५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेको गठबन्धन अप्राकृतिक र अपवित्र: माधव नेपाल

फाइल तस्बिर।

नेकपा (एमाले)ले गरेको गठबन्धन अपवित्र भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन्।

अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दावी गरे। सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्षी गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गरे।  उनले भने, ‘अर्को हाम्रो जुन विपक्षको गठबन्धन छ। त्यो अननेचुरल पनि हो। र, अपवित्र पनि हो।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो। उनले जहानिँया राणा शासनको अन्त्य गर्ने, पञ्चायती निरंकुशता अन्त्य गर्न सफल काँग्रेस र कम्युनिष्टहरुबीचको गठबन्धन अव पनि सफलताको विन्दुमा पुगी छाडने बताए।

‘पहिलो हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो। संविधान रक्षाको लागि, संविधान कुल्चने काम भएको थियो’, उनले भने, ‘दुई दुई पटक संविधान कुल्चने काम भएको थियो। मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको थियो। जब्बर्जस्ती समयभन्दा पहिले नै अधिकार मागेर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने काम गरेको थिए। तत्कालीन प्रधानमन्त्रीले।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई विजयी गराउनका लागि एकतावद्ध भएर अगाडि बढन पनि गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिए। गठबन्धनको तर्फबाट आगामी निर्वाचनका लागि साझा प्रतिवद्धता पत्र कात्तिक २ गते (भोली) सार्वजनिक हुने भन्दै उनले जनताको घरदैलोमा पुगेर त्यसको प्रचार अभियानलाई तीव्रता दिनुपर्ने बताए।

‘गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनका लागि तपाईहरु एकतावद्ध भएर, योजनावद्ध भएर अवश्य पनि सफलताको विन्दुमा पु¥याउनु हुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु, उनले भने ‘हाम्रो सहकार्य जति सशक्त हुँदै जानेछ, जति धेरै हामी समन्वय गर्दै जानेछौं। जति धेरै हामी जनताको माझमा पुग्नेछौ.। हाम्रो विजय त्यति सुनिश्चित हुनेछ।’

प्रकाशित: १ कार्तिक २०७९ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App