओपी कमान्डर, बेस कमान्डर र गुल्म कमान्डरहरूले अनियमितता गरेको गुनासो बढेको भन्दै उनीहरूलाई ६ महिनामै हटाएर अर्को व्यक्ति पठाउने व्यवस्था गरिएको हो।

सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालले कमान्ड सम्हालेको एक वर्ष नपुग्दै बिओपी र बेस कमान्डबाट हुने अनियमितता रोक्न यो व्यवस्था गरेका हुन्। ‘सकेसम्म सीमा क्षेत्रबाट गुनासो नआओस् भन्ने सशस्त्र प्रहरीको चाहना छ। त्यसैअनुसार निर्देशिका र कार्यविधि जारी गरिएको हो,’ आइजिपी अर्यालको सचिवालयका एक अधिकारीले भने।

जारी निर्देशिकाअनुसार अब सशस्त्र प्रहरीमा निश्चित गण, गुल्म, बेस, बिओपीलगायतको एकपटक कमान्ड गर्नेले अन्य अधिकारीको पालो सकिएपछि मात्र पहिलाको ठाउँमा कमान्ड गर्न पाउनेछन्। यसअनुसार सबै अधिकृतले बिओपी, बेस, गुल्म कमान्ड गर्ने अवसर पाउनेछन्।

लामो समय कमान्ड लिने र राजनीतिक शक्ति केन्द्र धाएर आइजिपीलाई दबाब दिने संगठन मुक्त हुनेछ। सशस्त्रमा बिओपी विभिन्न कमान्डमा जान राजनीतिक शक्ति केन्द्र धाउने र चेन अफ कमान्ड नमान्ने प्रवृत्ति बढेको थियो। सशस्त्र प्रहरीले सोही निर्देशिका अनुसार एक महिनाअघि गणपति तथा गुल्मपतिहरूको सरुवा गरेको थियो। दुई दिनअघि मात्रै प्रहरी नायब उपरीक्षक (डिएसपी) र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा सोही निर्देशिकाअनुसार भएको थियो।

सशस्त्र प्रहरीले कमान्ड सम्हालेपछि सीमा क्षेत्रको रक्षा हुनुका साथै चोरीनिकासीमा समेत कमी आएको बताइएको छ। लामो समय एउटै व्यक्तिले बिओपी र गुल्म कमान्ड सम्हाल्दा सीमा क्षेत्रमा हुने चोरीतस्करी, भन्सार छली लगायत गतिविधिमा संलग्न हुने गरेको आरोप सशस्त्रका कमान्डरहरूले खेप्दै आएका थिए। कतिपय सन्दर्भमा आरोप पुष्टिसमेत हुने र त्यसमा सशस्त्र प्रहरी मुख्यालयबाटै अनुमगनका लागि खटिँदा गल्ती भेटिने गरेको र कारबाही पनि अघि बढाएको पाइएको छ। सशस्त्र प्रहरीले तराईका जिल्लामा कार्यरत केही प्रहरी उपरीक्षक (एसपी) लाई केन्द्रमा तानेर उनीहरूका ठाउँमा नयाँ कमान्डर पठाएको थियो।

सशस्त्र प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुरुषोत्तम थापाले पछिल्लो सरुवा पनि अहिले जारी भएको नयाँ कार्यविधि र निर्देशिकाअनुसार भएको बताए। ‘संगठनले तयार पारेको कार्यविधिअनुसार हालसम्म कमान्डको अवसर नपाएका अधिकृतहरूलाई पहिलो प्राथमिकतामा राखेर सरुवा गरिएको छ।

