११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

डुबायो डुंगाले

इलाम- महमाई र दानाबारी गाविसबीच माइखोलाको बाढी छिचोल्न नसक्दा आधा दर्जन बढी गाविसवासी बर्खा सुरु नहुँदै त्राहीत्राही हुन्थे। माइखोला तर्ने क्रममा हेलिँदा कतिपयको ज्यानै जान्थ्यो। दस वर्षअघि जसोतसो डुंगा चल्न थालेपछि त्रास रहे पनि खोला तर्न पाएका थिए।

शुक्रबार माई तर्ने त्यही साधन स्थानीयका निम्ति गम्भीर क्षति बोकेर हेलियो।

दसैंका बेला यात्रुले खचाखच डुंगा बाढीसँगै उर्लिएको माइखोलामा बिलायो। डुंगामा रहेका ८ यात्रुले ज्यान गुमाए। आइतबार बेलुकासम्म ७ को मात्रै सनाखत भएको छ। दसैं मनाउन आफन्तकहाँ आउ–जाउ गर्ने र शुक्रबारे हाटबाट फर्किएका करिब ५० यात्रु चढेको डुंगा माइखोलाले एकैछिनमा निल्यो।

दिनहुँ दर्जनौं यात्रु तारेर गन्तव्य पठाउने त्यही डुंगाले सर्वस्व डुबाइदियो। इलामको दानाबारीबाट महमाई गाविस तर्न लाग्दै गरेको डुंगा शुक्रबार दिउँसो पौने २ बजेतिर दानाबारी–७ र महमाई–८ बीच पर्ने लोदिया दोभानमा डुबेको हो।

प्रहरीका अनुसार इलाम महमाई–२ का ५८ वर्षे हर्कबहादुर मगर, ४५ वर्षीया डम्बरमाया मगर, महमाई–१ का ७५ वर्षे जसबहादुर राई र महमाई–२ की ३९ वर्षीया पवित्रा पौडेलको शव फेला परेको छ। डुंगासँगै डुबेका मोरङ मधुमल्ला–२ का बालिकाहरू ६ वर्षीया अञ्जली र पुष्पा खड्काको पनि शव भेटिएको प्रहरीले जनाएको छ। तेह्रथुमका ३५ वर्षे कृष्ण घतानी, पुष्पा र नाम नखुलेका २८–३० वर्षे युवकको शव शनिबार फेला परेका थिए।

जसबहादुर र डम्बरमायाको शव डुंगा डुबेको स्थानभन्दा केही तल माई र गरुवाखोलाको दोभानमा भेटिएको थियो। पवित्रा, हर्कबहादुर र अञ्जलीको शव अझै तल चेप्टीमा तथा कृष्ण, पुष्पा र नाम नखुलेका युवकको शव भने डुंगा डुबेको स्थानभन्दा निकै तल झापाको शिवगञ्ज गाउँमा फेला परेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

शुक्रबार राति १० बजेसम्म प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले डुंगासँगै डुबेका २० महिला र १४ पुरुषको उद्धार गरेका थिए। केही यात्रु भने बालबच्चासहित पौडिएर निस्केका थिए। घटनामा ज्यान गुमाउनेमा महमाई गाउँका मात्रै ४ जना छन्। उनीहरूको मृत्युसँगै वर्षौंदेखिको जोखिमपूर्ण डुंगा यात्राको पिरलो सम्झेका महमाईवासी शोकमा छन्।

शुक्रबार राति र शनिबार दिनभर बेपत्ताको खोजी गरिए पनि आइतबार भने स्थगित गरिएको छ। ‘बेपत्ता कोही छन् या छैनन् भन्ने सूचना नै पाउन नसकेपछि खोजी स्थगित गरेका हौं,' प्रजिअ दाहालले भने, ‘मेरो आफन्त वा फलानो व्यक्ति बेपत्ता छ भन्ने सूचना नआएकाले खोजी कार्य रोक्नुपरेको हो।' बेपत्ता डुंगा भने डुबेको स्थानभन्दा करिब १ किलोमिटर तल फेला परेको थियो।

 मंगलबारदेखि शुक्रबारसम्म मेचीका इलाम, पाँचथर, ताप्लेजुङ र झापामा अविरल वर्षा भएको थियो। वर्षापछि खोलामा आएको बाढीले डुंगा अनियन्त्रित भएको हुनसक्ने अनुमान छ। तर, प्रहरीले भने क्षमताभन्दा अधिक यात्रु नै दुर्घटनाको कारण भएको बताएको छ। पौडेर निस्किएका डुंगा चालक महमाई–८ का पर्शु बाँस्तोलालाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी सुशीलकुमार यादवले बताए। ‘घटनास्थलमा तत्काललाई एक पटकमा १५ यात्रु मात्र डुंगामा चढाउन पाउने नियममा कडाइ गरेका छौं,' उनले भने, ‘यात्रुका लागि पनि प्रहरी र नेपाली सेनाका तर्फबाट १७ लाइफ ज्याकेट प्रदान गरेका छौं।'

