६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

उहिले प्रहरीको हालत खराब थियो, चौकी गौँथलीका गुँडजस्ता थिए: प्रधानमन्त्री ओली

‘म पक्राउ पर्दा अहिलेका आइजिपी जन्मेकै थिएनन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रहरीका भौतिक पूर्वाधारमा उल्लेख्य सुधार भएको दाबी गरेका छन्। शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उहिलेको अवस्था हेर्दा अहिले प्रहरीको अवस्थामा धेरै सुधार भइसकेको बताएका हुन्। 

‘पहिले यस्तो प्रहरी कार्यालय प्रदेशमा कल्पना गर्न सकिन्थ्यो? यहाँ मात्र होइन कुनै प्रदेशमा सकिन्थ्यो?,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले यस्ता भवन त अस्पताल कति, कार्यालय भवन कति, प्रशासकीय भवन कति, प्रहरीका भवन कति।’

अहिले सेनाको प्रतिरक्षा विश्वविद्यालय पनि खुलेको प्रधानमन्त्री ओलीले बताए। ‘सेनाको हेडक्वार्टर, अरू चिज कसरी बन्या छ? बंकर टु ब्यारेक नारा दिएर त्यसतिर लगिँदै छ’, उनले भने। हरेक चिजमा परिवर्तन ल्याइँदै गरेको उनले बताए। 

‘अहिलेको प्रहरीलाई थाहा छैन, पहिलेको प्रहरीको युनिफर्म कस्तो हुन्थ्यो? खासमा भन्ने हो भने हाम्रो आइजीसाब(प्रहरी महानिरीक्षक दीपक थापा)ले पनि देख्या छैन। उहाँहरू जागिर खानुभएकै थिएन,’ प्रधानमन्त्री ओलीले भने। 

आफूलाई जति बेला प्रहरीले पक्रिन थालेको थियो त्यो बेला हालका आइजिपी थापा जन्मिन नै बाँकी रहेको पनि उनले भन्न भ्याए। उनले भने, ‘हामीलाई जतिखेर प्रहरीले पक्रिन्थ्यो, उहाँहरू त्यस बेला अलि.. जन्मिन बाँकी नै थियो। त्यसैले उहाँहरूले खास प्रहरीको हालत के थियो त्यो देख्नुभएको छैन।’ 

अहिले प्रहरी बसे जसरी पहिलेका प्रहरीले बस्न समेत नमिल्ने अवस्था रहेको प्रधानमन्त्री ओलीले बताए। ‘माडमा चोबेर आइरन लगाएको पोसाक हुन्थ्यो। निहुरिए भाँचिहाल्थ्यो, त्यस कारण खडाको खडा। खाकीको पाइन्ट हुन्थ्यो, खाकीको हाप पाइन्ट हुन्थ्यो, क्रिज चाहिँ तरबारजस्तो देखिन्थ्यो। पाइन्ट यसो छुँदा कक्य्राक्क गर्थ्यो माड,’ उनले भने। 

उति बेलाका प्रहरी चौकीको हालत पनि निकै कमजोर रहेको उनले बताए। उनले भने, ‘अहिले जस्तो कहाँ थियो भनेको, प्रहरी चौकी गौँथलीको गुँडजस्तो हुन्थ्यो यत्रो। हामीले देखेको ।’ 

आफू २०२५ सालबाट गिरफ्तार हुन थालेको बताउँदै प्रधानमन्त्री ओलीले त्यस बेला देखि आफूले प्रहरी र प्रहरीका कार्यालय देख्न थालेको बताए। उनले भने, ‘म झापाको मान्छे झापामा एउटा फुसको टहरा थियो।’ 

प्रकाशित: ३० श्रावण २०८२ १६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App