पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका पशुपतिनगरमा ३ वर्षअघि खुलेको अध्यागमन कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन। गृहमन्त्री नै हेलिकप्टरमा आएर ‘तामझाम’साथ उद्घाटन गरेको कार्यालय अहिलेसम्म काम शून्य छ।
स्थानीयको वर्षाैंको दबाब र प्रतीक्षापछि २०७६ वैशाख १५ मा सरकारले पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आउ–जाउ सहज बनाउनेगरी यहाँ अध्यागमन कार्यालय खोलेको थियो। तत्कालीन गृहमन्त्री रामबहादुर थापा आएर अध्यागमन कार्यालय उद्घाटन गरेका थिए। र, उनले भनेका थिए– पूर्वीपहाडको यो ढोका पर्यटकको मात्र होइन, मुलुककै विकास र समृद्धिको ढोका हो। तर, उनले यसो भनेको ३ वर्ष बित्दा कार्यालयमा कर्मचारी त करिब पदपूर्ति भएको छ तर सेवाप्रवाह हुन सकेको छैन।
भारतपट्टि यही प्रकृतिको कार्यालय नखुल्दा पशुपतिनगरको अध्यागमन कार्यालय कामविहीन भएको हो। भारतपट्टि कार्यालय नहुँदा भारततिरबाट नेपाल घुम्न आउन चाहने र नेपालबाट भारततिर जान चाहने तेस्रो मुलुकका पर्यटकले सास्ती खेप्नुपरेको छ। यहाँसम्म पुगेका पर्यटक सीमापार गर्न नपाउँदा झापाको काँकरभिट्टा धाउन बाध्य छन्।
कार्यालयमा शाखा अधिकृतस्तरका प्रमुख छन्। यहाँ काम नभएपछि उनी काँकरभिट्टा कार्यालयमै बसेर काम गरिरेहका छन्। २ नायब सुब्बा, १ खरिदार, १ सहायक कम्प्युटर अधिकृत, १ सहायक लेखापाल र २ कार्यालय सहयोगीको दरबन्दी छ। यी दरबन्दीमध्ये सबैजसो पदपूर्ति पनि भएको छ। तर, कार्यालयको सेवा भने ठप्प छ।
कार्यालय प्रमुख रेवन्त भट्टराईले भारतपट्टि यही प्रकृतिको कार्यालय नखुल्दा पशुपतिनगरको अध्यागमन कार्यालयमा कुनै काम हुन नपाएको बताए। ‘हामीलाई नेपालपट्टिबाट काम गर्न कुनै समस्या छैन तर भारतपट्टि कार्यालय नहुँदा पर्यटकले सेवा पाउन सकेका छैनन्,’ उनले भने, ‘यहाँ सेवा लिन आएका पर्यटकलाई झापाको काँकरभिट्टा पठाउने गरिएको छ।’
उनले कार्यालय कामविहीन भइरहेकोबारे अध्यागमन विभागमा समेत पटक–पटक जानकारी गराएको बताए। ‘हामीले भारतपट्टि अध्यागमन नहुञ्जेल यताको कार्यालयको पनि काम नहुने भएकाले कि उतापट्टि कार्यालय खोल्ने पहल गर्न, कि यताको कार्यालयको संरचना परिवर्तन गर्नसमेत सुझाएका छौं,’ उनले भने, ‘त्यसमा पनि भारतपट्टि अध्यागमन खुल्यो भने सबैभन्दा राम्रो हुनेछ।’ सिडिओ श्रवणकुमार पोख्रेलले आफू सरुवा भएर इलाम आउनेबित्तिकै यो कार्यालयको सेवाबारे जानकारी लिएको बताए। ‘अध्यागमन कार्यालयले सेवा दिन नपाएको थाहा भयो तर यसबारे मैले माथिल्लो निकायमा थप फलोअप गर्न पाएको छैन,’ उनले भने, ‘अब पहल गर्नेछु।’
विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले पनि भारतपट्टि अध्यागमन नखुल्दा पशुपतिनगरको अध्यागमन कार्यालय कामविहीन भएको बताए। ‘हामीले हाम्रो तर्फबाट भारतपट्टि कार्यालय खुलाउन पनि पहल त गरिरहेकै छौं तर सफल भएको छैन,’ उनले भने, ‘पशुपतिनगर सीमामा अध्यागमन खुलाउन भारतीय पक्ष चाहिँ वेट एन्ड सी (पर्ख र हेर)को अवस्थामा देखिन्छ। हामीले पनि आफ्नो तहबाट प्रयासमात्रै गर्ने हो।’
भौगोलिक हिसाबले पूर्वीपहाडमा पशुपतिनगरजस्तो सहज नाका अरूतिर छैन। त्यसैले पनि स्थानीयले यो नाका खुलाउन र अध्यागमन स्थापना गर्न लामो समयदेखि पहल गरेका थिए। स्थानीय अगुवा मिलन क्षेत्रीले स्थानीयको ठूलो दबाबपछि खुलेको अध्यागमन कामविहीन हुनु पूर्वीपहाडकै लागि दु:खद् भएको बताए। ‘हामीले संघर्ष गरेर खुलाएको अध्यागमन कार्यालय कामविहीन हुनु विडम्बना हो,’ उनले भने, ‘नेपाल सरकारले भारतसँग कुरा गरेर तुरुन्त भारतपट्टि कार्यालय खोल्ने वातावरण मिलाउन सक्नुपर्छ।’
