२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र: जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। काठमाडौंमा वाचापत्र सार्वजनिक कार्यक्रम चलिरहेको छ।

वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा धन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले जनउत्तरदायी प्रत्यक्ष जनसहभागितामूलक समावेशी लोकतन्त्रको माध्यमबाट व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको सम्मानसहितको संवैधानिक समाजवादमा जोड दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ।

वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने बिहीबार पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ। यस्तै वाचा पत्रमा राष्ट्रिय सभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरिने बताइएको छ। प्रदेश परिषद, राष्ट्रियसभा र संवैधानिक परिषद्लाई पनि शासकीय स्वरूपमा समावेश गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए। आज चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उनल सो कुरा बताएका हुन्।उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको बताए। जसले देशका बेथिति अन्त्य गर्न सक्छ उसैमा आफ्नो पार्टीलाई बिलीन गरिदिने उनले भनाइ थियो।

आफू देशदौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताए। यी कुरा जनताका अधिकार भएको भन्दै अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको उनले बताएका छन्। लामिछानेले पार्टीले सार्वजनिक गरेको वाचा पत्र निर्जीव अक्षरहरूको दस्ताबेज मात्रै नभएको बताए। उनले त्यसलाई सजीव बनाउनका निमित्त पार्टीले काम गर्ने प्रतिबद्धता जनाए।

उनले वाचापत्रसहित भोट माग्न जाँदा मतदाताले चाहेमा कागज र ल्याप्चे गराउन सक्ने बताए। ‘वाचापत्रसहित हाम्रा उम्मेदवारहरूले भोट माग्न जाँदा मतदाताले चाहनु हुन्छ भने हस्ताक्षर लिन सक्नुहुन्छ। ल्याप्चे र कागज गराएर राख्न सक्नुहुन्छ’, उनले भने, ‘जनतासँग बोलेको कुरा पुरा हुनुपर्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हरेक चुनावमा व्यक्तिले मात्रै जितेको बताए। तर, आम नेपाली जनताले भने कहिल्यै जित्न नसकेको लामिछानेको भनाइ छ। ‘प्रमुख दलमा शीर्ष नेताको चाकडी गर्ने प्रवृत्ति छ। त्यसो भएपछि जनताको सेवा गर्न जरुरी हुँदैन’, उनले भने, ‘हरेक चुनावमा एउटा उम्मेदवारले वा व्यक्तिले जितेको छ। तर नेपाली जनताले कहिल्यै जितेका छैनन्।’

प्रकाशित: १७ कार्तिक २०७९ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App