६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

ताप्लेजुङबाट काँग्रेस जिल्ला सभापति तुम्याहाङ र गुरुङको उम्मेदवारी फिर्ता

प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवारी दर्ता गराएका दुईजनाको उम्मेदवार फिर्ता भएको छ। 

नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गरेका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ र काँग्रेस महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङको उम्मेदवारी फिर्ता भएको हो। दुवै जनाले प्रदेशसभाको निर्वाचन क्षेत्र नं १(क) बाट उम्मेदवारी दर्ता गरेका थिए। 

पार्टीको आधिकारिक पत्रमार्फत उम्मेदवारी दर्ता गरेका तुम्याहाङको उम्मेदवारी फिर्ताको पत्र काँग्रेस पार्टी केन्द्रमार्फत निर्वाचन आयोग हुँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो। आयोगमार्फत तुम्याहाङको उम्मेदवारी फिर्ताको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले जानकारी दिए। 

स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका गुरुङले भने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ताको लिखित सूचना दिएका थिए। सोहि अनुसार गुरुङको उम्मेदवारी फिर्ता भएको सहायक निर्वाचन अधिकृत रेग्मीले बताए। यसअघि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेकी काँग्रेस प्रदेश नं १ सदस्य मीनाकुमारी गुरुङको उम्मेदवारी भने कायम रहेको छ। 

सत्तारुढ गठबन्धनले भागबण्डामा गर्दा यहाँको प्रदेश १(क) नेकपा एसको भागमा परेको छ। भागबण्डामा नेकपा एसको भागमा परेको प्रदेश १(क) मा काँग्रेसको आधिकारिक तर्फ मार्फत तुम्याहाङर स्वतन्त्र उम्मेदवारको रुपमा गुरुङद्धयले उम्मेदवारी दिएका थिए। तिमध्ये टीकारामले स्वतन्त्र उम्मेदवारी फिर्ता लिए भने मीनाकुमारीको कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

आधिकारिक भागबण्डामा परेको नेकपा एसले जिल्ला इञ्चार्ज खेमबहादुर वनेमको उम्मेदवारी दर्ता गरेको थियो। अब एक निर्वाचन क्षेत्र रहेको यहाँबाट प्रतिनिधिसभामा ११ जना,प्रदेश (१)क मा ८ जना र १(ख)मा ७ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा रहनेछन्।  

प्रकाशित: २६ आश्विन २०७९ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App