१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

केही साथीहरू आफैं उम्मेदवार बन्न नचाहनु भएको हो: एमाले उपाध्यक्ष नेम्बाङ

इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी मनोनयन दर्तापछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ (बीच)मा।

नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले पार्टीलाई उम्मेदवार छान्न कुनै सकस नभएको बताएका छन्। उनले पार्टीका कतिपय शीर्ष नेताले टिकट नपाउनुलाई ‘स्थानीयस्तरका पार्टी नेता–कार्यकर्ताको सुझावअनुसार’ निर्णय गरिएको प्रतिक्रिया दिए।  

इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै नेम्बाङले पार्टीका कतिपय नेता आफैंले इच्छा नगरेका कारण टिकट दिनु नपरेको पनि जनाए। ‘जस्तै, अष्टलक्ष्मी शाक्यले सचिवालयको बैठक बस्दा मेरैअगाडि अब म चुनावमा उठ्दिनँ, पार्टीको सेवा गर्छु भन्नुुभो तर उहाँलाई उठ्नुपर्छ भनिरहेका छौं,’ नेम्बाङले भने, ‘उदाहरणका लागि योगेश भट्टराई, गोकर्ण विष्ट, लेखराज भट्टले टिकट पाउनुभयो, कतिपय साथीहरूको हकमा उहाँहरू आफैंले इच्छा नगर्नुभएको हो। केही साथीहरूको हकमा चाहिँ स्थानीयस्तरबाटै उहाँहरूको उम्मेदवारी जरुरी होइन कि ! भन्ने सुझाव आएकाले उहाँको नाम उम्मेदवारको सूचीमा नआएको हो।’

नेम्बाङले उम्मेदवार छनोटको काम सहमति वा विमतिको नभएको बताए। ‘एमालेलाई उम्मेदवार छान्न सकस भयो भन्ने त भन्ने अहिलेसम्म सुनेकै पनि थिइनँ,’ उनले भने, ‘बरु, सत्ता गठबन्धनका साथीहरूलाई भएको सकस देख्दा पो एमालेलाई अप्ठ्यारो लागिरहेको छ।’ उनले एमालेले लामो समयदेखि चुनाव चाहेको भन्दै जनमतकै आधारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले अहिलको अन्योलबाट निकास पाउने पनि बताए।  

२०५६ सालयताका निर्वाचनमा इलामबाट लगातार जित हासिल गरिरहेका नेम्बाङले आफ्नो नेतृत्वमा नयाँ संविधान जारी गर्ने अवसर आफ्नोमात्र नभइ इलामे सबै नागरिकको भएको बताए। उनले देशले दशकसम्म सशस्त्र द्वन्द्व खेप्नुपरेको र त्यसपछिको १० वर्ष नयाँ संविधान निर्माणका लागि आफूले नै नेतृत्व, पहल र प्रयास गर्नुपरेपनि आफूले जितेको चुनाव जितेको क्षेत्रमा भौतिक पूूर्वाधार विकासको पनि जग बसालेको दाबी गरे।

‘हामीले यही अवधिमा सशस्त्र द्वन्द्व सम्बोधन गरेका छौं, मेरै प्रयासमा भेडेटार–रवि–राँके सडकमा ६ अर्ब रुपैयाँ विनियोजन भएर निर्माण चरणमा छ, दमक–चिसापानी सडकमा अढाई अर्ब रुपैयाँ विनियोजित छ, इलाम–बेलासे–झापा सडकलाई मैले नै ५६ करोड रुपैयाँ विनियोजित गराएको हुँ,’ उनले भने, ‘यसरी बजेट छुट्टिएका दर्जनौं सडकलाई पूर्णता दिन बाँकी छ। यी कामलाई पूर्णता दिन र २ नम्बर क्षेत्रको चौतर्फी विकासलाई तीव्रता दिन यहाँका मतदाताले मलाई पुनः अवसर दिनुहुनेछ भन्ने पूूर्ण विश्वास पनि छ।’

नेम्बाङको उम्मेदवारी ७ नम्बरमा दर्ता छ। नेम्बाङसँग सत्ता गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ। खड्का २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेका रामबहादुर रानासँग पराजित भएका थिए।  

प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा (क)मा एमालेबाट जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख गणेशप्रसाद बराल र प्रदेशसभा (ख)मा १ नम्बर प्रदेशका पूर्वमन्त्री रामबहादुर रानाले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २३ आश्विन २०७९ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App