जलवायु परिवर्तनको विद्यमान अवस्था कायम रहँदा विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुनसक्ने एक अध्ययनले देखाएको छ। यो शताब्दीको अन्त्यसम्म पृथ्वीको सरदर तापमान २.७ डिग्री सेन्टिग्रेडले बढ्दा विश्वका ६८ प्रतिशत हिमनदी विलुप्त हुने देखिएको हो।
गत साता विश्वप्रसिद्ध जर्नल साइन्समा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार पृथ्वीको तापमान १.५ डिग्रीले मात्र बढेको अवस्थामा यो शताब्दीको अन्त्य (सन् २१००) सम्म विश्वभरिका आधा हिमनदी हराउनेछन्। यसमा पनि आधाजसो हिमनदीको अस्तित्व सन् २०५० भित्रै समाप्त हुनेछ।
यसरी अस्तित्वको संकटमा रहेका अधिकांश हिमनदी एक वर्ग किलोमिटरभन्दा साना क्षेत्रफलका भए पनि विलुप्त हुँदा स्थानीय जलवायु, पर्यटन, हिमनदीजन्य जोखिम तथा सांस्कृतिक पक्षमा नकारात्मक प्रभाव पर्ने अध्ययनको निष्कर्ष छ। ग्रिनल्यान्ड र अन्टार्टिकामा रहेको हिउँको तह (आइस सिट) बाहेक विश्वका जमिनमा आधारित सम्पूर्ण २ लाख १५ हजार हिमनदी (ग्लेसियर) को अध्ययन गरी यस्तो निष्कर्ष निकालिएको हो।
सन् २०१५ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौताले औद्योगिक क्रान्ति सुरु हुनुअघिको अवधिको तुलनामा पृथ्वीको तापमान वृद्धिलाई २ डिग्री सेन्टिग्रेडभन्दा बढी हुन नदिन र सकेसम्म यसलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने लक्ष्य किटान गरेको छ। सन् २०२१ मा बेलायतको ग्लास्गोमा सम्पन्न जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २६) ले पनि यो लक्ष्य हासिलमा प्रतिबद्ध रहनेमा जोड दिएको थियो। तापमान वृद्धिका लागि जिम्मेवार मानिने हरितगृह ग्यास उत्सर्जन कटौतीका लागि विश्व समुदायलाई महत्त्वाकांक्षी लक्ष्य तय गर्न ग्लास्गो सम्मेलनले निर्देश गरेको थियो। गत नोभेम्बरमा इजिप्टमा सम्पन्न कोप-२७ ले ग्लास्गो प्रतिबद्धता कार्यान्वयनमा पुनः जोड दिए पनि कार्बन उत्सर्जन कटौतीमा ठोस कदम चाल्न सफल भएन।
नयाँ अध्ययनमा विश्वको सरदार तापमान वृद्धिका विभिन्न परिदृश्यमा आधारित रहेर हिमनदी पग्लने क्रममा आउने परिवर्तनको समीक्षा गरिएको छ। कम्प्युटर सिमुलेसनका आधारमा गरिएको अध्ययनमा पृथ्वीको तापमान १.५, २, ३ र ४ डिग्री सेन्टिग्रेडका दरले बढ्दा हिमनदीमा पर्ने प्रत्यक्ष प्रभाव र यसले हिउँको थुप्रोमा पार्ने क्षतिका विषयमा केन्द्रित छ। तापमान वृद्धिको विभिन्न दरको आधारमा पृथ्वीमा रहेका हिमनदीहरू सन् २१०० सम्म ५० देखि ८३ प्रतिशतसम्म विलुप्त हुने अध्ययनको प्रक्षेपण छ।
सन् २०२१ सम्म पृथ्वीको तापमान २.७ डिग्री सेन्टिग्रेडले बढ्दा ४ सय ८५ खर्ब टन बरफ पग्लने अध्ययनको आकलन छ। यो पृथ्वीमा रहेको सम्पूर्ण हिउँको थुप्रो (ग्लेसियर मास) को ३२ प्रतिशत हो। हिमनदी पग्लने विभिन्न दरको आधारमा समुद्र सतह कम्तीमा ९ देखि १६.६ सेन्टिमिटरले बढ्ने आकलन गरिएको छ। अध्ययनमा संलग्न अमेरिकाको कार्नेगी मेलोन विश्वविद्यालयका जलवायु वैज्ञानिकहरूले यसरी हिमनदी पग्लँदा करोडौं मानिसले स्वच्छ पानीको स्रोत गुमाउने र हिउँपहिरो तथा बाढीजस्ता जोखिम बढ्ने क्रममा तीव्रता आउने बताएका छन् ।
यो अवस्थामा अलास्कादेखि आल्पस र नेपालको सगरमाथाको आधार शिविरसम्म हिउँले ढाकेका क्षेत्र गुम्ने देखिएको छ। यसअघि गरिएका अध्ययनहरू ठूला हिमनदी र क्षेत्रीय प्रक्षेपणमा बढी केन्द्रित थिए। अनुसन्धानकर्ताले नयाँ अध्ययनले विश्वका हरेक हिमनदीको अवस्था समीक्षा गरेको र यसअघि गरिएका आकलनभन्दा बढी चिन्ताजनक अवस्था देखाएको बताएका छन्।
खनिज इन्धनको प्रयोग र लगानीमा भइरहेको विद्यमान वृद्धिलाई नरोक्दा विश्वबाट सबै हिमनदी हराउन सक्ने अध्ययनको आकलन छ।
‘निरन्तर रूपमा हरेक कारणले तापमानमा भइरहेको वृद्धिले हिमनदी पग्लने र समुद्री सतह बढ्ने देखिन्छ। यसले स्थानीय जलविज्ञान र पारिस्थितिकीय प्रणालीलाई प्रभाव पार्ने देखिन्छ भने प्राकृतिक विपद् पनि बढ्नेछ,’ अध्ययनको निष्कर्ष खण्डमा छ।
अध्ययनमा संलग्न अनुसन्धानकर्ताले पहाडी क्षेत्रमा आधारित तथा अत्यधिक जोखिममा रहेका हिमनदी जोगाउन विश्वले कार्बन उत्सर्जनलगायत महत्त्वाकांक्षी लक्ष्य र कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित: २७ पुस २०७९ ०१:४१ बुधबार