यो नाकाबाट पूर्वीपहाडको मात्र नभइ, सिंगो मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग आशा स्थानीयलाई छ। यहाँ खुलेको अध्यागमनले भारतको दार्जिलिङ, सिक्किम आउने तेस्रो मुलुकका पर्यटक भिœयाउन, नेपालबाट भारततिर जानमात्र होइन, सीमा क्षेत्रको शान्ति–सुरक्षामा समेत सघाउने स्थानीय बताउँछन्। सूर्याेदय नगरपालिकाले समेत यहाँ अध्यागमन खुलाउन पटक–पटक संघीय सरकारको ध्यानाकर्षण गरेको थियो।
‘पहाडकी रानी’ मानिने भारतको पर्यटकीय सहर दार्जिलिङ यहाँबाट करिब ५० किलोमिटरमा छ। दार्जिलिङमा बर्सेनि आउने तेस्रो मुलुकका लाखौं पर्यटक पशुपतिनगरबाट नेपाल छिर्न नपाउँदा उतैबाट फर्किंदैछन्। पशुपतिनगरमा अध्यागमन खुलेपछि दार्जिलिङ आउने पर्यटकले नेपालका लागि यहींबाट प्रवेशाज्ञा (भिसा) पाउने आशा थियो।
यहाँको अध्यागमनले तेस्रो मुलुकका पर्यटकलाई १५, ३० र ९० दिनसम्मको प्रवेश भिसा जारीसहितका काम गर्नसक्ने विभागको भनाइ छ। यो कार्यालयलाई प्रवेश भिसा लिएर आएका विदेशीलाई आगमन अनुमति जारी गर्ने, यो नाका भइ प्रस्थान गर्ने विदेशीलाई प्रस्थान अनुमति दिने, विदेशीको आगमनसम्बन्धी विवरण अध्यावधिक राख्ने र अध्यागमनसम्बन्धी अभिलेख प्रत्येक साता विभागमा पठाउनुपर्ने जिम्मेवारी तोकिएको छ।
कार्यालय सञ्चालनमा आए इलाम, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह«थुम, संखुवासभालगायत पूर्वी जिल्ला घुम्न आउने पर्यटकलाई सेवा पुग्नेछ। पशुपतिनगरमा अध्यागमन सञ्चालन भए ठूलो संख्यामा उतापट्टि (दार्जिलिङ, भारत) आएका पर्यटक पूर्वीपहाड भिœयाउन सकिने सूर्याेदयका मेयर रणबहादुर राई बताउँछन्। सूर्याेदय नगरलाई प्रदेश सरकारले पर्यटकीय नगर घोषणा गरिसकेकाले यहीं अध्यागमन खुल्दा सूर्याेदय र इलामलाई मात्र होइन, पूर्वीपहाडका सबै जिल्लालाई सहयोग पुग्ने उनले जनाए।
नजिकैको दार्जिलिङसम्म पर्यटक घुमाउन ल्याउने त्यहाँका व्यवसायीले आधा घण्टाका लागि ‘नेपाल घुम्ने’ प्याकेजसमेत राखेका हुन्छन्। भारतीय पर्यटकलाई भिसा नलाग्ने भएकाले आधा घण्टाको समय पशुपतिगर आएर उनीहरू साधारण किनमेल गर्छन् र फर्किन्छन्। मुद्रा सस्तो हुने भएकाले भारतभन्दा कम खर्चमा इलामलगायत पहाडी जिल्लाका रमणीय स्थान घुम्ने रहर बोकेका तेस्रो मुलुकका पर्यटक चाहिँ सीमासम्म आएर फर्किने गरेका छन्।
इलामको सबैभन्दा अग्लो डाँडो सन्दकपुर (३ हजार ६ सय ३६ मिटर) पनि पशुपतिनगरबाट नजिकै पर्छ। विश्वको सर्वाेच्च शिखर सगरमाथा देखिने भारतको नेपालसँग जोडिएको एकमात्र द्वार सन्दकपुरमा भारतपट्टिबाट बर्सेनि हजारौं पर्यटक आउँछन्। त्यतिमात्र होइन, यहाँ बर्सेनि तेस्रो मुलुकका पर्यटन व्यवसायी संस्थाले पर्यटकका लागि ‘साइकल रेस कम्पिडिसन’समेत आयोजना गर्छन्। तर, त्यहाँसम्म आएका पर्यटक नेपाल छिर्न भने नपाएर उतै फर्किने गरेका थिए।
यहाँ अध्यागमन सञ्चालन भए सन्दकपुर आउने पर्यटक इलामका ग्रामीण पर्यटकीय क्षेत्र, माइमझुवा, माबु, जमुनाको दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षित क्षेत्र चोयाटार वन, विश्व सम्पदा सूचीमा सूचीकृत माइपोखरीलगायत घुम्न सक्नेछन्। दार्जिलिङ आएका ५ प्रतिशत पर्यटकमात्र नेपाल छिराउन सके इलामको आर्थिक विकासमा ठूलो सहयोग हुने पर्यटन प्रवद्र्धन क्षेत्रमा क्रियाशील केशव धौराली बताउँछन्।
प्रकाशित: २१ फाल्गुन २०७९ ०६:१८ आइतबार