१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सौर्य ऊर्जाले गाउँ नै झिलीमिली बनेपछि दंग पोखरीबासी

जुम्लाको तिला गाउँपालिका-७ का मुनबहादुर रोकाया सौर्य ऊर्जाले गाउँ नै झिलीमिली बनेपछि दंग छन्। कहिल्यै पनि बिजुली सपना पूरा नहुने पीडा साँचेर बसेका रोकाया अहिले रातदिन सौर्य ऊर्जाको बिजुली बाल्दा दंग भएका हुन्।  

सल्लाको दियालोको भरमा अन्धकार रात काटेको सम्झदै आफूहरुले उज्यालो भनेकै दियालो सम्झेको उनले बताए। तर सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि वर्षौंदेखिको बिजुली बाल्ने धोको पूरा भएको उनी बताउँछन्। उनले भने,'यो गाउँ मात्र उज्यालो भएको होइन,सारा पोखरीबासीको मन उज्यालिएको छ।' 

‘गाउँमा पोलपोलमा बिजुली बालिएको छ। जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ। छिमेकी गाउँकाले समेत मोबाइल चार्ज गर्न पठाउने गरेका छन्। टीभी र वाईफाई चलाउनसमेत सजिलो भएको छ,’ मुनबहादुरले भने।

उत्पादन भएको सबै बिजुली खपत नहुने भए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्ने तयारी भइसकेको मुनबहादुरले बताए।

पोखरी गाउँकै धनबहादुर रोकाया सौर्य ऊर्जाले थप ऊर्जा दिएको बताउँछन्। उनले भने, 'गाउँ त २४ सैं घण्टा झिलीमिली भयो। त्योसँगै वर्षौंदेखि दियालोले कालो बनिसकेका मन समेत उज्यालो गरायो। यो भन्दा खुसीको क्षण के हुन सक्छ र ? पोखरी गाउँमा न बिजुली निकाल्ने खोला नै थियो। न त घरै पिच्छे सोलार किनेर बिजुली बाल्ने सपना पूरा गर्ने पैसा नै आउँथ्यो।'

गाउँमै कुटानी पिसानीको काम हुने भएपछि महिलाको कार्यबोझ घट्ने देखिएको अर्को बासिन्दा सुनबिर बुढाको भनाइ छ। घट्ट पिस्न न्यूनतम आधा घण्टादेखि एक घण्टा हिँडेर बास बस्नुपर्ने अवस्था छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३ करोड ३४ लाख ९६ हजार ५ सय १० रुपैयाँको लागतमा सौर्य ऊर्जा बालिएको हो। जसमा ३० लाख रुपैयाँ तिला गाउँपालिकाको साझेदारी रकमसमेत हालिएको छ। फागुनदेखि सौर्य ऊर्जा निकाल्नका लागि कामको थालनी भएको थियो। एक वर्ष नपुग्दै बिजुली बालेपछि स्थानीय चकित छन्। न बत्ती निकाल्ने खोला थियो न त बत्ती बाल्ने स्थानीयको धोको नै थियो  तर एकाएक सौर्य ऊर्जाले ओठमा मुस्कान र अनुहारमा चमक ल्याइदिएको छ। धूलो र धूवाँका कारण यहाँका नागरिक दमलगायतको श्वासप्रश्वास रोगले ग्रसित हुने गरेका छन्।  

स्थानीय अर्जुन रोकायाले भने,'अब धूलो र धूवाँबाट मुक्ति मिल्यो। गाउँको मुहार बदलियो। यो भन्दा गर्व गर्नलायक कुरा अरू छैन।'

दियालोको घरमा अध्ययन गर्ने विद्यार्थी र अन्धकारमा अध्यापन गराउने शिक्षक सबैभन्दा खुशी छन्। उनीहरू अहिले विद्युतीय उपकरण खरिद गरेर विद्यालयलाई डिजिटल बनाउने प्रयत्न गरिरहेका छन्। नागरिकको स्वास्थ्यमा निकै सुधार हुने आशा पलाएको छ। बिजुलीले जंगलको संरक्षण हुने देखिन्छ। किनकि दियालो निकाल्न रूख नै ढाल्नुपर्ने छैन। व्यक्तिगत रूपमा बिजुली बालेकाहरू र गरिबहरूले समान उज्यालो पाइराखेका छन्।

उनले भने  ‘व्यक्तिगत रूपमा सोलार किनेर बिजुली बालेका थिए। त्यो पनि पहुँचमा हुनेले मात्र। पढ्ने विद्यार्थीले सोचे अनुसारको अध्ययन गर्न पाउने भए। यो पनि खुशीको विषय नै हो। पोखरी गाउँमा सौर्य ऊर्जाको लागि कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले पहल गरेका थिए।  

कुनै कतैबाट पनि बिजुलीको सम्भावना नदेखेका भण्डारीले सौर्य ऊर्जाको विकल्प अघि सारेका थिए। पहिले हावा र सार्य ऊर्जाबाट विद्युत् निकाल्ने भनिएको थियो। तर हावाबाट बिजुली निकाल्दा दिगो नहुने देखिएको पूर्वमन्त्री भण्डारीले बताए। उनले भने, ‘पछि सोलार शिस्टम मात्र जडान गर्ने गरी डीपीआर बन्यो। त्यहीबमोजिम वैकल्पिक ऊर्जाले बिजुली बालिदियो।'

उनले जुम्लाको हरेक बस्ती उज्यालो बनाउन पहल भइरहेको बताए। भर्खरै ऊर्जा सचिबसँग भेट गरेर जुम्लाको ऊर्जा संकट समाधानका विषयमा छलफल भएको पनि उनले बताए।  

भण्डारीले भने, ‘वैशाखसम्म जुम्लालाई लोडसेडिङमुक्त गर्ने गरी पहल भइरहेको छ। जुम्लाको पातारासी गाउँपालिकामा चुकेनी जलविद्युत् निकालेर सबै घरमा बिजुली पुर्‍याइनेछ। स्रोत नभएका र बिजुली नपुगेका हरेक बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिनेछ।'

छरिएर रहेको बिजुलीलाई एकीकृत गर्ने र नयाँ उत्पादन हुने विद्युतको काम छिटो सम्पन्न गर्नेतिर ध्यान केन्द्रित गर्ने उनले बताए। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इन्जिनियर अमनुलहक अन्सारीले सौर्य ऊर्जाका माध्यमबाट बिजुली उत्पादनको काम सकिएको बताए। दुर्गम क्षेत्रमा गरिएको यो कामले निकै ठूलो राहत दिने उनको भनाइ थियो।

पोखरी गाउँमा ६० घर छन्। गाउँ नजिकै अर्को गोठीबस्ती छ। वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन्। गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पुर्‍याइएको छ। सबै गरेर १ सय २० घरमा बिजुली बालिएको छ। ५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा ६ बल्भ राखिएको छ। तर एक घरले दुई बल्भभन्दा बढी बालेका छैनन्।   

प्रकाशित: २२ मंसिर २०७९ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App