२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओनसरी र फुयाँलबीच कडा टक्कर

ओनसरी घर्ती र मणिराम फुयाँल।

मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तीव्र रूपमा चलिरहेको छ। प्रमुख राजनीतिक दलका नेता आ–आफ्नै निर्वाचन क्षेत्रमा खटिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत विभिन्न पार्टीका शीर्ष नेतालाई देशभरका चुनावी सभा सम्बोधन गर्ने कार्यतालिका बनाएर अघि बढिरहेका बेला काठमाडौंका जनताले भने कुन दललाई मतदान गर्लान् भन्ने चासो पनि उत्तिकै छ। अन्य जिल्लाभन्दा अलिक फरक मतदाता रहेकाले पनि काठमाडौंको चुनावी परिणामलाई महत्वका साथ हेर्ने गरिएको छ।

निर्वाचन मिति नजिकिएसँगै चुनावी अभियान तीव्र बनाएका राजनीतिक दलबीच प्रतिस्पर्धा बढेका बेला काठमाडौं २ मा यसको सरगर्मी बढेको छ। विगतमा जस्तै यसपटक पनि सबैजसो उम्मेदवार आफूले जित्ने दाबी गर्दै चुनावी अभियानमा जुटेका छन्। राजनीतिक दलका नेताले विशेष गरी दलको सांगठनिक मतले चुनाव जित्ने प्रयत्न गरिरहेका छन्। काठमाडौं २ मा दलकै उम्मेदवार विजयी हुने आकलन भइरहेको छ। उम्मेदवारहरू आफ्नो प्रतिबद्धतापत्र तथा पार्टीको घोषणापत्रसहित मतदातासँग मत माग्दै घरदैलो अभियानमा पुगिसकेका छन्। एकसरो सबै स्थानमा पुगेर उम्मेदवारहरूले आफ्नो वस्तुस्थिति जाँच्ने प्रयास गरिसकेका छन्। उनीहरूले संगठन बलियो नभएका वडामा पनि सकेको प्रयास गरिरहेका छन्।  

विगतमा तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले चुनाव लडिरहेको क्षेत्र भए पनि अहिले माधव नेपाल रौतहट गएपछि दुई मुख्य दलका नेताबीच नै प्रतिस्पर्धा हुने निश्चित छ। एमालेबाट निवर्तमान प्रदेश सांसद रहेका स्थानीय मणिराम फुयाँल र रोल्पाबाट सिधै काठमाडौं चुनाव लड्न आएकी ओनसरी घर्तीबीच प्रतिस्पर्धा हुने अवस्था आएको छ। यस क्षेत्रमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी पूर्वसभामुख माओवादी केन्द्रकी नेत्री घर्ती चुनावी मैदानमा आएकी छन्। एमालेबाट उम्मेदवार बनेका फुयाँल त्यही क्षेत्रका स्थानीय नेता हुन्। भर्खरभर्खर केन्द्रीय तहमा आएका फुयाँल स्थानीय तहमा भिजेका नेता हुन्। विगतमा एमालेको पकड क्षेत्र रहेको काठमाडौं–२ लाई एमालेले नेतालाई पठाउन खोजे पनि स्थानीयस्तरबाट स्थानीय नेताको माग बढेपछि फुयाँल एकल रूपमा सिफारिस भएका थिए। ओनसरी घर्तीलाई भने गठबन्धन दलले निकै पछि निर्णय गरेर उम्मेदवार पठाएका हुन्।  

विगतको सांगठनिक मत हेर्दा यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन धेरैको छ। यो निर्वाचन क्षेत्रमा १० स्वतन्त्रसहित २९ जनाको उम्मेदवारी परेको छ। स्वतन्त्र उम्मेदवारले कति जनताको मत जित्नसक्ने हुन् त्यो अड्कल गर्न अहिले गाह्रो भए पनि एमाले र गठबन्धन दलकै उम्मेदवारबीचको प्रतिस्पर्धा बलियो छ। एमालेले जसपा र राप्रपासँग चुनावी तालमेल गर्ने भनिए पनि यस क्षेत्रमा सम्भव भएन।  

अहिले चुनावी मैदानमा उत्रिएका सत्ता गठबन्धनतर्फकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी घर्ती, एमालेका फुयाँलसहित जनता समाजवादी पार्टी (जसपा) का गोपालबहादुर तन्डुकार, राप्रपाकी कुन्तीदेवी पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधुसूदन पुडासैनीलगायत दलगत उम्मेदवार बनेका छन्। उनीहरूमध्ये फुयाँल र घर्तीबीचकै प्रतिस्पर्धा हुने भएकाले संगठनको मत पनि यी दुई नेतालाई नै आउने देखिएको छ।  

