३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बसाइँ आउनेलाई फूलमाला र ढाकाटोपी

आफ्नो वडामा बसाइँ आएका परिवारलाई स्वागत गर्दै इलाम नगर र वडा ४ का जनप्रतिनिधि। तस्बिरः भीम-नागरिक

इलाम नगरपालिका– ४ ले वडामा बसाइँ आउनेलाई फूलमाला र ढाका टोपीसहित स्वागत गरेको छ। वडा कार्यालयमै आयोजित कार्यक्रममा मेयर केदार थापाले विभिन्न ठाउँबाट बसाइँ आएका ११ परिवारलाई स्वागत गरेका हुन्।

इलाम नगरले अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आएपछि पालिकामा बसाइँ सरी आउनेलाई स्वागत गर्ने कार्यक्रम राखेको हो। त्यसैअनुसार वडा ४ बाट यो कार्यक्रम सुरु भएको वडाध्यक्ष तथा नगर प्रवक्ता नुतनदेव दुलालले बताए। यसरी आउनेलाई ‘स्वागतपत्र’ प्रदान गरिएको छ भने ढाका टोपी र फूलमालाले स्वागत गरिएको छ। यसरी आउनेका परिवारको स्वास्थ्य बिमासमेत वडाले गरिदिएको छ। कृषिलगायत विभिन्न क्षेत्रमा सहुलियतका कार्यक्रम ल्याइएको वडाले जनाएको छ। वडा ४ मा इलाम नगरकै विभिन्न वडा, सन्दकपुर र सूर्याेदय नगरपालिकालगायतबाट यी घरपरिवार बसाइँ सरी आएका हुन्।

इलाम नगरपालिका जिल्लाकै सदरमुकाम रहेको पालिका हो। स्थानीय तह कार्यान्वयनमा आएपछि सदरमुकामको जनघनत्व घट्दो क्रममा रहेपछि नगरले पालिकामा बसाइँ सरी आउनेलाई प्रोत्साहन प्रयास गरेको हो। स्थानीय तह कार्यान्वयन भएपछि इलाम बजार र वरपरको घरजग्गा कारोबार स्थिर झैं छ भने बसाइँ सरी आउनेको संख्या घट्दो छ।

‘नगरमा बसोबास गर्नेको आकर्षण बढाउन नगरले विभिन्न कार्यक्रम ल्याएको छ’,मेयर थापाले भने, ‘यहाँको बसोबास र आर्थिक गतिविधि बढाउने नगरको लक्ष्य छ।’इलाम जिल्ला बसोबासका हिसाबले सुगम र सुन्दर मानिए पनि कतिपय स्थानबाट बसाइँ सरी तराई झर्नेको सख्ंया बढ्दो छ। स्थानीय तह गठन हुनुअघि गाउँगाउँबाट सदरमुकाम आई बसोबास गर्नेको संख्या बढ्दो क्रममा थियो। अहिले पहाडी क्षेत्रबाट तराईतिर बसाइँ जानेको संख्या बढ्दो छ।

प्रकाशित: ३० फाल्गुन २०७९ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App