२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देशभर मनाइयो योमरी पुन्हि

१९औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पूर्णिमाका अवसरमा बिहीबार काठमाडौंमा आयोजित सांस्कृतिक र्‍यालीमा योमरी प्रदर्शन गरिँदै। तस्बिर: नागरिक

देशभरका नेवार समुदायले बिहीबार घरघरमा योमरी (मनपर्ने रोटी) खाएर योमरी पुन्हि (पूर्णिमा) मनाएका छन्। प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन विशेष प्रकारको रोटी योमरी खाएर योमरी पुन्हि मनाइन्छ। चामलको पिठोबाट बनेको एक प्रकारको रोटीभित्र चाकुको झोल अथवा खुवा राखेर योमरी पकाइन्छ।

योमरीका साथ भोज खाँदा नियमितजस्तो भोजन गर्ने चलन छैन। यस दिन योमरीका साथ चिउरा, तरकारी, मासुलगायतका परिकार राखेर भोजका रूपमा खाने चलन छ।

पर्वका दिन नेवार समुदायको परिवारमा विशेष उल्लास हुन्छ। यस क्रममा घरका महिलाहरू सबेरै उठेर नुहाइधुवाइ गरी चोखो हुन्छन्। साथै, बालबालिकाहरू यो दिन मिठोमसिनो खाई रमाउँछन्। पर्व एक दिनमै सकिँदैन। पर्वको चार दिनपछि विवाहिता छोरीहरू बोलाई सबैलाई लक्ष्मीको प्रसादका रूपमा योमरी बाँडिन्छ। पर्वका दिन योमरी खाने, बाँड्ने र पूजा गर्ने चलन छ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार वर्षको सबैभन्दा लामो रात पनि यही समयमा पर्छ। योमरी बनाउँदा योमरीको चुच्चो जति लामो हुन्छ, त्यो रातको समय त्यत्तिकै लामो हुने भनाइ उनको छ। त्यस्तै योमरीको सम्बन्ध मौसमसँग पनि जोडिएको उनी सुनाउँछन्।

नेवार संस्कृतिमा नयाँ घर बनाइसकेपछि छानाबाट योमरी गुडाउने चलन पनि यद्यपि छ। साथै यहाँका धरोहरको रूपमा चिनिने मठमन्दिर, देवालय, शिवालय बहाबहीको वर्षबन्धनको दिन छानाबाट योमरी गुडाउने गरिन्छ। योमरीसँग सम्बन्धित थुप्रै गीतहरू थिए, तर हिजोआज ती गीतहरू क्रमशः गाउन छोडिएका छन्। 

प्रकाशित: २३ मंसिर २०७९ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App