२०७४ सालको निर्वाचनमा तत्कालीन एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित विजयी भएका थिए। नेपाली कांग्रेसका दीपकप्रसाद कुइँकेलले १४ हजार ९०३ मत ल्याएका थिए। तेस्रो बनेका विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४३७ मत ल्याएका थिए। गत प्रतिनिधिसभा निर्वाचनमा ५३ हजार ४५ मत खसेको थियो। अहिले स्वतन्त्रबाट काशिराज पुडासैनी, अनुप बोहरा, प्रकाश अधिकारी, विनोदप्रसाद घिमिरे, भगवती ढकाल, दिनेश खड्का, बलराम चौलागाईं, कृष्ण अधिकारी र कृष्णराम पुरी चुनावी प्रतिस्पर्धामा छन्।  

धेरै स्वतन्त्र उम्मेदवार भएकाले पनि कसले कति मत ल्याउने भन्नेले नतिजामा फरक पार्ने अनुमान गरिएको छ। गत प्रतिनिधिसभा निर्वाचनमा ५३ हजार ४५ मत खसेको थियो। २०५१ मा यही निर्वाचन क्षेत्रबाट विजयी बन्दै मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए। २०५६ मा चुनाव जितेकी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति छिन्। २०७० र २०७४ मा यही क्षेत्रबाट निर्वाचन जितेका माधवकुमार नेपाल प्रधानमन्त्री भइसकेका छन्। यस्तो पृष्ठभूमिको काठमाडौं–२ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्। रोल्पा जन्मथलो भएकै कारण उनका लागि काठमाडौं क्षेत्र–२ सर्वथा नयाँ र नौलो बनेको छ। उनी २०७० मा उपसभामुख र २०७२ मा सभामुख भए पनि काठमाडौं–२ मा उनको पाइला नपरेका कारण एकै पटक निर्वाचनमा आउँदा उनका लागि नयाँ भएको छ। २०७४ को निर्वाचनमा घर्ती समानुपातिक तर्फबाट सांसद बनेकी थिइन्। उनी अन्तरिम संसद् र पहिलो संविधानसभामा समेत सदनमा थिइन्। पहिलो संविधानसभाको कार्यकालमा केही समय उनी खेलकुद मन्त्रीको भूमिकामा रहेकी थिइन्। निर्वाचित भएपछि कोटेश्वरको जाम अन्त्य गर्नेदेखि साँखु जोरपाटी सडकखण्ड निर्माण कार्य सम्पन्न गर्ने घर्तीको प्रतिबद्धता भए पनि कोटेश्वरको बाटो बनिसकेको र थलीको बाटो पनि एकदुई महिनाभित्रै बन्ने भएकाले उनको त्यस प्रकारको अभिव्यक्तिलाई काठमाडौं–२ का जनताले अपरिपक्व तथा सस्तो लोकप्रियताका लागि गरिएको प्रतिबद्धता भन्दै आलोचना गरेका छन्। केही दिनअघिको चुनावी सभामा नेकपा माओवादी अध्यक्ष दाहालले घर्तीलाई भोट माग्दै उनलाई जिताए विकासे मन्त्री बनाएर पठाइदिने बताएर त्यस क्षेत्रका जनतालाई फकाउने प्रयास गरेका थिए।

माओवादीभित्र पटकपटक अवसर पाउने वर्षमान पुन र ओनसरी घर्तीलाई लिइन्छ। अहिले काठमाडौं २ को उम्मेदवारी पनि त्यहीअनुसार आएकाले स्थानीय माओवादी कार्यकर्तासमेत उनको उम्मेदवारीप्रति सन्तुष्ट छैनन्।  

एमालेबाट उम्मेदवार बनेका फुयाँल शिक्षण पेसाबाट सक्रिय राजनीतिमा होमिएका हुन्। २०४९ सालदेखि शिक्षण सुरु गरेका उनी २०६५ सम्म शिक्षण पेसामा थिए। लामो समय नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको प्रधानाध्यापकको भूमिकामा उनले काम गरेर स्थानीय स्तरमा आफ्नो लोकप्रियतालाई खस्कन दिएका छैनन्।  

व्यवस्थापनमा स्नातक गरेका फुँयाल शिक्षाशास्त्रमा स्नातकोत्तर हुन्। फुँयाल २०७४ मा वाम गठबन्धनका तर्फबाट काठमाडौं–२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशसभाको निर्वाचनमा उनलाई लोकप्रिय मत प्राप्त भएको थियो। १६ हजार ५ सय ७५ मत फुँयालले ल्याउँदा कांग्रेसका मनहरि खड्काले ८ हजार २ सय ६८ मत ल्याएका थिए। फुयाँलले चुनाव जिते आफूले विकास निर्माण र नीतिगत अजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन्। स्थानीय नेता भएकाले त्यहाँ जनताले पनि उनलाई सुख र दुःखको साथीका रूपमा लिएका छन्। ‘जनताका बीचमा काम गरेको, क्षेत्रको समस्यालाई नजिकबाट बुझेको उम्मेदवारलाई जिताउन जनताले विवेक प्रयोग गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु,’ उम्मेदवार फुँयालले भने, ‘सबै प्रकारका समस्यालाई प्राथमिकीकरण गरेर यथोचित ढंगले समाधान गर्दै सन्तुलित विकास गर्ने दिशामा प्रतिबद्ध भएर अगाडि बढ्नेछु।’ उनले जनताबीच निर्वाचनका बेला अनेक भ्रम छरेर झुटा आश्वासन दिने तर क्षेत्रको समस्या पहिचान गरेर दिगो विकासका लागि आफू लागि पर्ने बताए।  

