२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सिएमआर नेपाल जर्नालिजम एकेडेमी सुरु

सेन्टर फर मिडिया रिसर्च नेपालले जर्मनीको इन्टरलिंक एकेडेमीसँगको सहकार्यमा नेपालमा जर्नालिजम एकेडेमीको सुरुआत गरेको छ। नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सको उपस्थितिमा एक कार्यक्रमबीच एकेडेमीको सुरुआत गरिएको हो। एकेडेमीले नेपाली पत्रकारहरूमा डिजिटल र विषयगत क्षमता वृद्धि गर्ने उद्देश्य लिएको छ।

एकेडेमी उद्घाटन कार्यक्रममा प्रबन्ध निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले नेपाली पत्रकारका लागि आगामी माघदेखि मोबाइल जर्नालिज्म, पोडकास्ट, डिजिटल सेक्युरिटी, फ्याक्ट चेक, मिडिया लिटरेसी, डेटा जर्नालिज्मलगायत तालिम दिने जानकारी दिए। उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यले अध्यक्ष विपुल पोखरेलको शुभकामना सन्देश पढेर सुनाएका थिए। शुभकामना सन्देशमार्फत अध्यक्ष पोखरेलले नेपाली पत्रकारहरूमा क्षमता अभिवृद्धि गर्न जरुरी रहेको र एकेडेमीले पत्रकारहरूलाई आवश्यकताअनुसार तालिम दिएर प्राविधिक र विषयगत रूपमा सबल बनाउने विश्वास व्यक्त गरे।  

नेपालका लागि जर्मनीका राजदूत डा. प्रिन्सले स्वतन्त्र पत्रकारिता नभएको ठाउँमा लोकतन्त्र नहुने बताउँदै मिथ्या सूचना समाजका लागि घातक हुने बताए। त्यसलाई न्यूनीकरण गर्नेतर्फ पनि एकेडेमीको भूमिका हुनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा इन्टरलिंक एकेडेमीका प्रबन्ध निर्देशक भेर्नर एगर्टले एकेडेमीले दिने तालिमबाट नेपाली पत्रकारहरूको क्षमता बढ्नुका साथै पत्रकारिताको व्यावसायिकतामा सुधार हुने विश्वास व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय ज्ञान र अनुभव बाँड्ने क्रममा सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा एकेडेमी सुरु गरेको बताए।

उक्त कार्यक्रममा सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष तृष्णा आचार्यले नेपाली मिडियाको अनुसन्धानमा सक्रिय हुँदै आएको सेन्टर फर मिडिया रिसर्च नेपालले एकेडेमी सञ्चालन गरेर नेपाली पत्रकारलाई प्राविधिक र व्यावहारिक रूपमा सक्षम बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्। संस्थाले एक दशकदेखि मिडियाका विभिन्न विषयमा अनुसन्धान गर्दै आएको छ।

प्रकाशित: १७ मंसिर २०७९ ०१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App