४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

हात्ती गाउँ प्रवेश गरेपछि स्थानीय त्रासमा

फाइल तस्वीर

धरानको बराहक्षेत्र नगरपालिका भरौल र नडाहामा रातको समयमा हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरि जाग्राम बस्न बाध्य भएका छन्।

दैनिक बीस वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित छन्। हात्ती नडाहाको जंगलमा दिनभरि बस्ने र साँझ परेपछि बस्ती पसेर बालीमा नोक्सान पुर्‍याएको स्थानीय महेन्द्र कार्कीले बताए।

‘साँझ परेपछि हात्तीको बथानै गाउँ प्रवेश गर्ने गरेका छन्। स्थानीयका फलफूल, केरा लगायतका अन्य बाली नोक्सान पुर्‍याउँदै आएका छन्’, भरौलबासी नीरकुमार कार्कीले भने, ‘साँझ परेपछि मानिसहरू हात्ती धपाउन तयार हुनुपर्छ। जंगल नजिक घर हुने रातभर निदाउन पाउँदैनन्।’

पन्ध्र दिन अघिदेखि हरेक राति हात्तीको बथान नजिकैको चारकोसे जंगलबाट गाउँ प्रवेश गर्दै छन्। हात्तीले मानिसमाथि नै आक्रमण गर्ने भयले स्थानीय भेला भएर बस्दै आएका छन्।

एकदिन अठ्ठाइस वटा हात्ती आफूले देखेको स्थानीय महेन्द्र कार्कीले बताए। बराहक्षेत्र नगरपालिका-३ का वडाध्यक्ष राजदिप लामाका अनुसार बराह क्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरियाबीच पानी, विसाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिंदैं आएका छन्। हात्तीले वडा नं ३ मा दुई वटा घर क्षति पुर्‍याएको वडाध्यक्ष लामाले बताए।

बाक्लो बस्ती भएको यो क्षेत्र जंगलसँग जोडिएको छ। वडा नं १, २, ३ र ५ जंगलसँग जोडिएका घना बस्ती पर्छ।

कार्कीले नडाहा क्षेत्रको कालिन्द्र सामुदायिक वन उपभोक्ता समूहले हात्ती आएपछि साइरन बजाएर खेदाउने गर्दै आएका छन्। स्थानीय, जनपथ प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिले निगरानी गरिरहेको वडाध्यक्ष लामाले बताए। हात्तीले क्षति पुर्‍याएका घरधनीलाई नगरपालिकाले राहत उपलब्ध गराउने नगर प्रमुख रमेश कार्कीले बताए। रासस    

प्रकाशित: २१ पुस २०७९ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App