२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा भारतीय पक्षको दादागिरी

दाचुर्ला जिल्लाका सीमावासीले कालापानी, लिम्पियाधुरा र लिपुलेक भूभाग अतिक्रमण गरिएको भारतीय पक्षको दादागिरी बाट सधैँ प्रताडित हुनु परेको छ।

भारतीय पक्षले दादागिरी शैलीमा सिमामा नेपाली भूभागमा असर पर्ने गरी संरचना बनाउने, नेपाली नागरिक माथि ज्यान नै लिने गरी ज्यादती गर्ने लगायतका हर्कत निरन्तर गर्दै आइरहेको छ।

महाकाली नदीको धार नेपाल तिर पर्ने गरी भारतीय पक्षले सिमामा संरचना निर्माण गरिरहेको छ। भारतीय पक्षले सिमामा महाकाली नदीको धार नै परिवर्तन गर्ने गरी तीव्र रूपमा संरचना बनाउँदा पनि नेपाल सरकार अर्थात् प्रशासन मौन बस्दा त्यसको पिडा सर्वसाधारणले भोग्नु परेको छ।

आइतबार नेपाल तर्फ महाकाली फर्काउने गरी भइरहेको निर्माणको स्थानीयले विरोध गरेपछि वारिपारि ढुङ्गा हानाहान भएको थियो। 

महाकाली नदीको धार नै नेपाल तर्फ फर्काउने गरी तटबन्ध बनाइरहेका भारतीय पक्षले हानेको ढुङ्गा लागेर बंगाबगरमा आइतबार नेपाल तर्फका ४ बालक घाइते भएका थिए।

स्थानीयले विरोध गरे पनि भारतीय पक्षले अन्तर्राष्ट्रिय मापदण्ड विपरीत नेपाली भूमिलाई चुवान पार्ने गरी सिमामा पक्की संरचना बनाउने कार्य निरन्तर जारी राखेको छ। सरकार र स्थानीय प्रशासनको मौनता हुँदा स्थानीयले जति विरोध गरे पनि भारतीय पक्षले टेर्ने गरेको छैन। दार्चुला सीमावासी प्रताडनाको सिकार बन्ने गरेका छन्।

अन्तर्राष्ट्रिय कानुन विपरीत नदीको धार नेपाल तर्फ फर्काउने गरी तटबन्ध निर्माण गरिँदै

सीमा क्षेत्रमा अर्को देशलाई कुनै असर नपर्ने गरी समन्वय गरेर मात्र संरचना बनाउनु पर्ने अन्तर्राष्ट्रिय कानुनी प्रावधान रहे पनि भारतले बलमिच्याई गरेर महाकाली नदीको बगरमा धमाधम तटबन्ध निर्माण गरिरहेको छ।

महाकाली नदीको धार नेपाल तर्फ फर्किने गरी तटबन्ध निर्माणलाई केही दिन यता भारतीय पक्षले तीव्रता दिएको छ। भारतीय पक्षले तटबन्ध भन्दा ७ देखी १० मिटर वर नेपाल तिर ग्याविन जाली लगाएको छ। भारतीय पक्षले पुलको उत्तरतर्फको भागमा तटबन्धन निर्माण गरेर पानीको धार नेपालतर्फ फर्काउन खोजेकोले स्थानीय आक्रोशित भएका छन्।

ठेक्का पाएको भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले एस एस बिको सुरक्षा पहरामा गत वर्ष देखि सीमा नदी महाकालीको पानीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरिरहेको छ। भारतीय पक्षले एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण गरिरहेको हो। २०७८ फागुनमा भारतीय निर्माण कम्पनीले महाकाली नदीमा नै एक्स्काभेटर लगाएर निर्माण गर्दा पनि स्थानीय बासिन्दाले विरोध गरेका थिए। त्यस वेला पनि ढुङ्गा हाना हान भएको थियो।

सोमवार जिल्ला प्रशासन कार्यालय दार्चुलामा नेपाल र भारतीय पक्षका अधिकारी बिच सिमामा उत्पन्न विवादका विषयमा छलफल भएको छ। भारतले निर्माण गरिरहेको तटबन्धका विषयलाई लिएर दुई देशका अधिकारीहरू बिच सोमबार छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताएका छन्।

तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै किसिमको नोक्सान नहुने गरी काम गर्न आग्रह गरेको उनको भनाई छ। नेपाल तिर लगाइएको ग्याविन जाली तत्काल हटाई दिन आग्रह गरेको उनले बताए। दुवै देश तर्फ असर नपर्ने गरी तटबन्ध निर्माण गर्ने मौखिक समझदारी भएको उनले बताए।

