५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

विपन्न तथा दलित समुदायलाई न्यानो कपडा सहयोग

अत्यधिक जाडोले जनजीवन प्रभावित हुन थालेपछि अत्यधिक विपन्न र दलित समुदायलाई न्यानो कपडा वितरण थालिएको छ।  रौतहट र सर्लाहीको विभिन्न गाउँमा अति प्रभावितलाई जाडोबाट जोगाउन न्यानो कपडा प्रदान गरिएको हो।  

सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ कामदस्थित मुसहर बस्तीका बालबालिकालाई गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट प्राप्त १५० थान ज्याकेट प्रदान गरिएको छ।  मुसहर बस्तीमा पुगेर नै सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, वडाध्यक्ष रामस्वरुप राउतलगायतले अति प्रभावित विपन्न मुसहर बालबालिकालाई न्यानो ज्याकेट प्रदान गरेका छन्।  

मन्त्रालयबाट प्राप्त न्याना कपडा तथा जुत्ता यसरी विभिन्न बस्ती र विद्यालयमा पुगेर वितरण गर्ने क्रम जारी छ।  सर्लाहीमा केहीदिनदेखि बढ्दो चिसोले सबैभन्दा धेरै मुसहर समुदाय प्रभावित छन्।  

यसै गरी पूर्व डिआइजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले रौतहट जिल्लाको विभिन्न गाउँमा जाडोबाट प्रभावितलाई न्यानो लुगा वितरण गरेका छन।  

खरेलले रौतहटको गढीमाई नगरपालिकाको मलाही, धनाडी, लक्ष्मीपुर, मदनपुर लगायतको गाउँका २५ घरपरिवारलाई जाडोबाट जोगिने न्यानो कपडा प्रदान गरेका हुन्।  

अति विपन्न र जाडोबाट प्रभावित परिवार छनौट गरी खरेलले एउटा घरमा सम्पूर्ण सदस्यलाई पुग्ने गरी १० थान जयकेट, बलाङकेट, सर्ट, कुर्ता सुरुवाल, टोपी, साडी, चादर लगायतका कपडा वितरण भएका हुन्।  

गत हप्तादेखि रौतहट र सर्लाही लगायतका जिल्लामा अत्यधिक जाडोले जनजीवन प्रभावित बन्न पुगेको छ।  वर्षको सबै भन्दा चिसो शनिवार महसुस गरिएको छ।  शनिवार बिहान रौतहटको तापक्रम करिब सात डिग्री रहेको थियो।  

प्रकाशित: २३ पुस २०७९ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App