८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘गाउँमा अस्पताल र सडक बनाउनेलाई भोट’

इलाम जिल्लाको पश्चिमी भेकमा पर्ने फाकफोकथुम गाउँपालिका ३ आमचोककी पवित्रा परियार नेपालीका सात वर्षका छोरा ईशानलाई केही समयअघि १०४ डिग्री फरेनहाइट ज्वरो आयो। तीन दिन ज्वरो घटेन। गाउँमै औषधोपचार गर्न खोज्दा चिकित्सकको त कुरै छाडौं, सिटामोल पनि पाइएन, परिवारका सदस्य पनि आत्तिए।  

ईशान झन्झन् बिरामी पर्दै गएपछि उपचारका लागि अन्यत्रै लैजानुपर्ने भयो। गाउँमा न एम्बुलेन्स छ न भनेका बेला गाडी पाइन्छ। हारगुहार गरेपछि फाकफोकथुम गाउँपालिकाको गाडीले बिरामी बालकलाई राँके बजारसम्म पु¥याइदियो। त्यहाँबाट अर्काे गाडी खोजेर झापाको बिर्तामोड लैजानुपर्‍यो। घरबाट हिँडेको सात घन्टाभन्दा बढीमा बिर्तामोड पुगेपछि डाक्टरले भने, ‘धन्य ! चाँडो ल्याउनुभएछ, नत्र केही भन्न सकिने थिएन।’

यो घटना सम्झिँदा पवित्राका आँखा अहिले पनि रसाउँछन्। ‘गाडी नपाउँदाको कष्ट त छँदैछ, काखमा बोकेको बिरामी बाबु फर्काएर घर ल्याउन पाइन्छ कि पाइँदैन भन्ने त्रासले सताइरह्यो,’ उनले भनिन्, ‘खर्चको चाहिँ कुरै नगरौं।’ त्यसअघि पनि उनका छोरा बिरामी भएपछि यसैगरी रातारात बिर्तामोड लैजानुपरेको थियो। गाउँमै अस्पताल, औषधि र चिकित्सक नहुँदा उनले छोराको उपचारका लागि बाहिर जानुपरेको बताइन्। ‘गाडीको एकोहोरो खर्च मात्रै २३ हजारभन्दा बढी लाग्यो,’ उनले भनिन्, ‘अस्पतालमा बिरामी राखेको खर्च त झन् भनिसाध्य छैन।’

गएको दसैंअघि गाउँका अर्का एकजना बिरामी भए। समस्या उही हो, गाउँमा औषधि र चिकित्सक दुवै थिएनन्। उपचारका लागि राम्रो अस्पतालमा लैजाने क्रममा उनको बाटैमा बिरामीको मृत्यु भयो। यस्ता घटना थुप्रै छन्।

अहिले गाउँमा चुनाव लागेको छ। ‘यो गरिदिन्छु, त्यो गरिदिन्छु’ भनेर सपना देखाउने उम्मेदवार दिनहुँजसो मत माग्न घरघर पुगिरहेका छन्।

घरघर पुग्नेमा नयाँ उम्मेदवारसँगै यही क्षेत्रबाट पटकपटक चुनाव जितेका नेता पनि छन्। ‘अहिलेसम्म चुनाव जितेर गएकाले अरू काम त गरे होलान् तर गाउँमै राम्रो उपचार हुने व्यवस्थाचाहिँ गरेनन्,’ पवित्रा भन्छिन्, ‘गाउँमा कम्तीमा राम्रो औषधि र उपचार पाइए न अकालमा ज्यान जान्थ्यो, न यहाँबाट कोही बसाइँ सर्दै आफैंले जिताएका नेतालाई सराप्नु पथ्र्याे।’ गाउँमा बिरामी पर्दा अक्सिजन, पानीको बाफ लगाउने मेसिनको त कुरै नगरौं, सामान्य ज्वरो आउँदा खानुपर्ने गुणस्तरको औषधिसमेत नपाइने पवित्रा बताउँछिन्।  

