१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

यती एयर दुर्घटनाः फरक अंग भेटिँदा पहिचानमा समस्या

पत्रकार पौडेलको अन्तिम संस्कार हुँदै

पोखरामा पत्रकार त्रिभुवन पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन पत्रकार महासंघ कास्कीमा भेला भएका पोखरेली पत्रकार र सर्वसाधारण। तस्बिरः उमेश पुन/नागरिक

गत आइतबार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा परेका यात्रुको शव पहिचान गर्न निकै नै समस्या परेको छ। अंगभंग भएको अवस्थामा शवका टुक्रा फेला परेकोले व्यक्ति पहिचानमा समस्या भएको प्रहरीले बताएको छ। व्यक्ति पहिचान मात्र नभई कुन अंग कसको भन्ने पनि छुट्याउन नसकिएको प्रहरीले बताएको छ।  

कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अनुसार अहिलेसम्म ७० जनाको शव फेला परेको छ। तर, केही व्यक्तिको हातखुट्टा मात्र छुट्टिएको अवस्थामा फरक फरक ठाउँबाट फेला परेकोले ती पनि हराएका व्यक्तिको हुन सक्ने आशंका छ। खड्काका अनुसार दुर्घटनास्थलबाट भेटिएका फरकफरक अंगलाई पनि एकै व्यक्तिको भएको आशंकाका आधारमा अहिलेसम्म ७० जनाको शव फेला पारेको विवरण तयार पारिएको छ।  

‘केहीका हात र खुट्टा मात्र फेला परेका छन्। त्यसैले ती एकै व्यक्तिको हो भन्ने शंकाको आधारमा अहिलेसम्म ७० जनाको शवको विवरण तयार भएको हो,’ उनले भने, ‘केही गरि ती अंग फरक व्यक्तिका रहेछन् भन्ने पुष्टि भएमा ७२ जनाकै शव भेटिएको हनेछ ।’ शरिर जलेको अवस्थामा हातखुट्टा मात्र फेला परेकोले एकै व्यक्तिको हो वा फरक भन्ने खुट्याउन समस्या भएको उनले बताए।  

‘फरक फरक अंग भिन्दाभिन्दै ठाउँमा फेला परेका छन्। तर, व्यक्ति फरक हो वा एउटै भन्ने छुट्याउन गाह्रो भयो,’ उनले भने, ‘यदि व्यक्ति फरक हो भने ७२ जनाकै शव फेला परेको पुष्टि हुन्छ, त्यसको अर्थ खोजी गर्न जरुरी पर्दैन। तर, एउटै व्यक्तिको भएको खण्डमा भने खोजि जारी रहन्छ। अहिले पनि खोजी भने चलिरहेको छ।’ हात खुट्टा मात्र भेटिएकोले २ जना यात्रुको पहिचान गर्न समस्या परेको उनले बताए।

प्रहरीले दुर्घटनामा मृत्यु भएका ४८ जनाको शव काठमाडौं पठाइएको छ। ती मध्ये २३ जनाको त सनाखत नै भएको छैन। बाँकी २५ जनाको भने सनाखत भएको छ। तर, उनीहरुको थप परीक्षण गर्नुपर्ने भएकोले शव काठमाडौं पठाइएको हो। पोखरामा भने २२ जनाको शव मात्र राखिएको छ।  ती मध्ये ८ जनाको शव अहिलेसम्म परिवारले बुझेका छन्। बाँकीको पोष्टमर्टम चलिरहेको प्रवक्ता खड्काले जानकारी दिए। ‘व्यक्ति पहिचान भएको छ तर पोष्टमर्टमा बाँकी रहेकोले ढिला भएको हो,’ उनले भने।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा गत आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना घटेको थियो। यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर७२–५०० सिरिजको जहाज दुर्घटनामा परेका ७० जनाको ज्यान गएको पुष्टि भईसकेको छ। अझै २ जनाको भने अवस्था अज्ञात छ। चालक दलका चारजना सदस्य सहित ५७ जना नेपाली नागरिक  १५ जना विदेशी पनि पोखरामा भएको यो हवाईजहाज दुर्घटनामा परेका थिए।  

पत्रकार पौडेलको अन्तिम संस्कार हुँदै

यसैबीच जहाज दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको अन्तिम संस्कारको तयारी हुँदैछ। शान्तिघाटमा अन्तिम संस्कारका लागि शव घाटमा पु¥याइएको छ। यसअघि पत्रकार पौडेलको शव बिहान अस्पतालबाट निवास हुँदै पत्रकार महासंघमा लगेर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अघिकारी सहित दलका नेताहरु, पत्रकार, व्यवसायी र पोखरेली सहभागि थिए। ठुलो संख्यामा पोखरेली पौडेललाई श्रद्धाञ्जली दिन महासंघ पुगेका थिए।

प्रकाशित: ३ माघ २०७९ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App