दार्चुला सदरमुकाम खलङ्गा बजार उच्च जोखिममा

महाकाली नदीका भारतीय पक्षले निर्माण गरिरहेको तटबन्धले महाकाली नदीको धार नेपाल तर्फ फर्कदा दार्चुलाको सदरमुकाम खलङ्गा लगायतका बस्ती नै सङ्कटमा पर्ने उच्च जोखिम रहेको भन्दै स्थानीय चिन्तित बनेका छन्। 

‘२०७० असारमा महाकाली नदीमा आएको बाढीले सदरमुकाम खलङ्गा बजार डुबाएको थियो, महाकालीको धार नेपाल तर्फ फर्काउने गरी तटबन्ध निर्माण हुँदा महाकाली नदीले सदरमुकाम नै बगाउने खतरा उत्पन्न भएको छ। भारतीय पक्षले दार्चुला सिमामा एक पछि अर्को ज्यादती गर्दा पनि सरकारले मौनता साँधेको भन्दै स्थानीयले गुनासो गरेका छन्। नदीको धार परिवर्तन हुने गरी बनाइरहेको तटबन्धको निर्माण कार्य तत्काल रोकिनु पर्ने स्थानीयको माग छ।

भारतीय एसएसपीले पुलघाट नाकामा नेपाली नागरिकलाई दुःख दिन थाले

दार्चुलामा नेपाली र भारतीय नागरिकबिच ढुङ्गा हानाहान भएपछि भारतीय पक्षले नेपाली बासिन्दालाई सिमामा दुःख दिन थालेका छन्। नेपाल भारत जोड्ने महाकाली नगरपालिका वडा नं ४ पुलघाट नाकामा भारतीय प्रहरी एसएसपीले कयौँ नेपाली बासिन्दालाई परिचयपत्र नभएको बाहानमा भारततर्फ जान नदिई घर फर्काएका छन्। भने अन्य बासिन्दालाई पनि घण्टौँ लाइनमा कुराएर सास्ती दिने गरेको स्थानीयले बताएका छन्।

नागरिकता वा परिचयपत्र कुनै एक नदेखाई जान पाइँदैन भनेर नेपालीहरूलाई पुलछेउ बाटै घर फर्काउने गरेका छन्। यस अघि परिचय पत्र देखाउने प्रावधान थिएन। एसएसपीले नागरिकता वा परिचयपत्र देखाउन भन्दै भारततर्फ जान नदिएपछि भारततर्फ ओहोरदोहोर गरिरहनुपर्ने नेपालीहरू समस्यामा परेका छन्।

‘भारतीय एसएसपीले पुल छेउमा नागरिकता अनुसार तीन पुस्ते विवरण टिप्ने र परिचय पत्र नभएकोलाई जान नदिने गरेर दुःख दिइरहेको छ ’स्थानीय विष्टले भने,‘तटबन्ध निर्माणको विरोध गर्दा भारतीय प्रहरी एसएसपीले सिमामा हामी नेपाली माथि दुर्व्यवहार गर्न सुरु गरेको छ।’ 

गाउँबाट घण्टौँ हिँडेर आएका सर्वसाधारण नागरिकता र परिचय पत्र साथमा नभएका कारण भारतीय बजार नपुगी फर्किनुपरेको उनले बताए। रोजगारीका लागि, दैनिक मजदुरी गर्न उपभोग्य सामान खरिद गर्न यहाँका बासिन्दा धारचुला बजारमा जाने गरेका छन्। सिमामा नेपालीहरूलाई रोक्ने एसएसपीले माथिको आदेश यस्तै छ भनेर रोक्ने गरेको स्थानीय बताउँछन्।

मारिएका आफन्तले पाउँदैनन् न्याय 

२०७८ साउन १५ मा भारतीय एसएसपीले तुइन फुकाल्दा ३३ वर्षीय जय सिंह धामी महाकाली नदीमा हेलिएका थिए। उनको शव फेला परेन। तुईनबाट महाकालीको भेलमा हुलिएका धामीको परिवारले न शव पाए। न न्याय नै पाउन सके। भारतीय पक्षले धामीलाई नदीमा बगाएको घटनामा दोषी एस एस वटी जवानलाई कारबाही गरेनन्। उक्त घटनामा न माफी नै मागे। धामीको परिवारले अझै न्याय पाउन सकेको छैन। 

गत कात्तिक ११ गते महाकाली नदी पारि तावघाट लिपुलेक सडक फराकिलो गर्न गरेको विस्फोटले व्यास गाउँपालिका २ दुम्लिङका ९ वर्षीय वालक पवन महराको ज्यान गएको थियो। यो घटनामा पनि भारतीय पक्षले माफी मागेको छैन।
 

प्रकाशित: १९ मंसिर २०७९ १४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App