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो ठाउँ सदरमुकामभन्दा निकै टाढा छ। आमचोकमात्र होइन, फाकफोकथुम गाउँपालिकाभरि नै सडक, शिक्षा, खानेपानी, बिजुली नपुगेको मतदाता बताउँछन्। खानेपानी, स्वास्थ्य र बाह्रैमास गाडी चल्ने सडकचाहिँ यहाँका मुख्य आवश्यकता हुन्। कालोपत्रे सडक नभएको यो क्षेत्रमा हिउँदभर जसोतसो गाडी चल्छ, बर्खा लागेपछि ठप्प हुन्छ।  

फाकफोकथुमकै दुर्गाप्रसाद दाहाल राजनीतिक दलका उम्मेदवार गाउँमा अहिलेसम्म भोट माग्नमात्र आउने गरेको बताउँछन्। ‘यी दलका नेता र उम्मेदवारभन्दा अब देशलाई त बालेन (काठमाडौंका मेयर बालेन्द्र साह) जस्तै स्वतन्त्र चाहिएको हो कि भन्ने लाग्न थालिसक्यो,’ उनले भने, ‘के–के न हुन्छ भनेर दलका नेतालाई जिताइयो, उनीहरूले गर्न त गरे होलान् कसैका लागि। तर हामीजस्ता सर्वसाधारणले कहिले गाउँमै उपचार पाउने ? कहिले गाउँका सडकमा हिउँद–बर्खा गाडी चढ्न पाउने ? कहिले आगनमा धारो बन्ने र पानी आउने ?’ उनले गाउँमा प्रसूति हुने महिलाको उपचारमा अत्यन्त ठूलो समस्या भएको बताए। उनले भने, ‘गाउँमा पक्की बाटो, भरपर्दाे अस्पताल र डाक्टर भइदिए यो दुर्दशा हुने थिएन।’ उनले अब मतदाता धेरै चनाखो भइसकेकाले काम गर्ने उम्मेदवारलाई मात्र जिताएर पठाउने बताए।  

फाकफोकथुमकै ७९ वर्षीया गोमादेवी भण्डारी भोट माग्दै आउने उम्मेदवारसँग सन्तुष्ट छैनन्। ‘अहिले पनि दिनैपिच्छे यहाँ भोट माग्न आइरहेका छन्,’ उनले भनिन्, ‘हिजोमात्रै हुल बाँधेर भोट चाहियो भन्दै आएका थिए, मैले त सामुन्ने भन्दिएँ, अब सपना नदेखाए हुन्छ, हामीले रोजीरोजी भोट हाल्न जानेका छौं, कसलाई भोट हाल्नुपर्छ भन्ने हामीलाई थाहा छ।’ भण्डारी यसअघि यो क्षेत्रबाट चुनाव जितेर प्रतिनिधिसभामा गएकासँगमात्र होइन, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग पनि सन्तुष्ट छैनन्। उनले भोटअघि ‘सिप लाउने’ नेताले जितेर गएपछि मतदातासँग बोल्दा पनि छुत लाग्लाजस्तो गरेको गुनासो गरिन्। ‘घुँडो दुखेर खप्न सकिनँ, यहाँ उपचार भएन, डाक्टर भेटिएनन्, बल्लबल्ल झापाको अस्पताल गएर महँगो पैसा तिरेपछि उपचार त भयो तर निको भएको छैन,’ भण्डारीले भनिन्। उनले चुनाव जित्नेले अस्पताल, बाटो, खानेपानी र स्कुलको प्रबन्ध गाउँमा गरिदिनुपर्ने बताइन्। ‘हामीले घरैमा पैसा ल्याइदेओ भनेका छैनौं। अहिलेसम्म चुनाव जितेर गएका नेताले गाउँमा अस्पताल बनाउन, पानीको धारो ल्याउन, एउटा राम्रो बाटो बनाउन किन नसकेका होलान् ?’ उनले भनिन्।

निर्वाचन क्षेत्र नम्बर २ का बासिन्दामात्र होइन, सिंगो इलामवासी प्रभावकारी स्वास्थ्य सेवाबाट वञ्चित छन्। सदरमुकामस्थित इलाम अस्पतालमा पूर्वाधार र उपकरणको खासै अभाव छैन। तर दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा जिल्लावासीलाई उपचार गराउन समस्या छ। बालविशेषज्ञ चिकित्सक सदरमुकामका अस्पतालमा समेत नहुँदा बालबालिका बिरामी भए झापा, मोरङ, धरान, विराटनगर वा भारतका अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ। सदरमुकामबाट टाढा रहेको निर्वाचन क्षेत्र नम्बर २ का बासिन्दाले तुलनात्मक हिसाबले स्वास्थ्य सेवामा अझ बढी सास्ती खेप्नुपरेको छ। यो क्षेत्रको मंगलबारेमा प्राथमिक स्वास्थ्य केन्द्र छ। फाकफोकथुमलगायत गाउँहरूमा स्वास्थ्य केन्द्रहरू भए पनि दक्ष चिकित्सक र औषधि पर्याप्त छैन। बर्खामा सडक नहुँदा औषधि ढुवानीमा समेत समस्या छ।

