७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पाँचथरको थर्पुमा खुल्यो आँखा उपचार केन्द्र

पाँचथरको याङवरक गाउँपालिकाको केन्द्र थर्पुमा याङवरक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ।

याङवरक गाउँपालिका र नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाको संयुक्त सहकार्यमा स्थापित आँखा उपचार केन्द्र उद्घाटन भएसंगै सेवा प्रवाह समेत सुरु भएको याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास) ले जानकारी दिए।

याङवरक गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक डिल्लीरमण पाण्डेले थर्पु स्थित सामुदायिक स्वास्थ्य इकाईको भवनमा स्थापित उपचार केन्द्रबाट अब दिनहुँ आँखा परीक्षण, उपचार तथा औषधि र चश्मा समेतको सेवा प्रवाह हुने जानकारी दिए।

आँखा उपचार केन्द्रको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री बसन्तकुमार नेम्बाङले शासकीय प्रणालीमा मात्र नभएर जनताका लागि आवश्यक पर्ने न्यूनतम् स्वास्थ्य सेवा समेतलाई जनताकै घरदैलोमा पुर्‍याउने यस कार्यले संघीयताको वास्तविक उद्देश्य पूरा गर्न प्रोत्साहित गर्ने बताए।

नेपाल नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष डाक्टर चेतराज पन्तले आँखाको समस्या निवारणका लागि नेत्र ज्योति संघ स्वयंसेवी भूमिकामार्फत सेवाग्राहीका घरदैलोमा पुग्दै आएको बताए। आँखा स्वास्थ्य क्षेत्रको महत्व बुझेर नेत्र ज्योति संघमार्फत सहकार्य गर्ने स्थानीय तहप्रति आभार व्यक्त गर्दै पन्तले आफुहरु तीनै तहका सरकारसंग सहकार्य गरेको नेपाललबाट अन्धोरोग निवारण गर्ने महान लक्ष्यमा रहेको उनको भनाई थियो।

उपचार केन्द्र सञ्चालन भएकोप्रति प्रसन्नता जनाउँदै पाँचथरको हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी,ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा र पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे सहितले उपचार केन्द्रलाई व्यवस्थित र सेवा प्रवाह प्रभावकारी बनाउन सल्लाह दिए।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङबोले थर्पुमा स्थापित आँखा उपचार केन्द्रले तीन जिल्लाका आसपासका सेवाग्राहीलाई सम्बोधन गर्ने बताईन्। याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेन लिम्बूले उपचार केन्द्र स्थापना भएसंगै यो गाउँपालिकाको स्वास्थ्य क्षेत्रको एक अंग बनेको जानकारी दिए।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाका सभापति मुक्तिराज पौडेलका अनुसार थर्पुमा स्थापित ताप्लेजुङको सिदिङ्वा, सिरिजङगा र पाथीभरा याङवरकका केहि क्षेत्र, पाँचथरको याङवरक,फालेलुङ र हिलिहाङ तथा तेह्रथुमको आठराई गाउँपालिकाका सेवाग्राहीलाई प्राथमिकताका साथ लक्षित गरी उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताए।

आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउन याङवरक गाउँपालिकाका निवर्तमान अध्यक्ष लेखनाथ घिमिरे,उपाध्यक्ष कमला योङया सहितका पदाधिकारीको पालामा नेत्र ज्योति संघ ताप्लेजुङसंग भएको सम्झौतालाई याङवरक गाउँपालिका नवनिर्वाचित पदाधिकारीले निरन्तरता दिएका छन्। सरकार अबिछिन्न उत्तराधिकार हुने भएकोले विगतमा सुरु भएका सकारात्मक अभियानलाई निरन्तरता दिएर उपचार केन्द्रलाई थर्पुमा भित्र्याउन सफल भएको याङवरक गाउँपालिका अध्यक्ष योङयाले बताए।

नेपाल नेत्र ज्योति संघद्धारा ताप्लेजुङको फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार नेपाल नेत्र ज्योति संघ ताप्लेजुङमार्फत चारवटा आँखा उपचार केन्द्र सञ्चालमा आएका छन्। 

फुङलिङमा रहेको आँखा उपचार केन्द्र बाहेक ताप्लेजुङको मेरिङदेन र आठराई त्रिबेणी गाउँपालिकाको सहकार्यमा दोभान बजारमा र पाँचथरको कुम्मायक गाउँपालिकाको सहकार्यमा पालिकाको केन्द्र यासोक बजारमा समेत यसअघिनै आँखा उपचार केन्द्र सञ्चालनमा, छन्फुङलिङमा डिचेन डोङ्गला र थर्पुमा याङवरक आँखा उपचार केन्द्र सञ्चालनमा छन्।

प्रकाशित: १८ पुस २०७९ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App