प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं १ मा एकजना मात्रै महिलाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा १३ जना पुरुष उम्मेदवारहरुको उम्मेदवारी परेको छ। चार जना स्वतन्त्रसहित कुल १४ जना उम्मेदवारहरुको उम्मेदवारी परेको हो।
जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरले जनाए अनुसार भक्तपुर क्षेत्र नं १ प्रतिनिधि सभाका लागि भक्तपुर नगरपालिका वडा नं ९ निवासी ३६ वर्षीया सुलोचना छ्वाजू एकजनाको मात्रै महिला मात्रै महिलाको उम्मेदवारी परेको हो। उनको स्वतन्त्रबाट उम्मेदवारी परेको हो। स्वतन्त्रबाट महिला उम्मेदवार छ्वाजूसहित अर्जुन कोजू, गोकर्णप्रसाद गेलाल र पुन्यराम गेलालको उम्मेदवारी परेको छ।
यस क्षेत्रमा नेपालका लागि नेपाली पार्टीबाट अर्जुनप्रसाद नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट डम्वरबहादुर थिंग, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनबादी)बाट दीपक लामिछाने, नेकपा एमालेबाट नवराज गेलालको उम्मेदवारी परेको छ। साथै नेपाल मजदुर किसान पार्टीबाट पार्टी केन्द्रिय सचिव प्रेम सुवालको उम्मेदवारी परेको छ। यस क्षेत्रमा परेका उम्मेदवारहरुमध्ये सुवाल नै सबैभन्दा जेष्ठ उम्मेदवार हुन्। उनी ६२ वर्षका छन्। साथसाथै यो क्षेत्रमा राष्टिय प्रजातन्त्र पार्टीबाट भरतबहादुर खडका, मौलिक जरोकिलो पार्टीबाट बलराम प्रजापति, नेपाली काँग्रेससहितको सता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुनिल गोठे र जनता समाजवादी पार्टी नेपालबाट हिरालाल खड्काको उम्मेदवारी परेको छ। यो क्षेत्रबाट राप्रपा नेपालबाट माधव नेपालले भने उम्मेदवारी फिर्ता लिएका छन्।
यो क्षेत्र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ हो। यो क्षेत्रमा सुरुदेखि नै नेमकिपाले निरन्तर जित्दै आएको छ। यो क्षेत्रमा २०४८, २०५१, २०५६, २०६४ र २०७० गरी पाँंच पटक नेमकिपाका केन्द्रिय अध्यक्ष नारायणमान विजुक्छेंले जित्दै आएका थिए। त्यसपछि २०७४ सालमा पार्टी अध्यक्ष विजुक्छेंले पुस्ता हस्तान्तरण भनी यो क्षेत्रमा उउम्मेदवारी नदिई पार्टी केन्द्रिय सचिव प्रेम सुवाललाई उम्मेदवारी दिन लगाएका थिए। त्यसपछिबाट यो क्षेत्रमा सुवाल निरन्तर उम्मेदवार भई विजयी हासिल गर्दै आएका छन्। पछिल्लो २०७४ सालको निर्वाचनमा सुवाल विपक्षीलाई फराकिलो मत अन्तरका साथ विजयी भएका थिए। सुवालले ३३ हजार ७६ वटा मत पाएका थिए। उनका निकटम प्रतिद्धन्दी नेपाली काँग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ मत पाएका थिए। माओवादी केन्द्रका मिलन सुवालले १५ हजार तीन सय ७४ मत पाई तेश्रो स्थान सुरक्षित गरेका थिए। सुवाल अहिले माओवादी त्यागेर एमाले प्रवेश गरिसकेका छन्।
यस हिसाबले यो क्षेत्रमा यो पटक पनि नेमकिपाका सुवाल, सत्ता गठबन्धनका गोथे र एमालेका गेलालबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।
उक्त समयमा यो क्षेत्रमा कुल ७१ हजार नौ सय १६ मत खसेको थियो। यो हिसाबले यो पटक पनि यस क्षेत्रको मुख्य प्रतिस्पर्धा नेमकिपा, नेपाली काँग्रेससहितको सत्ता गठबन्धन, नेकपा एमालेबीच हुने देखिन्छ। यस क्षेत्रमा भक्तपुर नगरपालिका र चाँंगुनारायण गरी दुई वटा नगरपालिका पर्दछन्। यो पटक भक्तपुर क्षेत्र नं १ मा कुल एक लाख दुई हजार पाँंच सय २८ जना मतदाता रहेका छन्। यो क्षेत्रमा एक सय १५ मतदान केन्द्र छन्।
प्रकाशित: २७ आश्विन २०७९ १०:२५ बिहीबार