निर्वाचन क्षेत्र २ बाट २०५६ सालयताका निर्वाचनमा निरन्तर विजयी भएका नेता हुन् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ। आफूले पहिलो चुनाव जितेका बेला यो क्षेत्रमा एकै किलोमिटर पक्की सडक नभएको, एउटा बिजुलीको बल्ब नझुन्डिएको, २ वटा टेलिफोन लाइन रहेकोमा एउटाचाहिँ बिग्रिएको नेम्वाङ बताउँछन्। अहिले पनि उम्मेदवार रहेका नेम्वाङले अब यो क्षेत्रमा नयाँ सडक आवश्यक नभएको तर आफ्नै पहलमा सुरु भएका दर्जनौं सडक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले इलाम अस्पतालमा पूर्वाधार विकास र चिकित्सक व्यवस्था गर्ने र मंगलबारेमा ५० शड्ढयाको अस्पताल बनाउने प्रतिबद्धता पनि गरेका छन्। ‘अहिले यहाँको विकास पर्याप्त छैन तर दर्जनौं सडक, पुल बनेका छन्, धेरैजसो अधुरा विकासका काम पुरा गर्नुछ,’ नेम्वाङ मतदातालाई आश्वस्त पार्न भनिरहेका छन्, ‘अरू दलले ३० वर्ष देशमा सरकार चलाउँदा जति बजेट यो क्षेत्रमा दिए, त्योभन्दा बढी त मैले यहाँको एउटै योजनामा ल्याएको तपाईंहरूले देख्नुभएकै छ। त्यसैले अुधरा काम पुरा गर्ने फेरि जिताएर अवसर दिनुहोस्।’  

नेम्वाङका मुख्य प्रतिस्पर्धीका रूपमा सत्ता गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्का यो क्षेत्रको विकासका लागि अब जनताले नयाँ अनुहार (आफू) लाई जिताउनुपर्ने बताउँछन्। ‘अब नयाँ उम्मेदवारलाई जिताएर हेर्नुहोस्, म यो क्षेत्रलाई सुगम बनाउनेगरी काम गर्नेछु,’ उनले मतदातासँग भनिरहेका छन्। उनले पनि स्वास्थ्य र सडकका दर्जनौं योजना मतदातालाई देखाएका छन्। यही क्षेत्रबाट उम्मेदवार रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा अब मतदाताले ठूला नभई साना दलका उम्मेदवारलाई अवसर दिने दाबी गर्छन्। ‘अब जनताले पुराना वा अहिलेसम्म ठूलामा गनिएका होइन, राम्रो काम गर्ने साना दलका उम्मेदवारलाई जिताउनेछन्,’ उनको दाबी छ, ‘अबको चुनावमा हाम्रो दल (म) लाई मतदाताले अवसर दिनेछन्।’ पालुङ्वाले पनि यो क्षेत्रको विकासमा सडक, बिजुली, विद्यालय, खानेपानी, खेलकुदलगायत दर्जनौं योजना अघि सारेका छन्।

पछिल्लो तीन दशकमा यो निर्वाचन क्षेत्रमा विकासका काम सुरु नभएका होइनन्, भए। तर सुरु भएका काम पुरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। इलाम निर्वाचन क्षेत्र २ र पाँचथरको ‘मेरुदण्ड’ मात्र नभई मोरङ र धनकुटासमेत छोएको राँके–रवि–भेडेटार सडक निर्माणका क्रममा छ। ६ अर्ब लगानी रहने यो सडकको १८ प्रतिशत भौतिक प्रगति भएपछि निर्माण व्यवसायीको लापरबाहीले काम रोकिएको छ। 

प्रकाशित: २६ कार्तिक २०७९ ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App