९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। यही असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम सभापतिले नेतृत्व पङ्क्तिको परामर्श, सुझाव र सहमतिमा केही नाम हेरफेर गरेर असोज १५ गते बुझाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले सर्वसम्मतिले पारित गरेको प्रस्तावमा उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधानबमोजिम उम्मेदवारका लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाइने निर्णय गरेको छ। 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको उम्मेदवार नबनाउने निर्णय पनि कांग्रेसले गरेको छ। यसअघि कारबाहीमा परेकालाई आगामी निर्वाचनमा खेल्ने भूमिकाका आधारमा थप निर्णय गर्ने पनि कांग्रेस कार्यसम्पादन समितिको निर्णय छ।

स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लङ्घन गरेका र कारवाहीको प्रक्रियामा रहेका, कुनै पनि कारणवश निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मङ्सिर ४ गतेको निर्वाचनमा पार्टीमा पूर्ववत् सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन पनि बैठकले अपील गरेको छ। निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन पार्टीपङ्क्ति सम्पूर्णरूपले एकताबद्ध र अनुशासनका साथ दृढ ढङ्गले परिचालित हुने निर्णय पनि बैठकले गरेको मुख्यसचिव पौडेलले बताए। केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २०७९ असोज २० गते बिहान ९ बजे बस्ने पनि जनाइएको छ।

प्रकाशित: १७ आश्विन २०७९ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App