गठबन्धनबाट उम्मेदवार बनेकी घर्तीले पनि आफूले रोल्पा छाडेर काठमाडौं २ को विकासमा लागि पर्ने बताइन्। ‘अब म यो क्षेत्र छाड्दिनँ, यहाँका जनताको साथमा रहन्छु,’ उनले भनिन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी सोविता गौतमले सामाजिक अभियन्ताका रूपमा आफूलाई चिनाउँदै आएकी छिन्। उनी पनि घण्टी चिह्न बोकेर मत मागिरहेकी छिन्। राप्रपाकी ३५ वर्षीया कुन्तीदेवीले पनि ठूला मानिएका दलको मत काट्ने अनुमान गरिएको छ।  

के छ अवस्था ?  

अहिले काठमाडौं क्षेत्र नम्बर–२ मा ८१ हजार ७ सय ९० मतदाता रहेका छन्। २०७४ सालको निर्वाचनमा भन्दा ७ हजार २ सय १५ मतदाता थपिएको निर्वाचन आयोगको विवरणबाट थाहा हुन्छ। थपिएका मतदाता अधिकांश २० देखि ४५ वर्ष उमेर समूहका छन्। यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर ९ र ३२ पर्छन्। त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ यही क्षेत्रमा पर्छन्। शंखरापुर नगरपालिकाका सबै वडा यही क्षेत्रमा छन्। बढी जनघनत्व भएको गौशाला र कोटेश्वर पनि यही निर्वाचन क्षेत्रमा पर्छन्।  

स्थानीय तह निर्वाचनमा काठमाडौं–९ का वडाध्यक्षमा कांग्रेस र ३२ मा एमाले विजयी भएका थिए। कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन्। कागेश्वरी मनोहरा नगरपालिका–४ मा एमाले, ५ मा कांग्रेस, ६ मा नेकपा एकीकृत समाजवादी, ७, ८ र ९ को वडाध्यक्षमा कांग्रेस विजयी भएका छन्। शंखरापुर नगरपालिकाको मेयरमा राप्रपा र उपमेयरमा कांग्रेस निर्वाचित भएका छन्। यस नगरपालिकाका १ नम्बर वडाध्यक्षमा माओवादी केन्द्र, २ मा नेपाली कांग्रेस, ३ मा राप्रपा, ४ मा कांग्रेस, ५ मा एमाले, ६ र ७ मा राप्रपा, ८ र ९ मा कांग्रेस विजयी भएका छन्। एमालेको मात्रै १७ हजार ३ सय २८ मत छ। कांग्रेसको १४ हजार १ सय २८, नेकपा एकीकृत समाजवादीको ७ हजार ९ सय ११, राप्रपाको ६ हजार ८ सय १९, माओवादी केन्द्रको ३ हजार ३६, विवेकशील साझा पार्टीको १ सय ५४, लोसपाको ८ र स्वतन्त्रको १६ मत छ। स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई हेर्दा यो निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसको तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। नेकपा एकीकृत समाजवादीका कृष्णहरि थापाले पार्टी छाडेपछि यो क्षेत्रमा एमाले थप बलियो भएको छ। थापा कागेश्वरी मनोहरा नगरपालिकाका पूर्व मेयर हुन्। त्यसक्षेत्रका लोकप्रिय नेता भएकाले उनको आफ्नै वर्चस्व रहेकोे र अहिलेको निर्वाचनमा थापाले एमालेलाई सहयोग गरिरहेकाले नेकपा एसको मत विभाजनमा परेको छ। गठबन्धनमा कांग्रेसको मत पनि सबै गठबन्धनमा जाने अवस्था छैन। स्थानीय नेतालाई टिकट दिनुपर्ने कांग्रेसको मागलाई बेवास्ता गरेकाले कांग्रेस कार्यकर्ता गठबन्धनमा खुलेर मत माग्न सकिरहेका छैनन्। जसकारण घर्तीलाई काठमाडौं २ मा जित निकाल्न सहज देखिएको छैन।

प्रकाशित: २२ कार्तिक २०७९ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App