अवसर प्राप्त गरेकालाई दोस्रो प्राथमिकतामा राखिएको छ,’ डिआइजी थापाले भने, ‘मूल्यांकनका आधारमा तयार पारिएको ज्येष्ठताका आधारमा क्रमशः सीमा सुरक्षा गुल्म, बिओपी, अस्थायी सुरक्षा बेसहरूमा कमान्ड जिम्मेवारी दिइएको छ।’ कमान्ड पूर्वानुमान सूचीमा सूचीकृत नभएर पनि सेवावधिका आधारमा अवकाश हुन कम समय बाँकी रहेका र विगतमा कम कमान्डको अवसर प्राप्त गरेका अधिकृतहरूलाई समेत कमान्डको जिम्मेवारी दिएको जनाइएको छ।

तराई र सीमा क्षेत्रमा तस्कर समूहहरूले सशस्त्र प्रहरी कर्मचारीहरूमाथि समेत आक्रमण गर्ने गरेका छन्। त्यसकारण संवेदनशील ठहरिएका स्थानहरूमा जनशक्तिको संख्या बढाउने भएको छ। सुरक्षा संवेदनशीलतालगायत पक्ष हेरी सशस्त्र प्रहरीले बिओपीको कमान्ड डिएसपी खटाउने भएको छ। सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीको संख्या ज्यादै न्यून भएकाले तस्कर समूहले सहजै प्रहरीमाथि आक्रमण गर्ने गरेका छन्।

गत वर्ष कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर क्षेत्रमा भारतीय तस्करको एक समूह सीमा क्षेत्रका सशस्त्र प्रहरीमाथि आक्रमण गरेर भागेको थियो। न्यून संख्यामा परिचालित सशस्त्र प्रहरी पटकपटक नेपाली तथा भारतीय तस्कर समूहको आक्रमण र घेराउ हुँदै आएको छ। झापाको गौरीगन्ज गाउँपालिका–५ स्थित सीमा क्षेत्रमा पनि सशस्त्र प्रहरीमा भारतीय तस्कर समूहले आक्रमण गर्ने गरेको छ। महोत्तरी, पर्सा, बारा, धनुषा, सिरहा, सप्तरी, बाँके, बर्दियाजस्ता जिल्लामा पनि तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण हुने गरेको छ।

सशस्त्र प्रहरीले प्रस्ताव गरेअनुसार इन्स्पेक्टर नेतृत्वका ११५ वटा बिओपी, डिएसपी नेतृत्वका २८ वटा बेस र इन्स्पेक्टर नेतृत्वका ५१ वटा बेस हुनेछन्। हाल सशस्त्र प्रहरीमा उत्तरतर्फ ८ र दक्षितर्फ २२० गरी २२८ वटा बिओपी छन्। पहाडी क्षेत्रमा बेस छन्। बिओपीमा सामान्यतया इन्स्पेक्टरको नेतृत्वमा ३५ जना रहने भए पनि त्यसअनुसार जनशक्ति छैन। सुरुमा इन्स्पेक्टरको कमान्डमा ५० जना जनशक्ति खटिँदै आएकोमा बिओपीको संख्या बढ्ने तर जनशक्ति नबढ्ने भएपछि इन्स्पेक्टरको कमान्डमा अहिले ३५ जना जनशक्ति रहँदै आएका छन्। तर उनीहरू पनि कोही बिदामा रहने, कोही बिरामी हुने र कोही ब्यारेक कुर्नुपर्ने बाध्यताका कारण २० देखि २२ जना मात्रै कार्यक्षेत्रमा खटिने गरेका छन्।

पछिल्लोपटक सीमा क्षेत्रको संवेदनशीलताका आधारमा सशस्त्र प्रहरीले बिओपीका लागि ४८ वटा गुल्मको प्रस्ताव गरेको छ। गुल्ममातहतमा बिओपी रहनेछन्। गुल्ममा सामान्यताय १६० जना सशस्त्र अधिकारी रहन्छन्। तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापाले सशस्त्रका बिओपी बढाउने निर्णय गरेका थिए। तर त्यसअनुसार सरकारले जनशक्ति नदिएको गुनासो सशस्त्रको रहँदै आएको छ।

प्रकाशित: ५ चैत्र २०७९ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App