१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पत्रकार राईको मुद्धा काउन्सिलले हेर्छः नेपाल पत्रकार महासंघ

विद्युतीय कारोबार ऐन (साईबर क्राईम) अन्तर्गत प्रहरी नियन्त्रणमा परेका उदयपुरका पत्रकार गजेन्द्र राईको मुद्दा प्रेस काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने नेपाल पत्रकार महासंघले जनाएको छ।

समाचार लेखेकै विषयमा शनिबार दिउँसो सदरमुकामदेखि पक्राउ परेका राईको मुद्धा अद्र्धन्यायिक संस्था प्रेस काउन्सिलको क्षेत्रधिकार पर्ने भन्दै उसैले छिनोफानो गर्न पाउनुपर्ने माग महासंघले गरेको हो।

नेपाल प्रहरीले राईबिरुद्ध चलाएको साईबर क्राईमअन्तर्गतको कारवाही प्रक्रिया कानुन विपरित भएको भन्दै महासंघले काउन्सिलको जिम्मा लगाउन पहलसमेत थालेको महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले बताए। त्यसका लागि अध्यक्ष पोखरेल र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोली मंगलरबार काठमाडौँ जिल्ला अदालत बबरमहलस्थित सरकारी वकिल कार्यालय पुगेर आफ्नो भनाइ राखेको छन्।

अध्यक्ष पोखरेल नेतृत्वको टोलीमा प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य दिपक पाण्डे, महासंघका महासचिव रोशन पुरी, केन्द्रीय सदस्य राजेश चामलिङलगायतको सहभागिता थियो। भेटको अवसरमा पत्रकार महासंघका अध्यक्ष पोखरेलले पछिल्लो पटक साईबर क्राइमअन्तर्गतको कानुन लगाएर पत्रकारलाई धम्क्याउने, धरपकड गर्ने श्रृङ्लावद्ध कार्य भईरहेको भन्दै त्यसप्रति रोष व्यक्त गरे। सरकारको यस्तो रबैयाले मुलुकमा लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रता दुवैमाथि गम्भीर आघात पुग्ने खतरा रहेकोप्रति पोखरेलले सरकारको ध्यानाकर्षण गराए।

टोलीले न्यायाधिवक्तालाई भेटेर पत्रकार राईको सञ्चार संस्था (मिडिया) आधिकारिक रुपमा प्रेस काउन्सिल र सूचना विभागमा दर्ता गरेर सञ्चालनमा रहेको पत्र पनि थमाएको छ। यसरी सम्बन्धित निकायमा दर्ता गरेर आधिकारिक ढंगबाट सञ्चालित मिडियामासन्दर्भ सामग्रीसहित प्रकाशित प्रसिारित समाचारको विषयमा प्रहरीले साईबर क्राईमको मुद्धा लगाएर कारवाही अघि बढाउनु प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु नभएको जिकिर टोलीले गरेको छ।

‘मिडियामा प्रकाशित कन्टेन्टको विषयमा चित्त नबुझे त्यसविरुद्ध समाधान खोज्ने बाटो प्रेस काउन्सिल नेपालमा उजुरी दिने हो’ काउन्सिले सरकारी वकिल कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ ‘प्रेस काउन्सिलले गरेको कारवाही चित्त नबुझे अदालती प्रक्रियामा जाने वा अन्य निकाय गुहार्ने भन्ने बाटो खुल्ला छ।’ काउन्सिल अध्यक्ष बस्नेतले त्यस्तो कानुनी व्यवस्थाविपरित साईबर क्राईमअन्तर्गत कानुन लगाएर पत्रकारलाई तर्साउन खोजेको आरोप लगाएका छन्। यस्तो कार्य सम्पूर्ण प्रेस जगतप्रतिको प्रहार भएको भन्दै बस्नेतले पत्रकार राईको मुद्धा काउन्सिलको जिम्मा दिन आग्रह गरेका छन्। 

बस्नेतले बदमासी गर्ने पत्रकारहरु काउन्सिलको कारवाहीपछि पेशाबाटै अलग्गिने गरेको तथ्य पनि सनाए। प्रहरीले जुनसुकै विषयलाई पनि साईवर क्राइमअन्तर्गत कारबाही अघि बढाउनु अघि साईबर क्राईमअन्तर्गतको मुद्धा हो कि होईन भन्नेमा प्रष्ट हुन पनि आग्रह गरे।

महासंघका महासचिव रोशन पुरीले पत्रकार राईको विषयमा प्रहरी संगठनकै एक अधिकृतको व्यक्तिगत रीसइवी जोडिएको जानकारीमा आएको बताए। उनले एकजना व्यक्तिको कारण सिंगो संगठनलाई बद्नाम गराउने गरी प्रहरी प्रशासन लाग्न नहुने उनको भनाई थियो।

काउन्सिलका सदस्य पाण्डेले गल्ती गर्ने हरेक पत्रकारलाई काउन्सिलले उचित कारबाही गर्ने गरेको र कारबाही भोगेपछि गल्ती गर्ने पत्रकारहरु पेशाबाटै अलग्गिने गरेको दृष्टान्त दिए्। उनले प्रहरीले काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने विषयलाई साईवर क्राइमको मुद्धा भनेर कारबाही अघि बढाउनु उचित नभएको उनको भनाई थियो।

टोलीलाई जवाफ दिने क्रममा सरकारी वकिल कार्यालयका सहन्याधीवक्ता अच्युतकृष्ण न्यौपानेले यो मुद्धाबारे सबै जानकारी कार्यालयमा नआईसकेको भन्दै आएपछि विस्तृत अध्ययन गरेर प्रष्ट जवाफ दिने बताए।

चार दिनअघि पक्राउ पत्रकार राई साईबर व्यूरोको दरबारमार्गस्थित प्रहरी हिरासतमा छन्। पत्रकार राईको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश १, जिल्ला शाखा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द,्र प्रदेश १ र जिल्ला शाखा तथा किरात राई पत्रकार संघ केन्द्र र जिल्ला शाखाले विज्ञप्ति जारी गरी आपत्ती जनाउँदै निशर्त रिहाईको माग गरेका छन्।

प्रकाशित: १३ मंसिर २०७९ १५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App