१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादीमा असन्तुष्टि

नेकपा माओवादी केन्द्रभित्र संघीय तथा प्रदेश निर्वाचनमा टिकट विवरण, पार्टीभित्र जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालन प्रक्रियालाई लिएर चरम असन्तुष्टि बढ्दै गएको छ।  

पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार सिफारिस गर्दा प्रभावकारी र लामो समय योगदान गरेका नेता छुटाइएको, पार्टीभित्र जिम्मेवारी बाँडफाँट गर्दा उपयुक्त जिम्मेवारी नदिइएको तथा पार्टी सञ्चालन प्रक्रियासमेत सही ढंगले नभएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गर्नेदेखि अध्यक्ष दाहाललाई असहमतिपत्र बुझाउनेसम्मका गतिविधि भइरहेका छन्।  

पार्टीमा विधि, प्रक्रिया तथा आगामी निर्वाचनमा उम्मेदवारी चयनलगायत विषयमा पार्टीका उपमहासचिव हरिबोल गजुरेलले अध्यक्ष दाहालसमक्ष लिखित असहमति प्रस्तुत गरेका छन्। गजुरेलले दाहाललाई बुझाएको असहमतिपत्रमा आगामी निर्वाचनमा पार्टीका तर्फबाट सिफारिस गरिएका उम्मेदवारका बारेमा असन्तुष्टि व्यक्त गर्नेदेखि पार्टीको विधान, विशेष महाधिवेशन, महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनको कार्यान्वयन, सांगठनिक संरचनालगायत विषयमा प्रश्न उठाएका छन्।  

गजुरेलले आफ्नो प्रस्ताव पार्टीको आन्तरिक बैठकमा छलफल र सम्बोधन होस् भन्ने चाहेको माओवादीका एक नेताले बताए। गजुरेलले प्रतिनिधिसभा सदस्यमा सिन्धुली–२ बाट उम्मेदवारी दिन चाहे पनि पार्टीले उनको ठाउँमा सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाललाई उम्मेदवार सिफारिस गरेको छ। यसबाट उनी असन्तुष्ट बनेका छन्। उनले पार्टी सञ्चालनको प्रक्रिया र पद्धतिका विषयमा समेत प्रश्न उठाउँदै आएका छन्।  

आगामी निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवार सिफारिसको विषयलाई लिएर पार्टीमा लामो समय योगदान गरेका र विद्यार्थी राजनीतिबाट स्थापित केही नेताले पनि आन्तरिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन्। माओवादी केन्द्रभित्र लामो समय पार्टी पदाधिकारी चयन हुन नसकेकोमा केही समयअघि मात्र अध्यक्ष दाहालले पदाधिकारी टुंगो लगाएका थिए।

पदाधिकारी चयनमा पार्टीको महत्वपूर्ण जिम्मेवारी मानिने महासचिवमा जनार्दन शर्मा, वर्षमान पुनलगायत प्रभावकारी नेताहरूले दाबी गरे पनि दाहालले पार्टीमा वैचारिक र सांगठनिक हिसाबले तुलनात्मक रूपमा कम प्रभाव रहेका देव गुरुङलाई महासचिव बनाएपछि दाबेदार अन्य नेताहरू असन्तुष्ट बनेका छन्। अध्यक्ष दाहालको निर्णयप्रति महासचिवका प्रबल दाबेदार ठानिएका जनार्दन शर्माले पार्टीनिकट विद्यार्थी संगठनले केही समयअघि आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालकै अघि असन्तुष्ट व्यक्त गरेका थिए।

दाहालले उनलाई उपमहासचिवको जिम्मेवारी दिए पनि उनले घुमाउरो रूपमा उक्त जिम्मेवारी अस्वीकार गरेका थिए। उक्त कार्यक्रममा दुई नेताबीच महसुस हुने गरी घोचपेचसमेत भएको थियो। 

प्रकाशित: २९ आश्विन २०७९ ०१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App