डुंगा डुबेको स्थान सदरमुकामभन्दा करिब ५० किलोमिटर टाढा दुर्गम क्षेत्रमा पर्छ। सदरमुकामबाट त्यहाँ पुग्न झापाको बुधबारे, शनिश्चरे हुँदै जानुपर्छ। हिउँदमा राजदुवालीबाट छोटो बाटो जान सकिने भए पनि वर्षायाममा यो कच्ची सडक बन्द हुँदा महमाई, बाँझो, चुलाचुली, दानाबारीलगायत गाउँका बासिन्दाले सास्ती खेपिरहेका छन्। सदरमुकामबाट जसोतसो चन्डालघाट (डुंगा डुबेको स्थानभन्दा १ किमीमाथि) पुगिए पनि दानाबारी र महमाईबीचको माइखोला तर्न डुंगाको सहारा लिनुपर्छ। यहाँ खोलो वारपार गर्न ५ मिनेट मात्र डुंगा चढ्नुपरे पनि निकै जोखिमयुक्त हुने गरेको यात्रुको अनुभव छ।

महमाई गाविसका धनवीर योङहाङले यहाँ डुंगा चल्न थालेको करिब दशक भएको सुनाए। ‘पहिला हिउँदमा हिँडेर खोलो पार गर्थ्यौं, वर्षामा पुरुषहरू मात्रै पौडिएर गाउँबाहिर आउ–जाउ गर्थ्यौं,' उनले सम्भि्कए, ‘करिब १५ वर्षअघि ट्र्याक्टरका टायर बाँधेर मानिस आउ–जाउ गर्ने साधन बन्यो। त्यसपछि डुंगा चल्न थालेको हो।' अहिले यहाँ ३ डुंगा सञ्चालनमा छन्।

उनले वर्षामा यहाँ डुंगाको विकल्प नभएको बताए। तर, डुंगा सञ्चालकहरूले नियम उल्लंघन गर्दा दुर्घटनाको जोखिम बढिरहेको उनको भनाइ छ। ‘यहाँ डुंगा चढेवापत एक पटकलाई २० रुपैयाँ भाडा तोकिएको हो। डुंगाले एकचोटिमा १५ यात्रु मात्रै बोक्न पाउने नियम पनि रहेछ,' उनले सुनाए, ‘तर, ४५ देखि ६० यात्रु एकैपटक कोच्ने र भाडा पनि ४० देखि ६० रुपैयाँसम्म मनपरी असुली भइरहेको छ।' तर, योङहाङले गाउँलेलाई यातायात सहज नहुँदा जति सास्ती छ, डुंगा पनि नचल्दाको सास्ती त्यसभन्दा निकै गुणा हुन सक्ने पनि बताए।

 दानाबारीका अगुवा ध्रुव श्रेष्ठले चन्डालघाटमा पक्की र माइखोलाको दानाबारी–१ स्थित भटभटेमा झोलुंगे पुल निर्माणाधीन रहेपनि काम नसकिँदा स्थानीयले जोखिम मोलेर यात्रा गर्नु परिरहेको सुनाए। ‘हत्केलामा ज्यान राखेर बाढीले बहुलाएको खोलामा काठको डुंगा चढ्नु स्थानीयको दशकदेखिको बाध्यता हो,' उनले सुनाए, ‘तर, सामान्यबाहेक शुक्रबारको जस्तो ठूलो घटना भइहालेको थिएन।'

उनले निर्माणाधीन पुलको काम छिटो सक्न स्थानीय र सम्बन्धित निकायले दबाब सिर्जना नगरे डुंगाको जोखिम कायमै रहने जनाए।

माइखोलाको पक्की पुल बन्न ढिलाइ भएको भन्दै स्थानीय महिनौयता गुनासो गरिरहेका छन्। आधा दर्जन गाविस लाभान्वित हुने यो पुल ५ वर्षमा निर्माण सक्ने सहमतिसहित २०६९ असार २६ मा थालिएको हो।

साढे ५ सय मिटर लम्बाइको पुल सम्पन्न हुन ढिलो हुँदा बर्खाका बेला स्थानीयले सास्ती खेप्नु परेको हो। क्षेत्रीय सडक डिभिजन कार्यालयअन्तर्गत २५ करोड ७१ लाख ७३ हजार रुपैयाँको लागतमा पुल निर्माण भइरहेको हो। तर, ठेक्काअवधि सकिन १ वर्ष बाँकी रहँदा २५ प्रतिशतमात्र काम भएको भन्दै स्थानीय चिन्तित छन्। पुल सम्पन्न हुँदा महमाई, बाँझो, चुलाचुली, साकफारालगायत गाउँका बासिन्दा लाभान्वित हुनेछन्। बर्खाको समयमा त्यस क्षेत्रका उत्पादित कृषि सामग्री झापा, मोरङलगायत जिल्लामा ओसापसार गर्न र विद्यार्थी पनि उच्च शिक्षा अध्ययनका लागि जोखिम मोलेर जानुपर्ने बाध्यता पुल निर्माणपछि हट्नेछ।

डुंगा दुर्घटनापछि पुल निर्माणको काम छिटो सक्न दबाब आएकाले माथिल्लो निकायमा उनीहरूको आग्रहअनुसार पहल गरिदिने प्रजिअ दाहालले बताए।

प्रकाशित: १ कार्तिक २०७३ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App